नेभिगेशन
अर्थतन्त्र

केरामा विचौलियाः उपभोक्ता तिर्छन् डेढ सय, किसानले पाउँछन् ७०

नवलपुर । संघीय राजधानी काठमाडौंका फलफूल पसलेले केराको खुद्रा मूल्य प्रतिदर्जन ३ सय रुपैयाँसम्म तोकिरहेका छन् तर २ सय किलोमिटर टाढा नवलपुरका किसान केराको मूल्य नपाएको गुनासो गरिरहेका छन् । नवलपुरमा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका हुन् ।
बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । मध्यविन्दु नगरपालिका–६ बरुवाका किसान दुर्गाप्रसाद भुर्तेलले उत्पादनअनुसार मूल्य नपाउँदा बीचमै व्यवसाय छोड्नुपर्ने अवस्था आएको गुनासो गरे । ३० वर्षदेखि केराखेती गर्दै आएका उनले ९ वर्षयता व्यावसायिक केराखेती गरिरहेका छन् ।
‘हाल केरा बेच्दा प्रतिकोसा ५–६ रुपैयाँमात्रै पाइरहेका छौं । लागत, मेहनत र जोखिम हेर्दा यो मूल्यले त टिक्नै गाह्रो छ,’ भुर्तेलले भने, ‘रोग–किरा, हावाहुरी तथा असिनापानीका कारण उत्पादनमा समेत निरन्तर असर परिरहेको छ, जसले लागत झन् बढाएको छ ।’
यस्तै, कावासोती नगरपालिका–१३ की फुलकुमारी महतोले अन्य बालीभन्दा राम्रो आम्दानी हुने अपेक्षासहित चार बिघा जमिनमा केराखेती गर्दै आए पनि उचित मूल्य नपाउँदा निराशा बढ्दै गएको बताइन् । ‘लाखौं लगानी गरेर खेती गरेका छौं तर सस्तोमा बेच्नुपरेको छ, बजारमा भने उपभोक्ताले महँगो तिरिरहेका छन् । बीचमा कसले फाइदा लिएको छ, बुझ्नै गाह्रो छ,’ उनले भनिन् ।
कावासोती कृषिउपज थोक बजार व्यवस्थापन समितिका अनुसार आइतबार केराको थोक मूल्य प्रतिदर्जन १३२ र खुद्रा मूल्य १५० सम्ममा बिक्री भइरहेको छ । किसानले भने यही केरा प्रतिदर्जन ६० देखि ७२ रुपैयाँसम्म मात्र पाउने गरेका छन् । किसान र उपभोक्ताबीचको यो ठूलो मूल्यअन्तरले बजार प्रणालीप्रति नै प्रश्न उठाएको छ ।
विचौलिया नियन्त्रण, उचित समर्थन मूल्य निर्धारण तथा प्रत्यक्ष बजार पहुँच सुनिश्चित गर्नसके आफूहरूलाई राहत मिल्ने किसान दुर्गाप्रसाद भुर्तेलले बताए । समयमै प्रभावकारी नीति नल्याए केराखेतीप्रति किसानको आकर्षण घट्ने जोखिम रहेको उनको ठहर छ ।
कृषि विकास कार्यालयका सूचना अधिकारी सञ्जय ढकालका अनुसार जिल्लामा हाल ५५१ हेक्टरमा केराखेती हुँदै आएको छ । उत्पादन बढ्दो क्रममा रहे पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा भने असन्तुलन रहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्