नेभिगेशन
अर्थतन्त्र

अर्थतन्त्रको आकार ६६ खर्ब, आर्थिक वृद्धि ३.८५ प्रतिशत प्रक्षेपण

काठमाडौं । देशको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँबराबर पुग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा देशको अर्थतन्त्रको आधार ६६ खर्ब रुपैयाँबराबर हुने अनुमान गरिएको हो ।
गत आव २०८१÷८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेकोमा चालु आवमा ४ खर्ब थपिने प्रक्षेपण गरिएको छ । आव २०८०÷८१ मा भने अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रुपैयाँ थियो । यस्तै, चालु आवमा आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.८५ प्रतिशत र आधारभूत मूल्यमा ३.६८ प्रतिशत रहने अनुमान गरिएको छ ।

उत्पादनभन्दा सेवा क्षेत्रको योगदान बढी 
तथ्यांक कार्यालयले देशको समग्र अर्थतन्त्रलाई १८ प्रमुख आर्थिक क्रियाकलापमा वर्गीकरण गरी कुल मूल्य अभिवृद्धि वृद्धिदर तथा कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा तिनको योगदानको प्रक्षेपण गरेको छ । तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले नेपालको अर्थतन्त्र उत्पादनभन्दा सेवा क्षेत्रमै बढी निर्भर रहेको देखाएको छ । चालु आर्थिक वर्ष सकिँदा जिडिपीमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी रहने अनुमान गरिएको छ ।
तथ्यांकअनुसार चालु आव सकिँदा सेवा क्षेत्रले जिडिपीमा ६१.८ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ । तथ्यांक कार्यालयले दुवै क्षेत्रको तुलना गरी उत्पादनसँग प्रत्यक्ष जोडिएका क्षेत्र कृषि र उद्योग तथा निर्माण क्षेत्रको संयुक्त योगदान करिब ३८.२ प्रतिशतमात्रै रहने देखिएको जनाएको छ । यसले नेपालको अर्थतन्त्रमा वस्तु उत्पादन गर्ने क्षेत्रभन्दा सेवा प्रदान गर्ने क्षेत्रको प्रभाव र निर्भरता धेरै रहेको देखाएको छ । व्यापार, बैंकिङ, यातायात, पर्यटन, सूचना तथा सञ्चार लगायतलाई अर्थतन्त्रमा योगदान गर्ने सेवा क्षेत्र हुन् ।
चालु आवमा उद्योग तथा निर्माण क्षेत्रको वृद्धिदर ५.७७ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अन्य क्षेत्रको तुलनामा सकारात्मक संकेत हो । तर, कृषिजन्य उत्पादन क्षेत्रको वृद्धिदर बढे पनि यो क्षेत्रको जिडिपीमा गर्ने योगदान भने सीमित देखिएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर १.६३ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय सेवा, व्यापार, पर्यटन, सूचना प्रविधि र यातायात सेवाको विस्तारले सेवा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधार बनाएको छ । 

वित्तीय तथा बीमा क्षेत्र मजबुत
वित्तीय तथा बीमा क्षेत्र दोस्रो उच्च वृद्धिदर हासिल गर्ने क्षेत्रका रूपमा देखिएको छ । यस क्षेत्रको वृद्धिदर ९.१६ प्रतिशत रहने अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि, कर्जा प्रवाहमा विस्तार, बीमा प्रिमियम संकलनमा वृद्धि तथा सामाजिक सुरक्षा कोष र अन्य लगानी कोषहरूको आम्दानी बढ्नु यसको मुख्य आधार मानिएको छ । यस क्षेत्रले जिडिपीमा ६.७२ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ । 

विद्युत क्षेत्रको योगदान बढ्यो 
चालु आर्थिक वर्ष सकिँदा जिडिपीमा विद्युत क्षेत्रको योगदान बढ्ने देखिएको छ । वार्षिक तथ्यांकले चालु आर्थिक वर्षभित्र जिडिपीमा विद्युत् तथा ग्याँस क्षेत्रको योगदानमा २०.९३ प्रतिशतले वृद्धि हुने प्रक्षपण गरिएको छ । तथ्यांकको प्रारम्भिक अनुमानअनुसार उद्युत तथा ग्यास क्षेत्रले जिडिपीमा २.०८ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएकोमा अबको साढे २ महिनामा यसको कुल मूल्य अभिवृद्धि वृद्धिदर २०.९३ प्रतिशत रहने अनुमान गरिएको छ, यो  अन्य क्षेत्रको तुलनामा उच्च वृद्धि भएको लामिछानेले बताए ।
विद्युत क्षेत्रको योगदान बढ्नुमा पछिल्ला वर्षहरूमा दर्जनौं नयाँ जलविद्युत आयोजनाहरू सञ्चालनमा आउँदा विद्युत उत्पादनमा उल्लेखनीय वृद्धि हुनु एवं देशभर प्रसारण तथा वितरण लाइनको पूर्वाधार संरचना विस्तार हुनु मुख्य कारण देखिएको तथ्यांक रिपोर्टमा भनिएको छ । विद्युत आपूर्ति सहज बन्दै जाँदा उद्योग, व्यापार, सेवा तथा घरायसी उपभोग सबै क्षेत्रमा विद्युत खपत बढेको छ । जसले यस क्षेत्रको आर्थिक गतिविधिलाई तीव्र बनाएको पनि तथ्यांक कार्यालयले जनाएको छ । यसअघि, गत आर्थिक वर्षमा यो वृद्धिदर १२.७१ प्रतिशत थियो आर्थिक वर्ष २०८०÷८१ मा ११.६१ प्रतिशत थियो । तर, चालु आर्थिक वर्ष सकिँदा यो वृद्धिदर झण्डै डबल नजिक पुग्ने प्रक्षेपण गरिएको छ । 

कुल उत्पादन ९९ खर्ब नाघ्ने अनुमान
आर्थिक वर्ष २०८२÷८३ मा आधारभूत मूल्यमा कुल उत्पादन ९९ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा कुल उत्पादन ९३ खर्ब ८४ अर्ब ५० करोड रहेकोमा चालु आवमा बढ्ने अनुमान गरिएको हो । आर्थिक वर्ष २०८०÷८१ मा कुल उत्पादन ८७ खर्ब ८१ अर्ब २ करोड रुपैयाँ थियो ।

बढेन प्रतिव्यक्ति आय
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन चालु आवको अन्त्यमा १ हजार ५१३ अमेरिकी डलर हुने अनुमान गरिएको छ । यो अघिल्लो वर्ष १ हजार ५१६ डलर थियो भने आर्थिक २०८०÷८१ मा १ हजार ४५६ डलर रहेको थियो । डलर विनिमय दरमा आएको परिवर्तनका कारण गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ३ डलरको फरक देखिएको तथ्यांक कार्यालयले जनाएको छ । 
यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय आय पनि १ हजार ५३५ डलरमा स्थिर रहने अनुमान गरिएको छ । यो अघिल्लो वर्षकै स्तर हो । आर्थिक वर्ष २०८०÷८१ मा यो १ हजार ४८० डलर थियो । त्यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ डलर पुग्ने अनुमान गरिएको छ । यो अघिल्लो वर्ष १ हजार ९९४ डलर र आर्थिक वर्ष २०८०÷८१ मा १ हजार ८७७ डलर थियो । 

मध्यवर्ती उपभोगमा निरन्तर वृद्धि
उत्पादन प्रक्रियामा प्रयोग हुने मध्यवर्ती उपभोग आर्थिक वर्ष चालु आर्थिक वर्षको अन्त्यमा ४१ खर्ब २७ अर्ब ३२ करोड पुग्ने अनुमान गरिएको छ । अघिल्ला वर्षहरूमा क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०८१÷८२ मा ३९ खर्ब ३० अर्ब ९ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष सकिँदा ४१ खर्ब नाघ्ने अनुमान गरिएको हो । 

स्थिर पुँजी निर्माणमा सुधार
चालु आर्थिक कुल स्थिर पुँजी निर्माण जिडिपीको २६.२६ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । जुन गत वर्षको २३.५७ प्रतिशतभन्दा बढी हो । आर्थिक वर्ष २०८०÷८१ मा यो अनुपात २४.५१ प्रतिशत थियो । चालु आवमा देखिँदै गएको वृद्धिले देशमा लगानीका गतिविधिमा सुधार देखिँदै गएको तथ्यांक कार्यालयले जनाएको छ ।

उपभोग खर्च अझै उच्च
अन्तिम उपभोग खर्च जिडिपीको ९०.२९ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो वर्षहरूमा यो क्रमशः ९३.११ प्रतिशत र ९३.३१ प्रतिशत रहेको थियो । उपभोग खर्च उच्च रहे पनि क्रमिक रूपमा घट्दो प्रवृत्ति देखिएको छ, जसले केही बचत वृद्धि संकेत गरेको विश्लेषण गरिएको छ ।

आयात र निर्यातमा वृद्धि
वस्तु तथा सेवा निर्यात चालु आवको अन्त्यमा जिडिपीको ९.९७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यो गत आवको तुलनामा १.१४ प्रतिशत बढी हुनेछ । गत आवमा निर्यात जिडिपिएको ८.८३ प्रतिशत थियो । त्यस्तै, आयात जिडिपीको ३४.५२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत वर्ष ३३.७२ प्रतिशत र आर्थिक वर्ष २०८०÷८१ मा ३२.६२ प्रतिशत थियो । तीन वर्षको तथ्यांकले वस्तु तथा सेवा आयातमा परनिर्भरता बढ्दै जाँदा व्यापार घाटाको ग्राफ पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । 

रेमिट्यान्सको उच्च योगदान 
चालु आर्थिक वर्षमा जिडिपीमा वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सको योगदान ३३.०२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष २७.८० प्रतिशत रहेको योगदान चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५५.२२ प्रतिशत बढ्ने अनुमान रहेको तथ्यांक कार्यालयले जनाएको छ । यो योगदान आर्थिक वर्ष २०८०÷८१ मा २५.०९ प्रतिशत थियो । यस्तै, देशको कुल राष्ट्रिय बचत जिडिपीको ४४.७७ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्ष ३८.३९ प्रतिशत थियो । बचतमा देखिएको वृद्धिले अर्थतन्त्रमा वित्तीय संकलन क्षमता बढेको बुझिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्