नेभिगेशन
विश्व
पाकिस्तानमा अमेरिका–इरान वार्ताको पहल

तनावबीच मध्यस्थताको प्रयास तीव्र

इस्लामाबाद, (एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूत स्टिभ विटकोफ र जरेड कुश्नरलाई पाकिस्तान पठाएका छन् । त्यहाँ उनीहरूले इरानका विदेश मन्त्री अब्बास अराघचीसँग भेट गर्नेछन् । दक्षिण एशियाली मुलुक पाकिस्तानले अमेरिका–इरानबीच युद्धविराम वार्ता पुनर्जीवित गर्न प्रयास गरिरहेका बेला यो पहल भएको हो ।
शनिबार राति अबेरसम्म नयाँ अपडेट आइसकेको छैन । विश्वभर तनाव बढिरहेका बेला यो वार्ता हुन लागेको हो । होर्मुज हुँदै हुने ऊर्जा आपूर्ति अवरुद्ध हुँदा विश्व अर्थतन्त्रमा असर परेको छ र मध्यपूर्वमा हजारौँ मानिसको ज्यान गएको छ ।
अराघची शुक्रबार राति नै इस्लामाबाद पुगे भने शनिबार अमेरिकी वार्ताकार आइपुगेका छन् । उनले यसअघि सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमण द्विपक्षीय विषय र क्षेत्रीय घटनाक्रममा केन्द्रित हुने बताएका थिए, तर कसलाई भेट्ने भन्ने खुलाएका थिएनन् ।
तर उनी पाकिस्तान पुगेको केही समयमै इरानले यस भ्रमणका क्रममा अमेरिकासँग प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले ‘इरान र अमेरिकाबीच कुनै भेट तय गरिएको छैन’ बताएका छन् । उनका अनुसार पाकिस्तानी अधिकारीहरूले दुवै पक्षबीच सन्देश आदान–प्रदान गर्नेछन् ।
यसअघि ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले भने अमेरिकी दूतहरूले अराघचीसँग भेट गर्ने बताएकी थिइन् । उपराष्ट्रपति जेडी भान्स प्रत्यक्ष नजाने भए पनि प्रक्रिया नजिकबाट हेर्दै रहेको र आवश्यक परे पाकिस्तान जान सक्ने उनले बताइन् । विदेश मन्त्री मार्को रूबियो लगायत टोली ‘स्ट्यान्डबाइ’ मा रहेको जनाइएको छ ।
अराघची र अमेरिकी दूतहरूबीच फेब्रुअरी २७ मा जेनेभामा अप्रत्यक्ष वार्ता भएको थियो, तर कुनै सहमति हुन सकेको थिएन । त्यसकै भोलिपल्ट अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेका थिए ।
पाकिस्तानले अमेरिका र इरानलाई पुनः वार्तामा ल्याउने प्रयास गरिरहेको छ । ट्रम्पले यसै साता युद्धविराम अनिश्चितकालसम्म विस्तार गर्ने घोषणा गरेपछि कूटनीतिक पहललाई समय मिलेको मानिएको छ ।
तर होर्मुज क्षेत्रमा तनाव अझै कायम छ । इरानले जहाज आवागमनमा दबाब कायम राख्दै आक्रमणहरू गरेको छ भने अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ ।
अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले इरानसँग ‘सहमतिको अवसर’ रहेको बताए । उनले केही दिनभित्र अर्को अमेरिकी विमानवाहक युद्धपोत पनि तैनाथ गरिने जानकारी दिए । अहिले नै युएसएस जर्ज एचडब्लु बुस, युएसएस अब्राहम लिंकन र युएसएस गेराल्ड आर. फोर्ड सोही क्षेत्रमा सक्रिय छन् ।
युद्ध सुरु भएयता इरानमा कम्तीमा ३,३७५ जनाको मृत्यु भएको छ भने लेबनानमा २,४९० भन्दा बढीले ज्यान गुमाएका छन् । इजरायल, खाडी क्षेत्र र अन्य स्थानमा पनि दर्जनौँको मृत्यु भएको छ ।
यसैबीच लेबनानमा युद्धविराम लम्ब्याइएको भए पनि तनाव कायम छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले ‘ऐतिहासिक शान्ति प्रक्रियातर्फ अघि बढिएको’ बताएका छन्, तर हिजबुल्लाहले भने कूटनीतिक प्रक्रियामा सहभागिता जनाएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्