नेभिगेशन
प्रदेश
गर्भवती मृत्यु प्रकरणमा छानबिन समितिले बुझायो प्रतिवेदन

क्लिनिक र फार्मेसी सिल, चिकित्सक निलम्बित

बुटवल । गर्भपतन गर्ने क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटना  गठित छानबिन समितिले नेपाल मेडिकल काउन्सिललाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । डा. सम्राट पराजुलीको संयोजकत्वमा गठित समितिले तीन दिनको अध्ययनपछि तयार पारेको २६ पृष्ठ लामो प्रतिवेदन काउन्सिलसमक्ष पेस गरेको हो ।
प्रारम्भिक प्रतिवेदनको सिफारिसका आधारमा काउन्सिलले घटनासँग जोडिएका बुटवलस्थित जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई तत्कालका लागि सिल गर्ने निर्णय गरेको छ । साथै, लापरवाही गरेको आरोपमा पक्राउ परेका डा. सतिश रूपाखेतीलाई अर्को निर्णय नभएसम्म बिरामी जाँच गर्न नपाउने गरी निलम्बन गरिएको काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले जानकारी दिए ।
समितिका अनुसार अन्तिम प्रतिवेदन तयार भएपछि घटनाको विस्तृत विवरण सार्वजनिक गरिनेछ । प्रारम्भिक प्रतिवेदनमा घटनासँग सम्बन्धित स्वास्थ्य संस्थाको भूमिका र उपचार प्रक्रियामाथि अनुसन्धान गरिएको भए पनि खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्रीको भूमिकाबारे स्पष्ट उल्लेख नभएको पाइएको छ । यसप्रति मृतकका परिवारले असन्तुष्टि जनाएका छन् ।
गीता पाण्डे १३ हप्ताभन्दा बढीको गर्भमा रहेको भ्रुण अस्वस्थ रहेको जानकारीपछि उपचारका लागि वैशाख ५ गते पति प्रकाश पाण्डेसँग बुटवल आइपुगेकी थिइन् । त्यसअघि चैत २७ गते उनी खत्री नर्सिङ होममा जाँचका लागि पुगेकी थिइन् । त्यतिबेला डा. खत्रीले गर्भ असामान्य रहेको भन्दै वैशाख ४ गते पुनः आउन सुझाव दिएका थिए ।
वैशाख ५ मा नर्सिङ होम आइपुगेकी गीतालाई त्यहाँ उपचार नगरी अस्पताल लाइनस्थित जोनल फार्मेसीमा पठाइएको थियो । परिवारका अनुसार नर्सिङ होमले लोकेसन म्यापसहित फार्मेसीमा जान सुझाव दिएको थियो । जोनल फार्मेसीले गर्भपतनका लागि १६ हजार रुपैयाँ शुल्क लाग्ने भन्दै दुई हजार रुपैयाँ अग्रिम लिएर केही औषधि दिएको खुलेको छ । त्यसपछि उनलाई इन्दुलेखा स्वास्थ्य क्लिनिकमा लगिएको थियो ।
परिवारका सदस्यका अनुसार इन्दुलेखा क्लिनिकमा डा. सतिश रूपाखेतीको निगरानीमा जाँच र उपचार भइरहेका बेला गीताको मृत्यु भएको थियो । गर्भपतनका लागि नर्सिङ होम, फार्मेसी र क्लिनिक गरी तीन स्वास्थ्य संस्थामा धाउँदा–धाउँदै वैशाख ६ गते उनको ज्यान गएको थियो ।
मृतकका पति प्रकाश पाण्डेले उपचारका नाममा व्यापारिक उद्देश्यले स्वास्थ्य संस्थाहरूले लापरवाही गरेको आरोप लगाएका छन् । उनले डा. डीबी खत्री र डा. सतिश रूपाखेतीलाई मुख्य दोषी ठहर गर्दै कानुनी कारबाहीको माग गरेका छन् । साथै जोनल फार्मेसीका सञ्चालक सन्ध्या बस्नेत, निलम घर्ती मगर तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेविरुद्ध पनि इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दर्ता दिएका छन् । 
जाहेरी दर्तालगत्तै प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानकै क्रममा पक्राउ गरिएका डा. खत्री र डा. रूपाखेती भने हाल थुनामुक्त भइसकेका छन् ।
घटनापछि आक्रोशित आफन्तहरूले खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा तालाबन्दी गरेका थिए । मृतक गीता पाण्डे रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी थिइन् भने उनका पति स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत रहेको जनाइएको छ । 
प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएसँगै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग थप चर्किएको छ । अब अन्तिम प्रतिवेदनले घटनाको वास्तविकता र जिम्मेवारीको स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्