नेभिगेशन
अर्थतन्त्र

नेपाल उत्कृष्ट वेडिङ डेस्टिनेसन

काठमाडौं । पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्धन अभियानलाई तीव्रता दिएको छ । सोही रणनीतिअनुसार भारतको नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा प्रवर्धन गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) ले नयाँ दिल्लीमा भारतका लागि नेपाली दूतावाससँगको सहकार्यमा ‘नेपाल डेस्टिनेसन वेडिङ एन्ड ओटिएज कनेक्ट’ कार्यक्रम आयोजना गरेको हो । वैशाख १५ र १६ मा आयोजित दुईदिने कार्यक्रममा नेपाल र भारतका पर्यटन तथा वेडिङ इन्डस्ट्रीका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममार्फत नेपाललाई सांस्कृतिक समृद्धि, प्राकृतिक सौन्दर्य र परम्परागत वैवाहिक संस्कारको अद्वितीय संयोजन भएको ‘ड्रिम वेडिङ डेस्टिनेसन’का रूपमा स्थापित गर्ने प्रयास गरिएको छ । कार्यक्रममा २१ नेपाली प्रतिष्ठित कम्पनी र ४५ वटा भारतीय वेडिङ प्लानरहरुको सक्रिय सहभागिता थियो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले वैवाहिक पर्यटन नेपालका लागि उच्च सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गरे । त्यस्तै होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले नेपाल र भारतबीचको सहकार्यले वैवाहिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्