नेभिगेशन
अर्थतन्त्र

‘पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिबारे आएका समाचार भ्रामक’

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले पछिल्ला दिनहरूमा पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिबारे केही सञ्चार माध्यममा प्रकाशित समाचारहरू भ्रामक भएको दाबी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एशोसिएशनले विज्ञप्तिमा जारी गरी विश्वभर नै पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै मूल्य र आपूर्तिका सम्बन्धमा आएका केही समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो ।
नेपाल आयल निगमले विक्रेता (डिसर्ल) को माग भन्दा करिब २५ प्रतिशत कम पेट्रोलियम पदार्थ दिइरहेको उल्लेख गर्दै एशोसिएशनले बिक्रेताले पनि सोही अनुसार उपभोक्तालाई वितरण गरिरहेको जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा निर्धारण हुने भएकाले यसमा पारदर्शिता रहने र सबै सरोकारवाला पक्षले सहजै जानकारी लिन सक्ने व्यवस्था रहेको पनि विज्ञप्तीमार्फत स्पष्ट गरिएको छ ।
केही सञ्चारमाध्यमले मूल्य घटबढको अवस्थालाई आधार बनाएर व्यवसायीले अनावश्यक रूपमा इन्धन कटौती गरेको जस्तो गरी भ्रामक समाचार प्रकाशन गरेको जनाउँदै एशोसिएशनको आपत्ति जनाएको छ । पेट्रोलियम व्यवसायीहरूले आफ्नो कारोबार सुरक्षित गर्न अन्तर्राष्ट्रिय बजार, कच्चा पदार्थको मूल्य तथा डलरको विनिमय दरलगायत पक्षहरूको विश्लेषण गर्नु सामान्य प्रक्रिया भएको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, अत्यावश्यक वस्तुको कारोबार गर्ने व्यवसायीहरूले मूल्य परिवर्तनको अनुमानका आधारमा उपभोक्तालाई असर पर्ने गरी आपूर्ति रोक्नु वा कटौती गर्नु गैरकानुनी हुने पनि एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनले बजारको माग र सार्वजनिक बिदामा हुने खपतलाई आधार मानी नियमित आपूर्ति व्यवस्थापन गर्नुपर्ने भन्दै व्यवसायीहरूलाई कारोबार यथावत राख्न आग्रह गरेको छ । एशोसिएशनले उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्