नेभिगेशन
अर्थतन्त्र
एमसीसी कम्प्याक्ट आयोजना

अघि बढ्यो धानखोला–लमही सडक खण्ड स्तरोन्नति

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धानखोला–लमही सडक खण्डको स्तरोन्नति सुरु भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले बुधबार औपचारिक कार्यक्रम गरी ४० किलोमिटर लामो यो सडक खण्डको औपचारिकरूपमा स्तरोन्नति गर्न आरम्भ गरिएको हो ।
यस सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक गुणस्तर, टिकाउपना र दिगोपनाको दृष्टिकोणबाट निकै लाभदायी अत्याधुनिक निर्माण प्रविधि फुल डेप्थ रिक्लेमेशन र सुपरपेभ आस्फाल्ट प्रयोग गर्न लागिएको एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए । बलियो एवं टिकाउ सडक निर्माण गरेर पहिल्यै भएका आस्फाल्ट पदार्थ पुनः प्रयोग गरेर तथा वातावरणीय प्रभाव न्यूनीकरण गरेर यस पद्धतिले सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालका लागि थप भरपर्दाे तथा लागत प्रभावकारी बनाउन सहयोग गर्ने उनको भनाइ छ । 
‘धानखोला–लमही सडक खण्ड स्तरोन्नति कार्यको थालनी एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका सन्दर्भमा महत्त्वपूर्ण कदम हो,’ उनले भने, ‘एमसिए–नेपाल यो सडक स्तरोन्नति आयोजना प्रभावकारी रूपमा निर्माण सम्पन्न गर्न प्रतिबद्ध छ ।’ उनले एमसीसी र सरकार तथा आयोजनासँग सम्बन्धित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागको निरन्तरको पहलले नै यो सडक स्तरोन्नति आयोजना कार्यान्वयनको चरणमा पुगेको बताए । 
आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर यस सडकलाई १२ मिटर चौडा पनि बनाउनेछ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्तरोन्नति कार्यमा एफडीआर तथा सुपरपेभ जस्ता अत्याधुनिक प्रविधि प्रयोगले सडकको राम्रो गुणस्तर र टिकाउपना सुनिश्चित गर्ने बताए ।
‘यो राजमार्गमा हरेक दिन निर्भर रहेको हाम्रो प्रदेश र यहाँका जनताका लागि यो एउटा महत्त्वपूर्ण अग्रगामी कदम हो,’ उनले भने, ‘यो सडक खण्डको स्तरोन्नतिले यात्रालाई थप सुरक्षित र भरपर्दाे बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूका लागि नयाँ अवसरहरू पनि सिर्जना गर्नेछ ।’
यस्तै, नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले धानखोला–लमही सडक खण्ड स्तरोन्नति कार्यको आरम्भ हुनुले अमेरिका तथा नेपालबीचको साझेदारीका सन्दर्भमा एउटा महत्त्वपूर्ण कोसेढुंगा भएको बताए । ‘हामी एमसीसी नेपाल कम्प्याक्टमार्फत ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायहरूलाई बजार र अवसरहरूसँग जोड्ने उच्च गुणस्तरका दिगो पूर्वाधारमा निर्माणमा हामीले लगानी गर्दैछौँ,’ उनले भने, ‘यो सडक आयोजनाले नेपालको भविष्यप्रति हाम्रो विश्वास र दिगो आर्थिक वृद्धिका लागि हाम्रो संयुक्त निष्ठालाई प्रतिविम्बित गर्छ ।’
यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशीलबाबु ढकालले एमसिए–नेपालको लगानी सरकारको योजना तथा कार्यक्रमका पूरकका रूपमा तयार गरिएको र अहिले कार्यान्वयनमा गएको बताए । उनले अमेरिकासँगको यो सहकार्यले सबल पूर्वाधार निर्माण र समुदायहरूका लागि आर्थिक अवसर विस्तारप्रति नेपालको साझा प्रतिबद्धता प्रतिविम्बित गरेको बताए । ‘यो सडक स्तरोन्नति आयोजनामा संलग्न सबैको प्रयासप्रति म सराहना व्यक्त गर्न चाहन्छु र यस महत्त्वपूर्ण आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्छु,’ उनले भने ।
यस्तै, एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले ४० किलोमिटर सडक स्तरोन्नति गर्न आरम्भ गरिएको महत्त्वपूर्ण कदमले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने अत्याधुनिक प्रविधिहरू प्रयोग गरेर सबल एवं लागत प्रभावकारी पूर्वाधार निर्माणमा नेपाललाई सघाउने बताए । 
यो सडक आयोजना स्तरोन्नति गरी सञ्चालन गर्न  ५ करोड ४९ लाख अमेरिकी डलर लगानी भइरहेको छ । एमसीसी कम्प्याक्टअन्तर्गत यो सडक आयोजना स्तरोन्नतिसँगै ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन आयोजना पनि निर्माण हुँदैछ । प्रसारण लाइन आयोजनाअन्तर्गत सबै खण्डको ठेक्का लागिसकेको छ भने बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन खण्डको निर्माण पनि सुरु भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्