नेभिगेशन
अर्थतन्त्र

नयाँ नेतृत्व चयनका लागि जेठ २९ मा इप्पानको आठौं अधिवेशन

काठमाडौं । जलविद्युत उद्यमीहरूको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि जेठ २९ गते २४औँ साधारण सभा तथा ८औँ अधिवेशन हुँदैछ । महासचिव बलराम खतिवडाको संयोजकत्वमा सचिव हिम पाठक र सदस्य कुबेरमणि नेपाल सहितको तीन सदस्यीय निर्वाचन समिति गठन गरी अधिवेशनको तयारी थालिएको हो । 
यसपटकको २४औं साधारणसभामा अब इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्था खारेजको प्रस्ताव लगिने भएको छ । अघिल्लो अधिवेशनमा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष रहने प्रावधान राखिएको भएपनि वर्तमान कार्यसमितिले इप्पानलाई महासंघ बनाउन नसकेपछि आगामी साधारणसभाबाट विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था खारेज गर्न लागिएको हो । यस सम्बन्धमा इप्पान कार्यसमितिमा सहमति भएको बनिसकेको छ ।
अघिल्लो पटक संशोधित विधानअनुसार यस पटक अहिलेका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी अब स्वतः इप्पान कार्यसमितिको अध्यक्ष हुनेछन् । साथै, जेठ २९ गतेका लागि तय भएको अधिवेशनमा समेत वरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
यसपटक वरिष्ठ उपाध्यक्ष बनेको व्यक्ति नै अघिल्लो पटक स्वतः अध्यक्ष हुन पाउने कि नपाउने भन्ने सम्बन्धमा विधान संशोधनका लागि लगिने प्रस्तावमा हुने निर्णय तथा जिल्ला प्रशासन कार्यलयको निर्णयका आधारमा मात्रै तय हुन इप्पान महासिचव एवं अधिवेशन समितिका संयोगक खतिवडाले बताए ।  
‘इप्पानको विधान संशोधनको विषय आगामी साधारणसभामा छलफल हुनेछ,’ उनले भने, ‘संशोधिन विधान प्रमाणिकरणका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ । अर्को अधिवेशनमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने सम्बन्धमा त्यहाँबाट आउने विधानमा उल्लेख भएबमोजिम हुनेछ ।’
अधिवेशनको मिति तय भएसँगै इप्पानमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । वरिष्ठ उपाध्यक्षदेखि कार्यसमिति सदस्य पदका आकांक्षीहरू धेरै देखिएका छन् । यसपटक सबै पदका आकांक्षीहरू धेरै देखिएकाले सम्भव भएसम्म सहमति गरेर नयाँ कार्यसमिति चयनको प्रयास गरिने खतिवडाले बताए । सम्भव भएसम्म सर्वसहमति कायम गर्ने र सहमति हुन नसकेका पदमा चुनावी प्रतिस्पर्धा हुने उनले बताए । 
‘कार्यसमितिमा आउन खोज्नेहरू सबै जना क्षमतावान हुनुहुन्छ, सबैलाई मिलाएर लैजानुपर्छ भन्ने हाम्रो प्रयास हो । त्यो सम्भव हुन नसकेमा चुनावी प्रतिस्पर्धा नै अर्को विकल्प हो,’ उनले भने ।  यसपटक आकांक्षीहरू धेरै भएको हुँदा प्रतिस्पर्धा कडा हुने देखिन्छ ।
महासंघ बन्न नसकेपछि फेरि विधान संशोधन
इप्पानको २१औं साधारणसभा अगाडिसम्म सबै कार्यसमिति सदस्य प्रतिस्पर्धाबाटै छनोट गर्ने व्यवस्था विधानमा थियो । २०८० जेठ ३२ गते सम्पन्न २१औं साधारणसभाले इप्पानको विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष रहने तथा इप्पानलाई पनि महासंघमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । 
इप्पानलाई ६ महिनाभित्र महासंघमा परिणत गरी त्यसको एक वर्षभित्र नयाँ अधिवेशन गर्ने सर्वसम्मत निर्णय पनि उक्त साधारणसभाले गरेको थियो । साथै आवश्यकताअनुसार विधान बनाउन महासंघको नयाँ नाम चयन, महासंघमा आबद्ध संघसंस्थाको पहिचान वार्ता र तिनीहरूको अधिवेशन तथा प्रदेश समिति गठनलगायतका आवश्यक सम्पूर्ण कार्य गर्नका लागि आवश्यक उपसमिति गठन गरी कार्य अघि बढाउने भनिएको थियो । 
इप्पानलाई महासंघमा रुपान्तरण गर्न अध्यक्ष गणेश कार्कीलाई जिम्मेवारी दिइएको थियो । तर, कार्कीको कार्यकाल सकिन लाग्दा समेत संशोधित विधानमा राखिएको प्रावधानअनुसार इप्पान महासंघमा रुपान्तरण हुन सकेन । विधानअनुसार इप्पानको वर्तमान कार्यसमितिले काम गर्न नसकेपछि जेठ २९ गतेका लागि तय भएको २३औं साधारणसभामा फेरि विधान संशोधनको प्रस्ताव लैजान लागिएको छ ।

वरिष्ठ उपाध्यक्ष प्रतिस्पर्धा गर्न ४ नाम चर्चामा 
इप्पानको आगामी अधिवेशनबाट अहिलेका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बन्ने भएपछि वरिष्ठ उपाध्यक्ष बन्न आकांक्षीहरू धेरै देखिएका छन् । अहिलेसम्म वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय उत्तम भ्लोन लामा र भरत खत्री तथा उपमहासचिव प्रकाश दुलाल र सचिव हिमप्रसाद पाठक वरिष्ठ उपाध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिने चर्चा छ । वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिन लागेका उनीहरू लामो समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय छन् । 
यस्तै, उपाध्यक्ष पदका लागि सुशन कर्मचार्यको चर्चा छ । कर्माचार्य इप्पानको वर्तमान कार्यसमिति सदस्य हुन् । यस्तै, जलविद्युत् उद्यमी टिएन आचार्य र मिथुन पौडेल महासचिव पदमा भिड्ने चर्चा छ । आचार्य र पौडेल दुवैजना इप्पानको वर्तमान कार्यसमिति सदस्य हुन् । अधिवेशन आउने समय बाँकी नै रहेकाले बाँकी पदका लागि उम्मेदवारी दिनेहरू निश्चित हुँदै जाने खतिवडाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्