नेभिगेशन
अर्थतन्त्र

रोयल टुलिप चितवनले आइपीओ ल्याउने

काठमाडौं । चितवनको सौराहास्थित पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवनको सञ्चालक केटीएम हस्पिटालिटी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित १५ करोड ५० लाख रुपैयाँ बराबरको कुल १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्ने योजना छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । 
आइपीओ जारी गर्न गराइएको मूल्यांकनमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीले चितवनको सौराहामा १ अर्ब ७० करोड ५ लाख रुपैयाँको लागतमा रिसोर्ट निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ ।  आइपीओ निष्कासनसँगै यो आयोजनामा ऋण र स्वपुँजीको अनुपात ६१.५ ः ३८.५ रहनेछ । अर्थात परियोजनामा बैंक ऋणको हिस्सा अझै बढी रहने देखिएपनि कम्पनीले स्वपुँजीको अनुपात बढाउदै लगेको देखिन्छ । कम्पनीले सन २०२५ को साउन देखि सफ्ट ओपनिङ र असोज मध्यदेखि पूर्ण रूपमा रिसोर्ट सञ्चालनमा ल्याएको हो ।
केटीएम हस्पिटालिटी सुरुमा प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको थियो । तर, २०८१ असार २५ गते यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीले आफ्नो परियोजनाको पूँजीगत संरचनालाई थप मजबुत बनाउन, बैंकको ऋण भार कम गर्न र सर्वसाधारणलाई समेत लगानीमा सहभागी गराउन आईपिओ जारी गर्न लागेको जनाएको छ । होटल उद्योगमा ‘जेस्टेसन पिरियड’ (लगानी फिर्ता हुन लाग्ने समय) लामो हुने भएकाले दीर्घकालीन पूँजी जुटाउन आईपिओ एक महत्वपूर्ण माध्यम बन्ने रिपोर्टमा उल्लेख छ । 
यो कम्पनीको नेतृत्व अनुभवी व्यवसायी रामेश्वर शाहले गरिरहेका छन् । शाह केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत  हुन् । रिसोर्ट सञ्चालनका लागि कम्पनीले फ्रान्सेली होटल चेन लुभ्र होटल्स् ग्रुप अन्तर्गतको रोयल टुलिप ब्रान्डसँग व्यवस्थापकीय सम्झौतामा चलिरहेको छ ।  चितवनको राप्ती नदी र कुमरोज सामुदायिक वनको आडमा ४.१२ एकड क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा आधुनिक कोठाहरू छन् । रिसोर्टमा रेस्टुरेन्ट, जिम, हेल्थ क्लब, स्विमिङ पुल र हेलिप्याड जस्ता सुविधाहरू छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्