नेभिगेशन
प्रदेश

रारामा साइकल लेन निर्माण अघि सुस्त

मुगु । राराताल वरिपरि निर्माणाधीन साइकल लेन तथा पर्यटकीय पदमार्गको काममा ठेक्काको समयावधि गुज्रिन लाग्यो, भौतिक प्रगति आधा पनि छैन । काम अति सुस्त गतिमा रहँदा योजना अलपत्र अवस्थामा छ । सम्झौताअनुसार कामले गति लिएको भए अहिले रारा पुगेका साइकलयात्रीले सहज रूपमा तालको फन्को लगाउन सक्ने अवस्था हुन्थ्यो । 
रारा पर्यटकीय पूर्वाधार निर्माण योजना अन्तर्गत निर्माणाधीन साइकल लेन तथा पदमार्ग आयोजनाको ठेक्का अवधि सकिन अब दुई महिना मात्र बाँकी छ । तर आयोजनाको भौतिक प्रगति ४२ प्रतिशतमा सीमित छ । निर्माण कम्पनीले अहिलेसम्मा १२ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । पछिल्लो ६ महिनायता निर्माण कार्य लगभग ठप्प बनेपछि आयोजना थप अन्योलमा  छ ।
संघ सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७८÷७९ मा ४६ करोड ४२ लाख रुपैयाँमा खानी थोदुङ क्याराभान कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । राराताल वरिपरि १४ किलोमिटर साइकल लेन र पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यका साथ २०७९ असार २४ गतेदेखि काम सुरु भए पनि हाल योजनाको अवस्था सन्तोषजनक छैन । निर्माण कम्पनीसँग भएको इपीजीको म्याद समेत सकिएको बताइएको छ ।
डिभिजन वन कार्यालयका अनुसार निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न पटक–पटक मौखिक तथा लिखित रूपमा निर्देशन दिइएको छ । जिल्लाका सरोकारवाला निकायले समेत आयोजना स्थलमा अनुगमन गरेका छन् । मन्त्रालयसम्म पत्राचार गरिए पनि निर्माण कार्यले गति लिन सकेको छैन । आयोजनाको जिम्मेवारी लिएको कम्पनीका सञ्चालक चन्द्र थकाली हुन् । 
स्थानीय जनप्रतिनिधिहरूले निर्माणको गुणस्तरप्रति पनि प्रश्न उठाएका छन् । छायाँनाथ रारा–९ का वडाध्यक्ष बिर्खबहादुर रोकायाले केही स्थानमा गुणस्तरहीन निर्माण भएकाले संंयुक्त अनुगमनका क्रममा भत्काउनुपरेको बताउँछन् । उनका अनुसार निर्माण अधुरो हुँदा पर्यटक दुर्घटनामा पर्ने र चोटपटक लाग्ने अवस्था स्थिति बनेको छ ।
कर्णाली प्रदेशसभा सदस्य मंगलबहादुर शाहीले यो प्रदेशको गौरवको योजना भए पनि अपेक्षित गतिमा काम नभएको बताए । उनले डिभिजन वन कार्यालयसँग दक्ष जनशक्ति अभाव र निर्माण कम्पनीको लापरवाहीका कारण समस्या बढेको उल्लेख गरे । आयोजना समयमै सम्पन्न गराउन प्रदेश सरकार, मन्त्रालय र सरोकारवाला निकायबीच छलफल भइरहेको उनले बताए ।
यता निर्माण कम्पनीका प्रतिनिधि खड्क तामाङले भने कार्यालयबाट भुक्तानी नपाउँदा काम प्रभावित भएको दाबी गरेका छन् । कम्पनीले सम्झौताअनुसार सकेका काम पनि भुक्तानी नहुँदा कामदार र निर्माण सामग्री आपूर्तिकर्तालाई भुक्तानी दिन समस्या परेको उनको भनाइ छ । केही समयका लागि काम रोकिएको उनले स्वीकारे ।
रारामा पर्यटकीय पूर्वाधार निर्माणमा पटक–पटक बजेट विनियोजन भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित संरचना निर्माण हुन सकेको छैन । नियमनकारी निकायको उदासीनता र निर्माण कम्पनीको ढिलासुस्तीले प्रदेशकै महŒवपूर्ण पर्यटन आयोजना प्रभावित बनेको स्थानीयको गुनासो छ । आयोजना समयमै सम्पन्न भए रारामा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भ्रमण अनुभव उपलब्ध हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्