नेभिगेशन
मनोरञ्जन

लोकभजन संरक्षण र पुस्तान्तरणमा सक्रिय हुँदै व्यास नगरपालिका

लोकभजन संरक्षण गर्दै पुस्तान्तरणमा व्यास नगरपालिका अग्रसर भएको छ । परम्परागत संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले नियमित भजन प्रतियोगिता, सांस्कृतिक उत्सवलगायत कार्यक्रममा नगरपालिका सक्रिय भएको हो । 
पछिल्लो समय आधुनिकतासँगै मौलिक भजन–कीर्तन हराउँदै लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले नगरपालिकाले यस क्षेत्रमा विशेष पहल थालेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । नगरपालिकाले विभिन्न वडामा भजन समूहको पहिचान गर्न प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको बताउँदै उनले प्रतियोगिताले भजन समूह बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । 
‘स्थानीय अग्रज, भजन गायक तथा संस्कृतिकर्मीको सहयोगमा पुराना भजन, तिनका धुन र शैली सङ्कलन गर्न यसले मद्दत पुग्नेछ । साथै, युवा पुस्तालाई भजन सिकाउने सहयोग सिद्ध हुनेछ,’ नगरप्रमुख न्यौपानेले भने, ‘लोकभजन हाम्रो सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश हो । यसलाई जोगाउनु र नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।’
    नियमित भजन प्रतियोगिता, सांस्कृतिक उत्सव तथा अन्तर पुस्ता संवाद कार्यक्रम आयोजना गरी संस्कृतिको संरक्षण गर्नुपर्ने अवस्था आएको व्यास प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले बताए । यसले वृद्ध र युवा पुस्ताबीच सांस्कृतिक आदानप्रदान बढाउन मद्दत पुगेको उनको भनाइ छ । 
    स्थानीय भजन समूहले नगरपालिकाको पहललाई सकारात्मक रूपमा लिएका छन् । स्थानीयका अनुसार यस अभियानले हराउँदै गइरहेको परम्परालाई पुनर्जीवित गर्न सहयोग पुग्नेछ । व्यास नगरपालिकाको यो कदमले अन्य स्थानीय तहलाई समेत आफ्नो मौलिक संस्कृति संरक्षणमा प्रेरणा दिने अपेक्षा गरिएको छ ।
    पराशर आश्रम संरक्षण समितिको आयोजना र व्यास नगरपालिकाको सहयोगमा आज दमौलीमा भजन प्रतियोगिता सञ्चालन भएको छ । प्रतियोगितामा व्यास–५ स्थित जलेश्वर संकिर्तन समूह प्रथम भएको छ । व्यास ज्योति धर्म जागरण भजनकीर्तन समूह द्वितीय, आदिकवि भानुभक्त क्याम्पस तृतीय र नव आदर्श आमा समूह सान्त्वना भएका छन् । विजेता समूहलाई क्रमशः रु १५ हजार, रु १० हजार, रु पाँच हजार र रु दुई हजार पुरस्कार प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन