नेभिगेशन
विश्व

ससारकै सुन्दर ‘तानाशाह’

साल्भाडोर, (बीबीसी) । ४४ वर्षीय नायिब बुकेलेले विश्वकै उच्च कारावास दरको कीर्तिमान बनाएका छन् । उनले राष्ट्रपति कार्यकालको सीमा पनि हटाएका छन् । सबैको चासो छ, अब उनी कहाँ पुग्छन् ?
मार्च २५, २०२२ मा, एल साल्भाडोरभरिका सयौँ मोबाइल फोनमा एउटै सन्देश आयो, ‘अडेलान्ते’ (अगाडि बढ) । यो आदेश कुख्यात गिरोह मारा साल्भाट्रुचा (एमएस १३) का सदस्यलाई तह लगाउनका लागि थियो । त्यसको भोलिपल्ट, उनीहरूले देशभर गोली चलाउँदै ६२ जनाको हत्या गरे । सन् १९८० को दशकको गृहयुद्धपछि यो सबैभन्दा रक्तपातपूर्ण दिन बन्यो । केही दिनमै मृतक संख्या ८७ पुग्यो ।
यो हिंसा योजनाबद्ध थियो । एउटा शव ‘सर्फ सिटी’ जाने सडकमा फालिएको थियो । यो पर्यटन विकासका लागि बुकेलेको महŒवाकांक्षी योजना थियो । हामीलाई दबाउन खोज्यौ भने यस्तै हुन्छ भन्ने सन्देश दिन खोजिएको थियो ।
राष्ट्रपति बुकेलेको प्रतिक्रिया तुरुन्त आयो । संसद्ले आपतकालीन अवस्था घोषणा ग¥यो । संविधानिक अधिकारहरू स्थगित गरिए । संदिग्ध गिरोह सदस्यहरू अनिश्चितकालका लागि जेलमा हालिए । तीमध्ये केही त केही बालबालिका समेत थिए । सैनिकहरू सडकमा उत्रिए, बस रोकेर पुरुष यात्रुहरूलाई ट्याटु जाँच गर्न बाध्य पारियो ।
दुई साताभित्र १० हजारभन्दा बढी मानिस पक्राउ परे । २०२६ सम्म आइपुग्दा, देशको करिब १.९ प्रतिशत जनसंख्या अर्थात् हरेक ५० जनामध्ये एक जना कारागारमा थियो । यो विश्वकै उच्च दर बन्न पुग्यो । यसले मानवअधिकार उल्लंघनबारे गम्भीर चिन्ता जन्मायो । केही अध्ययनहरूले यसलाई मानवताविरुद्धको अपराधसम्म भनेका छन् । स्वयं बुकेलेले पनि हजारौँ निर्दोष पक्राउ परेको स्वीकारेका छन् । आपतकालीन अवस्था चार वर्षसम्म लम्बिएको छ ।
तर धेरै साल्भाडोरियनहरू खुसी छन् । सन् २०२६ को सुरुवातमा गरिएको सर्वेक्षण अनुसार, बुकेलेको लोकप्रियता ९२ प्रतिशत छ । केही वर्षमै देश उच्च हत्या दरबाट सुरक्षित राष्ट्रमा रूपान्तरण भएको छ । अब मानिसहरू राति हिँड्न डराउँदैनन् ।
कसैका लागि, यो ‘तानाशाही’ भन्दा मुक्ति हो । तर आलोचकहरू भन्छन्, बुकेलेले लोकतन्त्रलाई कमजोर बनाउँदैछन् । पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाजका सदस्यहरूले दबाब, निर्वासन र गिरफ्तारीको सामना गर्नुपरेको छ । राष्ट्रपति पदको कार्यकाल सीमा हटाइएको छ, जसले उनलाई अनिश्चितकालसम्म सत्तामा रहन सम्भव बनाएको छ ।
बुकेलेको छवि भने फरक छ । सुट–टाइभन्दा उनी बेसबल क्याप र बम्बर ज्याकेटमा देखिने गर्छन् । सामाजिक सञ्जालमा सक्रिय उनी आफूलाई ‘विश्वकै सबैभन्दा कूल तानाशाह’ मान्छन् ।
सन् १९८१ मा राजधानी सान साल्भाडोरमा जन्मिएका बुकेले गृहयुद्धको समयमा सम्पन्न परिवारमा हुर्किए । उनका पिता व्यवसायी थिए र राजनीतिक रूपमा प्रभावशाली थिए । बुकेलेले कानून पढ्न थाले पनि पछि छाडे र पारिवारिक विज्ञापन व्यवसायमा लागे । पछि उनले नाइटक्लब सञ्चालन गरे ।
सन् २०११ मा उनी राजनीतिमा छिरे । कुश्काट्लानका मेयर बनेपछि उनले पूर्वाधार विकास र सार्वजनिक सेवामा सुधार ल्याए । यसले उनलाई लोकप्रिय बनायो । सुधारका लागि लिएको ऋण भने बढेको बढ्यै भयो । उनले लोकप्रियतालाई व्यक्तिगत ‘ब्रान्ड’ निर्माण गर्न खर्च गरे र उनी पार्टीभन्दा माथि उठे ।
सन् २०१५ मा सान साल्भाडोरका मेयर बनेपछि उनले ठूला परियोजनाहरू सुरु गरे तर प्रशासनिक प्रक्रिया र बजेट सीमालाई बेवास्ता गर्ने आरोप लाग्यो । त्यही समयमा देशमा आपराधिक गिरोहको हिंसा चरममा थियो ।
सन् २०१९ मा बुकेले राष्ट्रपति निर्वाचित भए । उनले युवा, आधुनिक र डिजिटल नेताको छवि बनाए । तर सत्ता सम्हालेपछि उनले संस्थाहरूमा आफ्ना समर्थकहरू राखे, सर्वोच्च अदालत पुनर्गठन गरे र आलोचकहरूलाई दबाउन थाले ।
२०२० मा उनले संसद्मा सैनिक पठाएर शक्ति प्रदर्शन गरे । यो घटनाले उनको अधिनायकवादी प्रवृत्तिको संकेत दियो । कोभिड–१९ को महामारीमा उनले कडा नियन्त्रण लगाए, सर्वोच्च अदालतको आदेश समेत बेवास्ता गरे ।
उनले संसारलाई नै आश्चर्यमा पार्दै बिटक्वाइनलाई कानूनी मुद्रा बनाउने प्रयास गरे । ‘बिटक्वाइन सिटी’ निर्माण गर्ने योजना ल्याइयो तर असफल भयो । जनताले विरोध गरे र सन् २०२५ सम्म यो योजना लगभग असफल बन्न पुग्यो ।
तर सबैभन्दा ठूलो मोड २०२२ को हिंसापछि आयो । त्यसपछि सुरु भएको कडा सुरक्षा अभियानले गिरोहहरूलाई सडकबाट निमिट्यान्न नै बनाइदियो । हत्या दर तीव्र रूपमा घट्यो । व्यापारमा गरिने अवैध असुलीसमाप्त भयो र जनजीवन सामान्य हुन थाल्यो ।
तर यसको मूल्य भने भारी छ । हजारौँ मानिस बिना प्रमाण पक्राउ परे । जेलहरू भीडभाडयुक्त छन् । यातना र दुव्र्यवहारका आरोप लागेका छन् । प्रेस स्वतन्त्रता घटेको छ, पत्रकारहरू धम्कीको सामना गरिरहेका छन् ।
बुकेलेका समर्थकहरू भन्छन्, कठोर उपाय आवश्यक थियो । आलोचकहरू चेतावनी दिँदै भन्छन्, ‘यो लोकतन्त्रको अन्त्य हुन सक्छ ।’
अहिले प्रश्न उठिरहेको छ कि के बुकेले सधैँका लागि शासन गर्न चाहिरहेका हुन् ? उनले शक्ति सुदृढ पारेका छन्, लोकप्रियता उच्च छ र विरोध यतिबेला कमजोर भइरहेको छ । एल साल्भाडोरमा सुरक्षा आएको त छ तर स्वतन्त्रता कति बाँकी छ भन्ने बहस भने जारी नै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्