नेभिगेशन
अर्थतन्त्र

चन्द्र ढकालको अग्रसरतामा महासंघको एसोसिएट्सतर्फ ज्योत्सना टिम घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्तर्फतका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले टिम घोषणा गरेकी छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अग्रसरतामा ज्योत्सनाले बुधबार टिम घोषणा गरेकी हुन् ।
महासंघका अध्यक्ष ढकालको बलियो साथ पाएको आफ्नो समूहको जित निश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताइन् । नेपालको अहिलेको आर्थिक र व्यापारिक परिवेश एक चुनौतीपूर्ण अवस्थामा रहेको जानकारी दिँदै उनले यस समयमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन् ।
‘हामी सबै एकजुट भएर काम गरेमात्र मुलुकको व्यावसायिक वातावरणमा सुधार ल्याउन र प्रगति गर्न सक्छौँ,’ उनले भनिन्, ‘हामी व्यवसायी अहिले केही कठिन घडीबाट गुज्रिरहेका छौँ । मुलुकमा नयाँ सरकार बनेको छ र यसले केही सकारात्मक कदमहरु पनि चालेको छ । आशा छ पक्कै पनि देशले आर्थिक गति लिनेछ ।’
तर, अझै अघि बढ्नका लागि सबै निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको श्रेष्ठले बताइन् । ‘निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मुख्य इन्जिन हो भन्ने कुरा राज्यले महसुस गर्नुपर्छ,’ उनले भनिन्, ‘मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशतभन्दा धेरै, रोजगारीमा ८६ प्रतिशत र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्छ । यी विषय राज्यले हरेक नीति नियम तथा कानुन निर्माण गर्दा मनन गर्नुपर्छ ।’
राज्यले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्दामात्र मुलुकको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्नेमा अहिले केही व्यवसायीलाई गिरफ्तार गरिएको घटनाले गम्भीर बनाएको श्रेष्ठले बताइन् । ‘हामी सरकारलाई अपिल गर्छौं कि कुनै पनि व्यवसायीलाई आरोपको आधारमा मात्र थुन्ने काम रोकियोस्,’ उनले भनिन्, ‘व्यवसायीले आफ्नो व्यवसायको माध्यमबाट वस्तु उत्पादन, सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्व संकलन गर्दै राष्ट्रलाई सहयोग गर्दै आएका छन् । एक जना व्यवसायी हजारौँ व्यक्तिको रोजगारी र धेरै वस्तु तथा सेवाको उत्पादन–प्रवाहसँग जोडिएको हुन्छ । तसर्थ, कुनै आरोपको आधारमा मात्र व्यवसायीलाई थुन्ने निर्णय गर्न हुँदैन ।’
अनुसन्धान पूरा गरेर दोषी ठहरिएमा कारबाही गर्नुपर्ने उनले स्पष्ट पारिन् । श्रेष्ठले त्यसो गर्दा आफूहरुलाई कुनै आपत्ति नरहने र मुलुकमा सुरक्षित तथा स्थिर लगानीको वातावरण रहेको सन्देश जाने बताइन् । व्यवसायीहरुले ढुक्कसँग व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण भएमात्र लगानी विस्तार हुने उनको तर्क छ ।
कार्यक्रममा महासंघ अध्यक्ष ढकालले ज्योत्सना श्रेष्ठ समूहलाई पूर्ण साथ र सहयोग रहेको बताए । देशका हरेक क्षेत्रमा योगदान दिने निजी क्षेत्रको योगदानलाई सरकारले महत्वपूर्ण स्थान दिनुपर्नेमा उनले जोड दिए । श्रेष्ठ नेतृत्वमा आउने नयाँ टिमले महासंघका अधुरा कामलाई पूरा गर्नुपर्ने ढकालले बताए । ‘अहिलेको सरकारले प्राइभेट सेक्टर प्रोटेक्सन प्लानलाई कार्यान्वयनमा ल्याएको छ, त्यसलाई तदारुकताका साथ अघि बढाउनुपर्छ,’ उनले भने, ‘म सर्वसम्मतको पक्षमा भए पनि अन्ततः चुनावी प्रक्रियामा प्रवेश गरिसकेकाले महासंघको आसन्न निर्वाचनमा श्रेष्ठ समूहलाई जितको शुभकामना दिन्छु ।’
कार्यक्रममा आफ्नो समूहका बारेमा जानकारी दिँदै सचिन ढकालले निजी क्षेत्र र सरकारबीच सहकार्य गर्दै नीतिगत रुपमा काम गर्न श्रेष्ठ टिम महासंघको चुनावमा टिमसहित आएको जानकारी दिए । ‘श्रेष्ठको टिमलाई जिताउनु भनेको व्यक्तिलाई जिताउनु मात्रै होइन, निजी क्षेत्रको हकहितमा काम गर्नका लागि हो,’ ढकालले भने, ‘अबका दिनमा देशमा उद्याग व्यवसाय गर्ने वातावरण निर्माण गर्न जरुरी छ ।’

ज्योत्सना श्रेष्ठ समूहमा पुराना खारिएका र नयाँ युवा रहेकाले महासंघलाई अझ नयाँ तरिकाबाट अघि बढाउन सक्ने महासंघका पूर्व कोषाध्यक्ष शशिकान्त अग्रवालले बताए ।
कार्यक्रममा महासंघका पूर्वकोषाध्यक्ष ज्ञानेन्द्रलाल श्रेष्ठले ज्योसना श्रेष्ठ समूहले उद्योगी व्यवसायीको हितमा काम गर्न सक्ने भन्दै जितको शुभकामना दिए । नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले अहिलेको अवस्थामा उद्योगी व्यवसायीको संघसंस्था बचाउनु नै चुनौतीपूर्ण बनेको बताए । साथै, व्यवसायीको हकहितमा काम गर्ने महासंघ बनाउनका लागि पनि ज्योत्सना समूहलाई जिताउनुपर्ने उनले स्पष्ट पारे ।
कार्यक्रममा महासंघका पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीलाई बचाउँदै नीतिगत सुधारका लागि काम गर्नुपर्ने बताए । महासंघका पूर्वअध्यक्ष एवं सार्क चेम्बर अफ कमर्सका अध्यक्ष चण्डीराज ढकालले ज्योत्सना श्रेष्ठ नेपाली उद्योग व्यवसाय र चेम्बर मुभमेन्ट बुझेको व्यवसायी रहेको बताए । उनको नेतृत्वमा महासंघले व्यवसायीको हकहितमा काम गर्न सक्ने ढकालले बताए । साथै, व्यवसायी हकहितका लागि पनि यो समूहको जित आवश्यक रहेको उनले जिकिर गरे ।
यसैगरी महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले महासंघमा अब उद्योगी व्यवसायीको हकहितमा काम गर्ने सशक्त समूहलाई जिताउन आवश्यक रहेको बताए । पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले अहिले नेपाली निजी क्षेत्रका लागि कठिन कालखण्ड रहेको जनाए । ‘अब निर्वाचित भएर आउने यस समूहले उद्योगी व्यवसायीको हकहितमा काम गर्नुपर्छ,’ उनले भने ।
यस्तै महासंघ वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले यसअघि महासंघको उपाध्यक्ष रहेर उद्योगी व्यवसायीको हितमा कुशलतापूर्वक काम गरेकाले अहिलेको अवस्थामा पुनः उनको नेतृत्व आवश्यकता औंल्याए । सबै क्षेत्रलाई समेटेर अघि बढेकाले ज्योत्सना टिमलाई जिताउनुपर्ने उनले बताए । ‘नेपालको उद्योग व्यवसाय असाधारण अवस्थाबाट गुज्रिरहेको छ,’ उनले भने, ‘अबका दिनमा सरकारसँग नीतिगत पहल गर्नुपर्छ ।’ महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई अनुसन्धानकै लागि थुनामा राख्दा उद्योगी व्यवसायीको मनोबल गिरेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्