नेभिगेशन
अर्थतन्त्र

पूर्वाधार विकास नभई आयात प्रतिस्थापन हुँदैनः अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पूर्वाधार विकास नभईकन आयात प्रतिस्थापन हुन नसक्ने भएकाले पूर्वाधार क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी महासंघका नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागतका लागि आयोजित कार्यक्रममा उनले सडक, ऊर्जा, जलस्रोत, सहरी विकास तथा औद्योगिक पूर्वाधारलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना निर्माण गर्न सरकारलाई आग्रह गरे ।
साथै, निर्माण क्षेत्रमा कार्यरत व्यवसायीलाई समयमै भुक्तानी नहुँदा परियोजना प्रभावित हुने गरेको उल्लेख गर्दै उनले भने, ‘जसरी सरकारले १५ दिनभित्र कर्मचारीलाई तलब दिने प्रतिबद्धता व्यक्त गरेको छ, त्यसैगरी पूर्वाधार क्षेत्रको विकासमा योगदान दिने निर्माण व्यवसायीलाई पनि समयमै भुक्तानी दिइनुपर्छ ।’
त्यस्तै चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढे आर्थिक विकासको लक्ष्य हासिल गर्न अझ सहज हुने बताउँदै त्यसका लागि निजी क्षेत्रका समस्या सुनेर अघि बढ्नुपर्ने उल्लेख गरे ।
यसैगरी महासंघका अध्यक्ष निकोलस पाण्डेले विकासशील राष्ट्रका लागि पूर्वाधार नै आर्थिक प्रगतिको मेरुदण्ड भएको उल्लेख गरे । उनले वर्तमान सन्दर्भमा निर्माण क्षेत्रलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए । निजी क्षेत्रप्रति सरकारी व्यवहार अपेक्षाअनुसार सहयोगी नहुँदा व्यवसायीमा निराशा बढिरहेको उनले बताए । ‘निर्माण व्यवसायीले ढिला भुक्तानी, जटिल प्रशासनिक प्रक्रिया, लागत वृद्धि जस्ता चुनौती भोगिरहेका छन्, यस्ता समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्