नेभिगेशन
विश्व

चीनका रिफाइनरी र ४० जहाज कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

वासिङ्टन, (एपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनमा रहेको एउटा ठूला तेल प्रशोधन केन्द्र तथा इरानी तेल ढुवानीमा संलग्न करिब ४० वटा जहाज कम्पनी र ट्यांकरमाथि आर्थिक प्रतिबन्ध लगाएको छ ।
शुक्रबार घोषणा गरिएको यो कदमले इरानसँग व्यापार गर्ने कम्पनी र देशमाथि द्वितीयक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनीलाई कार्यान्वयन गरेको छ । साथै, यो उनको प्रशासनले इरानको प्रमुख आम्दानी स्रोत—तेल निर्यात—कटौती गर्ने अभियानलाई तीव्र बनाउने प्रयासको हिस्सा हो ।
यसैबीच, अमेरिकाले यही महिना विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने पर्सियन खाडीस्थित होर्मुज जलडमरूमध्यमा भौतिक नाकाबन्दी पनि लगाएको छ ।
यी प्रतिबन्धहरूले सम्बन्धित कम्पनीहरूलाई अमेरिकी वित्तीय प्रणालीबाट अलग पार्ने र तिनीसँग कारोबार गर्ने जो–कोहीलाई पनि दण्डित गर्ने व्यवस्था गर्छन् । यस्तो निर्णय राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनमै हुने तय भएको भेटघाटभन्दा केही हप्ता अघि आएको हो ।
शुक्रबार लगाइएका प्रतिबन्धमा चीनको डालियान बन्दरगाह शहरमा रहेको हेंगली पेट्रोकेमिकलको प्रशोधन केन्द्र पनि समावेश छ । दैनिक करिब चार लाख ब्यारेल कच्चा तेल प्रशोधन क्षमता रहेको यो केन्द्र चीनका सबैभन्दा ठूला स्वतन्त्र रिफाइनरीमध्ये एक हो ।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार उक्त कम्पनीले सन् २०२३ देखि इरानी कच्चा तेल आयात गर्दै आएको छ र त्यसबाट इरानी सेनाका लागि सयौँ मिलियन डलर आम्दानी उत्पन्न भएको छ ।
‘युनाइटेड अगेंस्ट न्युक्लियर इरान’ नामक पैरवी समूहले सन् २०२५ को फेब्रुअरीमा सार्वजनिक गरेको प्रतिवेदनमा हेंगलीलाई इरानी तेल किन्ने दर्जनौँ चिनियाँ कम्पनीमध्ये एकका रूपमा उल्लेख गरेको थियो ।
चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो । अमेरिका–इजरायल युद्ध सुरु हुनुअघि उसले इरानी तेलको करिब ८० देखि ९० प्रतिशतसम्म आयात गर्ने गरेको थियो । यद्यपि, ‘छायाँ बेडा’ का जहाजमार्फत ढुवानी हुने यो तेलको वास्तविक स्रोत प्रायः लुकाइने गरिन्छ र मलेसिया जस्ता देशबाट आएको जस्तो देखाइन्छ । सामान्यतया साना रिफाइनरीहरू, जसलाई ‘टिपोट’ रिफाइनरी भनिन्छ, यस्ता तेलका मुख्य खरिदकर्ता हुन्छन् ।
इरानले यसअघि युद्ध अन्त्यका लागि आफ्ना सर्तहरूमा प्रतिबन्ध हटाइनु पर्ने माग राख्दै आएको छ ।
अर्थ मन्त्री स्कट बेसन्टले शुक्रबार भने, ‘इरानले आफ्नो तेल विश्व बजारमा पु¥याउन प्रयोग गर्ने जहाज, बिचौलिया र खरिदकर्ताको सञ्जाललाई हामी निरन्तर खुम्च्याउने छौँ ।’
यसै महिनाको सुरुमा उनको मन्त्रालयले चीन, हङकङ, संयुक्त अरब इमिरेट्स र ओमानका वित्तीय संस्थाहरूलाई पत्र पठाउँदै इरानसँग कारोबार गरेमा दोहोरो प्रतिबन्ध लगाइने चेतावनी दिएको थियो । ती देशहरूले आफ्ना वित्तीय संस्थामार्फत इरानका गैरकानुनी गतिविधि सञ्चालन हुन दिएको आरोप पनि लगाइएको थियो ।
अप्रिल १५ मा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बेसन्टले प्रशासनले देशहरूलाई ‘यदि तपाईंहरू इरानी तेल किनिरहनु भएको छ वा इरानी पैसा तपाईंका बैंकमा छ भने, हामी कडा द्वितीयक प्रतिबन्ध लगाउन तयार छौं’ भन्ने स्पष्ट सन्देश दिएको बताए ।
पर्सियन खाडी क्षेत्रमा जारी युद्धका कारण तेल र प्राकृतिक ग्यास आपूर्ति अवरुद्ध हुँदै गएकोले विश्व ऊर्जा व्यापारमा अस्थिरता बढिरहेको छ र मूल्यहरू उकालो लागिरहेका छन् । तेल मूल्यवृद्धिको असर कम गर्न अर्थ मन्त्रालयले रुसी तेलमाथि अस्थायी छुट र समुद्रमा रहेको इरानी तेलका लागि एकपटकको छुट प्रदान गर्ने प्रयास गरेको छ । 
चीनले यसअघि पनि अमेरिकी प्रतिबन्धहरूको विरोध गर्दै आएको भए पनि उसका ठूला कम्पनी र बैंकहरू अमेरिकी प्रभुत्व भएको वित्तीय प्रणालीमा निर्भर भएकाले ती प्रतिबन्धहरू पालना गर्न बाध्य हुने गरेका छन् ।
यस महिनाको सुरुमा इरानी तेल खरिद गरेको आरोपमा एउटा चिनियाँ रिफाइनरीमाथि प्रतिबन्ध लगाएपछि वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेङयुले प्रतिबन्धको प्रयोगले ‘अन्तर्राष्ट्रिय व्यापारको नियम र व्यवस्थालाई कमजोर पार्ने, सामान्य आर्थिक तथा व्यापारिक आदान–प्रदानमा अवरोध पु¥याउने तथा चिनियाँ कम्पनी र व्यक्तिहरूको वैध अधिकारमा हस्तक्षेप गर्ने’ बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्