नेभिगेशन
अर्थतन्त्र

धादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालन

काठमाडौं । एकीकृत बसपार्क सञ्चालनका लागि व्यवसायीलाई संवाद र समन्वयका माध्यमबाट समस्या समाधान समझदारी गराइएको काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन् । त्यसका लागि व्यवसायीसँगै नेपाल प्रहरी, ट्राफिक प्रहरी, वडा कार्यालय, बसपार्क सञ्चालन व्यवस्थापन र यातायात व्यवसायीबीच यथोष्ट समन्वय भएको उनले बताएकी हुन् ।
‘हाम्रो आग्रह व्यवसायीहरूले स्वीकार गरिदिनुभयो । यस कार्यका लागि महानगर प्रहरी बलले नेपाल प्रहरी, ट्राफिक प्रहरी र बसपार्क सञ्चालकसँग समन्वय गर्नुभयो । सार्वजनिक यातायात बस पार्कभित्रबाट सञ्चालन भएपछि चक्रपथ कोरिडोरमा सवारी पार्किङको समस्या न्यूनीकरण भएको छ । सडक किनारामा गाडी रोकेर यात्रु चढाउँदा र ओराल्दा हुने दुर्घटनाको जोखिम समाधान भएको छ,’ डंगोलले भनिन् ।
महानगरपालिकाले वैशाख ७ गते व्यवसायीलाई अन्तिम पटक सार्वजनिक सूचना दिएर बसपार्क भित्र मात्र सवारीसाधन रोक्ने, यात्रु चढाउने तथा ओराल्ने काम सञ्चालन गर्न गराउन अनुरोध गरेको थियो । वैशाख ७ गते कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्की, प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीसहितको बैठकले विगतका निर्णय र निर्णय कार्यान्वयनको अवस्था समीक्षा गर्दै अन्तिम पटक तीन दिनको समय थप गरेको थियो । बैठकले निर्णय कार्यान्वयनका लागि समन्वय र अनुगमन गर्न महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई जिम्मेवारी दिएको थियो ।
यस अघि २०८२ चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्क भित्रबाट एकीकृत रुपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यस सूचनाबाट नुवाकोटतर्फका यातायात सञ्चालन गर्ने कम्पनीहरू सम्पर्कमा आएको तर धादिङतर्फ सञ्चालन हुने यातायात व्यवसायी सम्पर्कमा नआएपछि प्रचलित कानुनबमोजिम सेवा सञ्चालन गर्न अन्तिम पटक ३ दिनको मौका दिइएको थियो । 
अब एकीकृत बसपार्कमा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनको पार्किङ, टिकट काउण्टर सञ्चालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप एकै ठाउँबाट मात्र हुनेछ । प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा ७ सय सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा सवारी साधन बसपार्कबाहिरै पार्किङ हुने गरेका थिए । यात्रु चढाउने तथा ओराल्ने पनि बसपार्क बाहिरैबाट गर्ने गरेका थिए ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार अहिले नुवाकोटतर्फ चल्ने करिब ६५ वटा र धादिङतर्फ चल्ने करिब ९० वटा सवारी साधन बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यी सवारी साधन सञ्चालन गर्ने व्यावसायीले माग गरेअनुसारको ठाउँ बुधबार बेलुकासम्ममा उपलब्ध गराइने महानगरले जनाएको छ ।
बस पार्कमा लामो दूरीको एउटा सवारी साधन ९६ घण्टा पार्किङ गरेको ४५० रुपैयाँ शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दूरीका माइक्रो बसको २२० रुपैयाँ लाग्छ । यहाँबाट पोखरा, नुवाकोट, वुटबल, स्याङ्जा, दाङलगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ । नयाँ बसपार्क क्षेत्र १६१ रोपनीमा फैलिएको छ । यसमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्