नेभिगेशन
अर्थतन्त्र

ग्रान्ड ब्युटी एण्ड बिजनेस एक्स्पो जेठ दोस्रो साता

भक्तपुर । भक्तपुरमा जेठ १३ र १४ गते हाटबजारसहित ग्रान्ड ब्युटी एण्ड बिजनेस एक्स्पो हुँदैछ । गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा हुने एक्स्पो अन्तर्राष्ट्रिय स्तरको रहने आयोजक युथ इको नेपालले पत्रकार सम्मेलनमार्फत जनाएको छ । 
आयोजक संस्थाका अध्यक्ष आकाश गजुरेलले एक्स्पोको प्रमुख आकर्षणका रूपमा भारतका चर्चित हेयर आर्टिस्ट जावेद हबिबको विशेष उपस्थिति र प्रशिक्षण रहने बताएका छन् । त्यस्तै, म्याक अब्राहेम, रोहित तिवारी तथा नेपालका लोकप्रिय कलाकार चिरागको समेत सहभागिता रहने अध्यक्ष गजुरेलले जानकारी गराए । उनीहरु सबै शृंगार क्षेत्रका सेलिब्रेटी भएका उनले बताए ।
सो अवसरमा सयवटा स्टल राखेर हाटबजार बनाइने र व्यवसाय प्रवर्धन गरिने जर्मन होम्स हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत राजन कार्कीले बताएका छन् । सौन्दर्य कला, साजसज्जा तथा भक्तपुरको मौलिक पहिचानको विकास र प्रवर्धनमा कार्यक्रम हाटबजार केन्द्रित रहनेछ । संस्थाका संरक्षक नरेश रञ्जितले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सौन्दर्यकर्मीहरुको प्रशिक्षण र प्रयोगात्मक कक्षाले सहभागीहरुमा ज्ञान र सीप अभिवृद्धि हुने तथा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालको सौन्दर्य तथा साजसज्जा क्षेत्रमा कार्यरत पेशाकर्मी, व्यवसायी, कलाकार र यसप्रति रुचि राख्नेहरुलाई लक्षित गरी एक्स्पो आयोजना गरिएको र यसमा २ हजार जनाले प्रत्यक्ष रुपले दुईदिने कार्यशालामा सहभागिता जनाउने आयोजकको भनाइ छ । प्रदर्शनी करिब १० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । खल्ती एपमार्फत सहभागिता अग्रिम सुनिश्चित गर्न सकिने आयोजकले जानकारी दिएको छ ।
आयोजक युथ इको नेपालले साउनमा सबैभन्दा बढी सहभागीसहित सौन्दर्य कार्यशाला सम्पन्न गरी एसियन रेकर्ड पनि बनाइसकेको छ । यो विभिन्न क्षेत्रमा आबद्ध युवा सम्मिलित गैरनाफामुखी संस्था हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्