नेभिगेशन
राजनीति

ट्रम्पका विशेष दूतलाई किन दिएनन् प्रधानमन्त्री शाहले भेट ?

काठमाडौं । विदेशी दूतहरु काठमाडौं अवतरणकै दिन नेपालका सरकार जिम्मेवार व्यक्तित्वहरु सबैजसोलाई भेट्ने परम्पराजस्तै छ । तर, यसपटक कूटनीति परिदृश्यमा नौलो घटना चर्चामा छ । प्रधानमन्त्री वालेन्द्र शाहले  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरलाई भेट्न समय दिएनन् । स्रोतका अनुसार शाहको सचिवालयले कूटनीतिक भेटको व्यवस्थापन नगर्न ‘व्यस्त’ रहेको जनाउ दिँदै समय नमिलाएको हो । 
विशेष दूत गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले लेखेका छन्, ‘नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश छ । उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन् ।’ तीनदिने भ्रमणका लागि ट्रम्पका दूतका रुपमा उनी  बिहीबार साँझ काठमाडौं आएका थिए । उनले नेपालमा रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए । उक्त भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी, लगानी र व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको थियो । 
गोरले भेट्न खोजे पनि प्रधानमन्त्री शाहले आफ्नो व्यस्तता र हाल आन्तरिक सुशासनका काममा बढी केन्द्रित हुनुपर्ने भएकाले समय नमिलेको उनको सचिवालयले जनाएको छ । शाह प्रधानमन्त्री भएयता कूटनीतिक नियोग प्रमुखहरुसँग पनि भेटघाट सीमित राखेका छन् । उनले ‘प्रोटोकोल’ भन्दै दुरी बनाउँदा विदेशी दूतहरुको नेपाल आगमन पातलिएको छ । यसअघि वैशाख ८ गते शाहले विभिन्न देशका राजदूतहरूलाई व्यक्तिगत रूपमा भेट्नुको सट्टा सामूहिक रूपमा भेटेका थिए । 
विगतमा नेपाल भ्रमणमा आउने अधिकांश विदेशी कूटनीतिज्ञले प्रधानमन्त्रीसहित शीर्ष राजनीतिक नेताहरूसँग भेट्ने गरेका थिए । गोर ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पका सहयोगी तथा ह्वाइट हाउस प्रेसिडेन्टल पर्सनल अफिस (पीपीओ) का निर्देशक समेत भइसकेका कूटनीतिज्ञ हुन् । दक्षिण एसियाली देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग उच्चस्तरीय भेट गरिसकेका गोर नेपालमा भने प्रधानमन्त्री शाहलाई नभेटिकनै फर्किए । 
कूटनीतिक मामलाका जानकार विजयकान्त कर्णले गोरसँग नेपालको प्रधानमन्त्रीले भेट गरेको भए राम्रो हुने बताउँछन् । ‘राष्ट्रपति ट्रम्पको विशेष दूत भएको नाताले यस्तो बेलामा प्रधानमन्त्रीज्यूले भेट गरेको भए राम्रो हुन्थ्यो,’ पूर्वराजदूत समेत रहेका उनले भने,‘हाम्रो अन्तर्राष्ट्रिय राजनीतिमा जुन हैसियत छ त्यो हामीले बुझ्नुपर्छ । हामा मित्र राष्ट्रहरु अमेरिका, भारत, चीन, युरोपियन यूनियनलगायतका देशहरुलाई प्रधानमन्त्रीज्यूले नै भेटेर प्रभाव पार्नुपर्छ । अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन प्रधानमन्त्री आफैं सक्रिय हुनुपर्छ ।’ उनले अहिले प्रधानमन्त्रीले आन्तरिक र त्यसपछि अन्तर्राष्ट्रिय मामलामा ध्यान दिन लाग्नुभएको होला भन्दै आगामी दिनमा प्रधानमन्त्री शाह आफै अन्तर्राष्ट्रिय मामलामा पनि सक्रिय हुने विश्वास व्यक्त गरे । 
प्रधानमन्त्री शाह कुनै पनि देशका राजदूत र कनिष्ठ अधिकारीसँग नभेट्ने अडानमा रहेको उनी निकट स्रोत बताउँछ । प्रधानमन्त्री शाहले विदेशी मुलुकबाट आउने मन्त्री वा त्यसभन्दा माथिल्ला अधिकारीहरूसँग मात्रै भेट गर्ने मानक स्थापित गर्न चाहेका छन् । तर, कर्ण नेपाललाई अहिले आर्थिक सहायता, रोजगारी सिर्जनाजस्ता विषयका लागि अन्तर्राष्ट्रिय समर्थन आवश्यक रहेकाले परराष्ट्रमन्त्री मात्रै सक्रिय भएर नपुग्ने  र प्रधानमन्त्रीकै सक्रियता आवश्यक पर्ने ठान्छन् । 
कूटनीतिक मामलाका जानकारमध्येका डीबी सुनार भने प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछाने र अमेरिकासँग नजिक मानिने अर्थमन्त्री वाग्लेसँग भेट गराएर ‘चेक एण्ड ब्यालेन्स’ रुपमा आफूलाई प्रस्तुत गरेको बताउँछन् । ‘११ हजार माइलको दुरीमा रहेपनि सन् १९५० देखि अमेरिका नेपालको विकास साझेदारका रुपमा छ । संयुक्त राष्ट्रसंघमा पनि अमेरिकाले नेपाललाई विभिन्न मुद्दामा साथ दिँदै आएको छ,’ उनले भने,‘प्रधानमन्त्रीले सौहार्दपूर्ण भेट गरेको भए राम्रो हुन्थ्यो । तर, उहाँले बठ्याइपूर्ण रुपमा अमेरिकी लबी नजिक मानिने अर्थमन्त्री वाग्ले र पार्टी सभापति लामिछानेसँग आफ्नो प्रतिनिधिका रुपमा भेट गराएको देखिन्छ ।’ प्रधानमन्त्री शाहले शक्तिशाली जनमत आफूसँग भएकाले त्यसको ओज राख्नका लागि प्रोटोकलको ख्याल गरेको रुपमा सुनार व्याख्या गर्छन् । सन् ०१४ पछिको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकोजस्तै शैली अहिले शाहमा देखिएको उनले बताए । 
राष्ट्रपति ट्रम्पका विशेष दूतको हैसियतमा गोरले बंगलादेशको अन्तरिम मन्त्रिपरिषद्का पूर्वमुख्य सल्लाहकार मोहम्मद युनुससँग पटक–पटक भेट गरिसकेका छन् । उनले मार्चको दोस्रो साता भुटान भ्रमण गर्दै त्यहाँका राजा जिग्मे खेसर नाम्ग्याल र प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेट गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्