नेभिगेशन
अर्थतन्त्र

काठमाडौंबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’

काठमाडौं । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनीः पेडल फर पिस २०२६’ आयोजना हुने भएको छ । टुर दि लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार साइकल यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीको सक्रिय सहभागिता रहने जनाइएको छ । शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देशलाई जनस्तरसम्म पु¥याउने लक्ष्यसहित आयोजना हुँदै आएको यो अभियान सन् २०१२ देखि निरन्तर सञ्चालनमा छ ।
सामाजिक उद्यमी तथा अशोका फेलो मेघ आलेको अवधारणामा सुरु भएको यस अभियानलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित अभियानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ‘शान्ति केन्द्र’का रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ ।
नेपाल भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले विश्व शान्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको संस्थापक आलेले जानकारी दिए । यस अभियानमार्फत नेपाललाई शान्ति संवादको केन्द्रका रूपमा प्रवद्र्धन गर्ने प्रयास गरिएको जनाइएको छ ।
यस वर्षको संस्करण विशेषगरी युवाहरूको सक्रिय सहभागितामा केन्द्रित रहनेछ । डिजिटल युगमा युवाको संलग्नतालाई शारीरिक सहनशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो, पारदर्शी र शान्तिपूर्ण भविष्यका लागि आवाज उठाउने मञ्चका रूपमा यस अभियानलाई विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ । यात्राका   विभिन्न चरणहरूमा स्थानीय समुदायको पनि सहभागिता रहने जनाइएको छ ।
पत्रकार सम्मलेनमा संस्थापक आलेले भने, ‘विश्वव्यापी रूपमा रूस–युक्रेन युद्ध तथा अमेरिका–इरान तनावजस्ता घटनाले बढाएको अस्थिरताको सन्दर्भमा यस किसिमका शान्ति अभियानहरूको महत्व अझ बढेको छ ।’ अभियानले भविष्यमा शान्ति क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि अघि सारिएको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले यस किसिमका कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले यस कार्यक्रममा अन्तर्राष्ट्रिय सहभागीहरुको संख्या बढाउन सकिएको अवस्थामा यो अभियानले थप बलियो हुने र पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने उनले बताएका छन् ।
त्यसैगरी बोर्डका मिडिया कन्सल्टेन्ट दिलिप प्रकाश कार्कीले विश्वव्यापी द्वन्द्व र युद्धरत पक्षहरुलाई नेपालको लुम्बिनीमा बोलाएर शान्ति संवाद गराउन सकिएको अवस्थामा यसको महत्व थप बढ्ने विचार व्यक्त गरेका छन् । ‘टुर डे लुम्बिनी–पेडल फर पीस’ अभियानले साइकल यात्रामार्फत शान्ति, सहअस्तित्व र विश्वव्यापी ऐक्यबद्धताको सन्देश प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्