नेभिगेशन
अर्थतन्त्र

असम्बन्धित व्यक्तिमाथिको धरपकड पीडादायी हुन्छः किरणप्रकाश शाखः निर्देशक, साखः स्टिल इन्डस्ट्री

अहिलेको सन्दर्भमा यो धरपकडको विषयमा पनि बोल्नैपर्छ । कसैले गल्ती गरेको छ भने पर्याप्त अनुसन्धान गरेर प्रमाणका आधारमा कारबाही गर्नु स्वाभाविक हो । त्यसमा जनमानसको पनि सहमति हुन्छ । तर, असम्बन्धित व्यक्तिलाई पनि धरपकडमा पारियो भने त्यो अत्यन्त पीडादायी हुन्छ । यस्तो अवस्था आयो भने मान्छेलाई जीवनप्रति नै निराशा उत्पन्न हुन सक्छ । त्यसैले, पहिले निष्पक्ष अनुसन्धान गरेर दोष प्रमाणित भएपछि मात्र कारबाही गरिनुपर्छ भन्ने हाम्रो धारणा हो । अहिले उद्योगी व्यवसायीहरू असुरक्षित र त्रसित महसुस गरिरहेका छन् । यद्यपि असुरक्षाको भावना नयाँ भने होइन । म स्वयं पनि विगतमा यस्तै परिस्थितिमा परेको छु । भोलिको दिनमा व्यवसायबाट बाहिरिनुपर्ने अवस्था आउँछ कि आउँदैन भन्ने अनिश्चितता रहन्छ । 
जनार्दन शर्माको कार्यकालमा आएको प्रतिस्थापन बजेटका कारण म स्वयं प्रभावित भएको व्यक्ति हुँ । तीन वर्षदेखि मेरो उद्योग बन्द अवस्थामा छ । अर्बौं रुपैयाँ बैंकको ऋण छ । यस्तो अवस्थामा बिना पर्याप्त आधार बैंकिङ कसुरको आरोप लगाएर कारबाही गरियो भने त्यसले व्यवसायीको मनोबलमा गम्भीर असर पार्छ । त्यसैले हरेक विषयमा सत्यता र न्यायको सुनिश्चितता हुनुपर्छ भन्ने हाम्रो आग्रह हो । किन लोन लिएको हो, सही ठाउँमा प्रयोग भएको छ कि छैन भन्ने कुराको स्पष्ट निक्र्योल भइसकेपछि कारबाही हुनुपर्छ भन्नेमा हाम्रो कुनै विमति छैन । तर, पहिले समातेर भित्र हाल्ने, त्यसपछि मात्र अनुसन्धान गर्ने र अन्त्यमा केही नभए ‘सरी’ भनेर छोड्ने प्रवृत्तिलाई सामान्य बनाइँदै कारबाही गर्नु हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्