नेभिगेशन
अर्थतन्त्र

उद्योगी व्यवसायी धरपकडको निजी क्षेत्रद्वारा विरोध

नाइमाको ध्यानाकर्षण

काठमाडौं । सरकारबाट उद्योगी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकका घटनाले निजी क्षेत्र निरुत्साहित भएको निजी क्षेत्रका प्रमुख छाता संगठनहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरिएको समयमा यस्ता गतिविधिले निजी क्षेत्र निरुत्साहित भएको भनेका हुन् ।
पछिल्ला केही घटनाले देशको अर्थतन्त्रमा करिब ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशत योगदान पु¥याइरहेको निजी क्षेत्र त्रसित हुने अवस्था सिर्जना हुँदा अर्थतन्त्र, रोजगारी, राजस्व तथा पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने चेतावनी ती संगठनहरूले दिएका छन् ।
उद्योगी व्यवसायीले नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै उद्योगी व्यवसायीलाई पक्राउ गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै आर्थिक कसुरका विषयमा पहिले सुन्ने र कसुर प्रमाणित भएपछि मात्र थुन्ने दृष्टिकोण अपनाउन सरकारलाई विज्ञप्तीमार्फत आग्रह गरेका छन् । अनुसन्धानमा सघाउन उद्यमी व्यवसायी तयार हुँदाहुँदै पनि उद्योगी व्यवसायी पक्राउ गरिनुले समग्र निजी क्षेत्र चिन्तित र दुःखी बनेको पनि विज्ञप्तिमा भनिएको छ ।
संस्थाहरूले उद्योगी व्यवसायीलाई धरपकड गर्दा व्यक्तिमात्र नभई लाखौं रोजगारी, आपूर्ति शृंखला, बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीमै गम्भीर धक्का पुग्ने जोखिम रहेको औंल्याएका छन् । यसले अर्थतन्त्र थप संकटमा पर्न सक्ने भन्दै सरकारलाई यसतर्फ गम्भीर हुन आग्रह तीन संगठनले गरेका छन् ।
सरकारले नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई समेत सहभागी गराउन थालेको कदमलाई सकारात्मक रूपमा लिएको जनाउँदै निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति मन्त्रिपरिषदबाट पारित भइसकेको अवस्थामा भइरहेका धरपकडका घटनाले निजी क्षेत्र थप सशंकित बनेको विज्ञप्तिमा उल्लेख छ । कसुर प्रमाणित भए दोषीलाई कारबाही हुनुपर्नेमा निजी क्षेत्रको कुनै विमति नरहेको स्पष्ट पार्दै संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाको सम्मान गर्न आग्रह गरिएको छ ।
चार वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्र नयाँ सरकारको व्यवसायीमैत्री नीति र व्यवहारबाट गतिशील बन्ने अपेक्षा गरिएको भए पनि हाल देखिएका गतिविधिले लगानी अभिवृद्धि र लगानीकर्ताको सुरक्षा सम्बन्धी विश्वास कमजोर नहोस् भन्ने चाहना निजी क्षेत्रको रहेको विज्ञप्तिमा उल्लेख छ । तीन संगठनले निजी क्षेत्रको लगानी र उद्यमीहरूको उत्साहबाट मात्रै देश समृद्ध बनाउन सकिने भन्दै यस विषयलाई गम्भीरतापूर्वक बुझ्न र मनन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

नाइमाको ध्यानाकर्षण
उद्योगी गोल्छाको पक्राउप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पनि  ध्यानाकर्षण भएको जनाएको छ । नाइमा बोर्ड सदस्य गोल्छासँग सम्बन्धित हाल विकसित घटनाक्रमप्रति नाइमाले ध्यानाकर्षण भएको जनाउँदै यस्ता प्रकृतिका विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनुपर्ने पनि उल्लेख गरेको छ ।
प्रक्रियागत स्पष्टता, सन्तुलन तथा उचित विवेक अपनाइनुले समग्र प्रणालीप्रतिको विश्वास सुदृढ बनाउन सहयोग पुग्ने नाइमाको ठहर छ । ‘उद्योग तथा व्यवसाय क्षेत्रले मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको तथ्य सर्वविदित छ,’ शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्ने, विश्वासको वातावरण सुदृढ गर्ने तथा उद्यमशीलताको निरन्तरता कायम राख्ने दिशामा राज्यले निजी क्षेत्रको योगदानलाई उचित रूपमा स्वीकार गरी सोहीअनुसार व्यवहार र नीतिगत सन्देश दिनु आवश्यक हुन्छ ।’
नाइमा विधिको शासन, पारदर्शिता तथा निष्पक्षताको पक्षमा दृढ रहेको संस्था हो र कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष ढंगले अनुसन्धान हुनु र कानुन उल्लंघन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनुपर्नेमा संस्था अडिग छ । ‘तथापि पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले समग्र प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने भएकाले यस सन्दर्भमा सम्बन्धित निकायहरूले आवश्यक संवेदनशीलता अपनाउन नाइमा विनम्रतापूर्वक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्