नेभिगेशन
अर्थतन्त्र

‘यूए ह्याकाथन नेपाल २०२६’ का लागि आवेदन खुला

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले युनिभर्सल एक्सेप्टेन्स (यूए) डे–सम्बन्धी विश्वव्यापी अभियान तथा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर ‘यूए ह्याकाथन नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ । 
अन्तर्राष्ट्रिय संस्थाहरू इन्टरनेट कर्पोरेशन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) एशिया प्यासिफिक नेटवर्क इन्फर्मेशन सेन्टर (एप्निक) तथा सनवे कलेज काठमाडौंको सहकार्यमा आयोजना हुन लागेको यस कार्यक्रमले नेपाली भाषा र लिपिमा आधारित इन्टरनेट प्रणालीको विकासलाई प्राथमिकता दिएको क्यान महासंघले जनाएको छ ।
महासंघका अनुसार ह्याकाथनको मुख्य उद्देश्य सबैका लागि समावेशी र बहुभाषिक इन्टरनेट सुनिश्चित गर्नु हो । हाल इन्टरनेटमा अंग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा नेपाली लगायत स्थानीय भाषामा पनि सहज रूपमा इमेल र वेबसाइट सञ्चालन गर्न सकिने वातावरण निर्माण गर्ने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा सहभागीहरूले बहुभाषिक तथा ‘यूए–रेडी’ डिजिटल समाधान निर्माण गर्ने अवसर पाउनेछन् । 
विकासकर्ता, विद्यार्थी तथा प्रविधि क्षेत्रमा रुचि राख्ने व्यक्तिहरू यस ह्याकाथनमा सहभागी हुन सक्नेछन् । ह्याकाथनका लागि आवेदन दिने अन्तिम मिति २०८३ वैशाख १७ (३० अप्रिल २०२६) तोकिएको छ भने कार्यक्रम २०८३ जेठ २ (१६ मे २०२६) मा हाइब्रिड (भौतिक तथा अनलाइन दुवै माध्यम) मार्फत सञ्चालन गरिनेछ । क्यान महासंघले इन्टरनेटलाई सबैको पहुँचमा पु¥याउन र सूचना प्रविधि क्षेत्रमा नयाँ आविष्कार तथा प्रयोगलाई प्रोत्साहन गर्न यो कार्यक्रम उपयोगी प्लेटफर्म बन्ने विश्वास व्यक्त गरेको छ ।
युनिभर्सल एक्सेप्टेन्स (यूए) डे विश्वव्यापी पहल हो, जसले सबै डोमेन नेम र इमेल ठेगानाहरूलाई विभिन्न इन्टरनेट अनुप्रयोग, उपकरण तथा प्रणालीहरूले स्वीकार गर्न सक्ने अवस्था सुनिश्चित गर्न सचेतना जगाउने र यसको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य राख्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्