नेभिगेशन
प्रदेश

‘माटो सुधार नगरे अबको १० वर्षमा अन्न फल्दैन’

टीकापुर । कैलाली जिल्लामा परीक्षण गर्दा माटोमा छारेपन (नुन) को मात्रा अत्यधिक देखिएको छ । यसका साथै माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको कमी देखिएको छ । 
सामुदायिक सहकारी संस्था सत्तीको आयोजनामा गरिएको परीक्षणको नतिजाले कृषि प्राविधिकमा चिन्ता बढाएको छ । बाली लगाउनुपूर्व माटोको अवस्थाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको प्राविधिक सहयोगमा टीकापुरको सत्ती र भजनीमा माटो परीक्षण गरिएको हो । 
शनिबार र आइतबार गरिएको परीक्षणमा सत्तीमा ९१ र भजनीमा ३० किसानले आफ्नो बारीको माटो परीक्षण गराएका थिए । सहकारीका सदस्यलाई माटोको गुणस्तर जोगाउनुपर्छ भन्ने जानकारी बढाउन परीक्षण गरिएको सहकारीका सचिव कृत ठकुल्लाले बताए । 
परीक्षण गर्दा माटोको अवस्था चिन्ताजनक देखिएको माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका सहायक माटो विज्ञान अधिकृत हमप्रसाद न्यूरेले बताए । ‘परीक्षण गरिएका सबै किसानको माटोको गुणस्तर खस्किएको पाइयो । १२१ माटोका नमुना जाँच ग¥यौं, सबैमा छारेपन उच्च देखियो,’ उनले भने, ‘माटोमा नाइट्रोजन, फस्फोरस पोटासको अवस्था कमजोर देखिएको छ, यसले बाली उत्पादन घटाउँदै लगेको छ ।’
माटो विज्ञ न्यूरेका अनुसार माटोको अवस्था यस्तै रहेमा अबको १० वर्षपछि यो माटोबाट उत्पादन लिन सकिदैन । ‘अब किसानको बारीको माटो परीक्षण होइन, सुधार गर्न कार्यक्रम राख्न सुझाव दिएको छु,’ उनले भने, ‘स्थानीय सरकारले अब परीक्षणभन्दा सुधारका कार्यक्रम ल्याउनुपर्छ । बस्तुभाउ पाल्ने घट्दै जाँदा गोबर मल नपाइने भएकाले हरियो मल बढाउन ढैचा खेती अनिवार्य गर्ने, प्रांगारिक मल बढाउनुपर्छ  ।’
परीक्षण प्रयोगशालाले सुदूरपश्चिमका जिल्लाका कृषि ज्ञान केन्द्र, स्थानीय तह, संघसंस्था, सहकारीसँग समन्वय गरेर वर्षमा पाँच हजार बढी नमूना परीक्षण गर्ने र सुझाव दिने गरिएको जनाएको छ । यसबाहेक किसानले स्वयंले माटो परीक्षण गर्न ल्याउने गरेका छन् । उनका अनुसार किसानले आफैं परीक्षणका लागि ल्याउँदा एउटा नमूनाको एक सय रुपैयाँ लिने गरिएको छ । विभिन्न विश्वविद्यालयबाट आएका विद्यार्थीले जाँच गरेको दुई सय रुपैयाँ लिइन्छ । सहकारी तथा संस्थाले गर्दा चार सय रुपैयाँ शुल्क तोकिएको छ । यसबाहेक कृषि ज्ञान केन्द्रको अनुरोधमा सुदूरका नौवटै जिल्लामा माटोको नमूना परीक्षणगरिरहेको उनले जानकारी दिए ।
माटो परीक्षणपछि किसानलाई स्वस्थता प्रमाणपत्र उपलब्ध गराइएको छ ।  माटो स्वस्थता कार्डमा किसानको माटोको पीएच, प्रांगारिक पदार्थको अवस्था, नाइट्रोजन, फस्फोरस, पोटास, माटोको बनोट उल्लेख गरिएको छ । साथै माटो सुधारका लागि गर्नुपर्ने कार्यबारे कार्डमा उल्लेख गरिएको छ । 
कार्डको आधारमा बाली जोगाउन किसानलाई गोबर मल, हरियो मल जस्ता प्रांगारिक मल प्रयोग गर्न सिकाउनुपर्ने आवश्यकता छ । स्थानीय तहहरुले हरियो मल, जैविक मलबारे किसानलाई शिक्षा दिइरहे पनि माटोमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले माटो र वातावरण बिग्रदै गएकाले किसान स्वयम सचेत हुनुपर्ने उनको सुझाव छ ।
दिगो माटो व्यवस्थापनमा सघाउका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी नियमावली २०८१ बनाएर लागू गरिसकेको छ । प्रांगारिक मल र प्रांगारिक विधिमा गरिने खेती किसानीमा जोड दिइरहेको छ । संघ, प्रदेश र स्थानीय, तीनै तहका सरकारले यस विषयलाई प्राथमिकतामा राखेको कृषि प्राविधिक बताउँछन् । टीकापुर नगरपालिकाका कृषि प्राविधिक रविना चौधरी कृषि शाखामार्फत रासायनिक मल र विषादी दुवैको प्रयोग घटाउने र उत्पादन बढाउने उद्देश्यले माटोको गुणस्तरअनुसार खेती गर्ने काममा हौसला दिने काम भइरहेको बताउँछन् ।
‘माटोको गुणस्तर बिग्रन नदिन किसानलाई हरियो मल उत्पादनबारे जानकारी दिने गरेका छौं । ढैंचा (हरियो मल) खेती गर्न सल्लाह दिन्छौं,’ उनले भने,  ‘माटो स्वस्थ भएमा वातावरण स्वस्थ हुने भएकाले माटो सुरक्षामा किसानले ध्यान दिनुपर्छ ।’ रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्