नेभिगेशन
अर्थतन्त्र

डिजेल गाडीलाई ईभीमा रूपान्तरण गर्न आर्थिक र प्राविधिक रूपमै सम्भव

काठमाडौं । नेपालमा इन्धन खपत, मूल्यवृद्धि र पुराना सवारीसाधन व्यवस्थापनको चुनौती बढिरहेका बेला २० वर्ष पुराना सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्न सकिने अध्ययनले देखाएको छ । काठमाडौं विश्वविद्यालय (केयू) ले गरेको अध्ययनअनुसार १५ देखि २० वर्ष पुराना पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गरेर थप १० वर्षसम्म सञ्चालन गर्न सकिने देखिएको हो ।
केयूका अनुुसार लामो समय चलिसकेका पुराना डिजेल गाडीलाई नै विद्युतीय सवारीमा रूपान्तरण (ईभी कन्भर्जन) गर्न आर्थिक तथा प्राविधिक रूपमा नै सम्भव देखिएको छ । पुराना इन्धन गाडीको विद्युतीयमा रुपान्तरण गर्न प्राविधिक, आर्थिक एवं वातावरणीय हिसाबले नै सम्भावना देखिएको केयूका सह–प्राध्यापक विराजसिंह थापाले जानकारी दिए ।
अहिले नेपालका सडकमा गुड्ने धेरै सवारी साधन विद्युतीय भए पनि महँगो लागतका कारण नयाँ खरिद गर्न सबैको पहुँचमा नहुने भएकाले पुरानै इन्धन गाडीलाई रुपान्तरण गर्ने सकिने विकल्पमा जान सकिने पनि उनले बताए । ‘नेपालमा अहिले आयातित ईभीहरूको संख्या बढिरहे पनि ती विद्युतीय गाडी महँगो लागतका कारण सर्वसाधारणले खरिद गर्न सक्ने अवस्था हुँदैन,’ उनले भने, ‘३० लाख रुपैयाँसम्म पर्ने नयाँ विद्युतीय गाडी खरिद गर्नु धेरैका लागि सहज छैन । तर, भएकै पुराना गाडीलाई नै ५ लाख रुपैयाँसम्म खर्च गरेर विद्युतीयमा रुपान्तरण गर्ने विकल्पमा जान सकिने सम्भावना देखिएको छ ।’ उनका अनुसार पुराना ट्याक्सीलाई ५ लाख रुपैयाँ खर्च गरेर १०० किलोमिटरसम्म चल्न सक्ने बनाउन सकियो भने यो पनि नेपालका लागि एउटा बजार हुन सक्नेछ । सरकारी कार्यालयहरूमा बिग्रेर वर्षौंदेखि थन्किएका पुराना गाडीहरूलाई पनि विद्युतीयमा रुपान्तरण सकिन्छ भन्ने उद्देश्यले नै आर्थिक एवम् प्राविधिकरूपमा सफल परीक्षण गरिएको उनले बताए ।
१५ देखि २० वर्ष पुराना सवारीसाधन अझै पनि प्रयोगयोग्य अवस्थामा रहेको तर तिनलाई पूर्णरूपमा प्रतिस्थापन गर्न नसक्दा एकातिर इन्धन खपत बढिरहेको छ भने अर्कोतर्फ वातावरणीय प्रदूषण पनि तीव्र भइरहेकाले विद्युतीयमा रुपान्तरणको विकल्प उपयुक्त हुनसक्ने केयूका अनुसन्धानकर्ता प्रेमप्रसाद गौतमले बताए ।
गौतमले केयूको अध्ययन अनुसन्धान टोलीले दशकौं पुराना गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने प्रविधिमा सफल परीक्षण गरिसकेको पनि बताए । विशेषगरी विमानस्थल वरिपरि सञ्चालन हुने पुराना ट्याक्सीलाई लक्षित गर्दै गरिएको यो अध्ययनले कम लागतमा दिगो समाधान दिन सक्ने देखाएको छ ।
‘हामीले केयूमै पुरानो इन्धन गाडीलाई विद्युतीयमा रुपान्तरण गरेर धेरै पहिले नै सफल परीक्षण गरिसकेका छौं ।  यो गाडीको आईसीई इन्जिन थियो । तर, अहिले यसलाई विद्युतीय गाडीमा रूपान्तरण गरिएको छ । यो गाडी निर्माण भएको करिब दुई–तीन वर्ष भइसकेको छ,’ उनले भने, ‘बीचमा यो गाडी लामो समयसम्म प्रयोगविहीन अवस्थामा राखिएको थियो तर अहिले इन्धनको मूल्य अकासिँदा विद्युतीय गाडीको चर्चा हुन थालेपछि हामीले फेरि यसलाई पुनः सञ्चालनमा ल्याउने (रिभाइभ गर्ने) काम गरेका छौं ।’
पुरानो इन्धन गाडीलाई विद्युतीय गाडीमा मोटर र ब्याट्री नै प्रमुख कम्पोनेन्ट हुने र केयूले परीक्षण गरेको गाडीमा प्रयोग गरिएको मोटर ‘डिसी सिरिज मोटर’ भएको उनले बताए । यसको ब्याट्री भोल्टेज ७२ भोल्ट छ । यसलाई नियन्त्रण गर्ने मोटर कन्ट्रोलर पनि जडान गरिएको गौतमले बताए । 
‘अहिले हामीले मोटरलाई सिधै पुरानो गाडीको गियरबक्समा जडान गरेका छौँ । यो गाडी अटोमेटिक होइन, त्यसैले हामीले तेस्रो गियरमा स्थिर (फिक्स) गरेर चलाउने व्यवस्था गरेका छौँ, जसले गर्दा टर्क राम्रोसँग मिल्छ,’ उनले भने ।
परीक्षण गरिएको ब्याट्री गाडीको पछाडिको भागमा राखिएको र यसको क्षमता १२ किलोवाट–आवर भएको पनि उनले बताए । विद्युतीयमा रुपान्तरण गरिएको पुरानो गाडीले एकपटकको चार्जमा करिब ५५ किलोमिटरको दूरी प्रदान गर्दै आएको छ । विद्युतीयमा रुपान्तरण गरिएको उक्त गाडीलाई सिधै घरको विद्युत् लाइनबाट चार्ज गर्न सकिन्छ भने पूर्णरूपमा चार्ज हुन करिब ८ घण्टा लाग्ने पनि उनले बताए ।
गौतमले विद्युतीयमा रुपान्तरण गरिएका गाडीमा ६ किलोवाट क्षमताको मोटर उकालोमा केही सीमित भए पनि भविष्यमा उच्च क्षमताका मोटर प्रयोग गरेर अझ प्रभावकारी बनाउने योजना रहेको बताए । यो प्रविधिको अर्को महत्वपूर्ण पक्ष भनेको सरकारी तथा निजी क्षेत्रमा प्रयोगविहीन अवस्थामा थन्किएका सवारीसाधनलाई पुनः उपयोगमा ल्याउन सकिने सम्भावना भएको सह–प्राध्यापक थापाले बताए । यस्ता सवारीलाई पूर्णरूपमा हटाउन नसकिएको अवस्थामा इभी कन्भर्जनले नयाँ जीवन दिन सक्ने उनको भनाइ छ ।
अर्थतन्त्रका हिसाबले पनि यो पहल महत्वपूर्ण देखिन्छ । सबै पुराना गाडीलाई नयाँ विद्युतीय गाडीले प्रतिस्थापन गर्ने हो भने ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिनेछ । तर, स्थानीय स्तरमै रूपान्तरण प्रविधि विकास गरी कार्यान्वयन गर्न सकिएमा खर्च घट्नेमात्र होइन, प्राविधिक सीप विकास र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने देखिन्छ । 
वातावरणीय दृष्टिले पनि यसको प्रभाव उल्लेखनीय हुन विज्ञहरू बताउँछन् । डिजेल र पेट्रोलबाट चल्ने सवारीका कारण हुने प्रदूषण घटाउँदै स्वच्छ ऊर्जातर्फको संक्रमणलाई यसले तीव्र बनाउन सक्छ । इरान–अमेरिका युद्धपछि विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिँदा पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण प्रविधि नेपालका लागि केवल विकल्प मात्र नभई आवश्यकता बन्दै गएको छ । हाइड्रोजन र ईभी प्रविधिलाई सन्तुलित रूपमा अघि बढाउँदै स्थानीय सन्दर्भअनुसार समाधान विकास गर्ने हो भने दिगो यातायात प्रणालीतर्फ देशले महत्त्वपूर्ण फड्को मार्न सक्ने देखिन्छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्