नेभिगेशन
विश्व

युरोपबाट अमेरिकी सेना घटाउन सजिलो छ ?

लण्डन, (अल जजिरा) । इरान युद्धलाई लिएर बढ्दो ट्रान्स–एटलान्टिक तनावबीच, डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ अमेरिकी सैनिक घटाउने धम्की दिएका छन् ।
पछिल्ला ४८ घण्टामा ट्रम्पले जर्मनी, इटाली र स्पेनमा रहेका अमेरिकी सेना फिर्ता बोलाउने सम्भावना विचार गरिरहेको बताएका छन् । यस्तो हुनुमा इरान युद्धलाई ट्रम्पले सम्हाल्न नसकेको भन्दै यूरोपले गरेको आलोचनाले भूमिका खेलेको छ ।
यसै साता जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिका ‘इरानबाट अपमानित भइरहेको’ टिप्पणी गरेका थिए । उनले ट्रम्प प्रशासनसँग युद्ध अन्त्य गर्ने ‘विश्वसनीय रणनीति नभएको’ भन्दै आलोचना पनि गरेका थिए ।
जर्मनीको मार्सबर्गमा विद्यार्थीहरूसँग कुरा गर्दै मर्जले भने, ‘यो युद्धले हामीलाई ठूलो आर्थिक क्षति पु¥याइरहेको छ । इरानसँगको यो द्वन्द्वले हाम्रो अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको छ ।’
त्यसको प्रतिक्रिया स्वरूप ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखे, ‘मर्जलाई इरानसँग आणविक हतियार हुनु ठीक लाग्छ । उनलाई केही थाहा छैन ।’
त्यसपछि उनले अर्को सन्देश दिँदै जर्मनीमा रहेका अमेरिकी सैनिक घटाउने विषयमा ‘छिट्टै निर्णय हुने’ बताएका थिए । जब उनलाई इटाली र स्पेनबाट पनि सेना फिर्ता लिनेबारे सोधियो, उनले भने, ‘लिन पनि सकिन्छ... किन नलिने ? इटालीले हामीलाई सहयोग गरेको छैन, स्पेन त झन् खराब छ ।’
स्पेनले त एक कदम अघि बढेर चर्को आलोचना मात्र गरेको होइन कि इजरायलविरुद्ध पनि आफ्ना धारणा राखेको थियो ।
रिपोर्टअनुसार, ट्रम्पले आफ्ना सल्लाहकारहरूसँग युरोपबाट केही सेना हटाउने विषयमा छलफल गरिसकेका छन् । हाल जर्मनी, इटाली र स्पेनमा मात्र झण्डै ५३ हजार अमेरिकी सैनिक छन् ।
सन् २०२५ डिसेम्बरसम्म, अमेरिकाका करिब ६८ हजार सक्रिय सैनिक युरोपमा तैनाथ छन् । ती सैनिकहरू ३१ स्थायी आधार र १९ अन्य सैन्य स्थलहरूमा फैलिएका छन् । अमेरिकी युरोपेली कमाण्डले युरोपमा अमेरिकी सैन्य गतिविधि सञ्चालन गर्छ, जसले नेटो सहयोगीहरूसँग समन्वय गर्छ ।
जर्मनीमा सबैभन्दा ठूलो आधार रामस्टाइन हवाई अड्डा हो । यहाँ सन् १९५२ देखि सेना तैनाथ छन् । २०२५ सम्म आइपुग्दा ३६ हजारभन्दा बढी सैनिक रहेको बताइएको छ । बेलायतमा करिब १० हजार, इटालीमा १२ हजारभन्दा बढी र स्पेनमा करिब ३ हजार ८ सय सैनिक छन् । पोल्याण्ड र रोमानियामा स्थायीभन्दा बढी घुम्ती सेना राखिएको छ ।
युरोपमा कति सेना राख्ने भन्ने निर्णय सामान्यतया राष्ट्रपति र रक्षा मन्त्रालयले गर्छन् । तर अमेरिकी कंग्रेसले पनि महŒवपूर्ण भूमिका खेल्छ । उसले कानूनी प्रावधान र बजेट नियन्त्रणमार्फत ठूलो मात्रामा सेना फिर्ता गर्ने निर्णय रोक्न सक्छ ।
सन् २०२० मा ट्रम्पले जर्मनीबाट १२ हजार सैनिक हटाउने घोषणा गरेका थिए तर कंग्रेसले विरोध ग¥यो र पछि जो बाइडेनले उक्त निर्णय उल्टाए । साथै, सन् २०२६ को रक्षा ऐनले युरोपमा अमेरिकी सेना संख्या ७५ हजारभन्दा तल झार्न नपाइने व्यवस्था गरेको छ ।
ट्रम्पको पछिल्लो धम्की इरान युद्धसँग जोडिएको छ । अमेरिका र इजरायलले इरानविरुद्ध फेब्रुअरी २८ देखि युद्ध सुरु गरेका छन्, जुन अझै जारी छ । हर्मुज जलडमरूमध्यमा अवरोध हुँदा विश्व व्यापार प्रभावित भएको छ ।
ट्रम्पले युरोपेली नेताहरूलाई पर्याप्त सहयोग नगरेको आरोप लगाएका छन् । उनले बेलायती प्रधानमन्त्री कियर स्टार्मरलाई आलोचना गर्दै उनलाई ‘विन्स्टन चर्चिल होइन’ भने । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई पनि उनले आलोचना गरे ।
युरोपसँगको सम्बन्ध यसअघि पनि तनावपूर्ण थियो । अमेरिकी भन्सार शुल्क, ग्रिनल्याण्ड खरिद प्रयास र युक्रेनलाई दिइने सहयोग कटौतीजस्ता विषयले सम्बन्ध बिगारेका थिए ।
युरोपमा अमेरिकी सैन्य उपस्थिति दोस्रो विश्वयुद्धदेखि सुरु भएको हो । शीतयुद्धपछि यसको उद्देश्य सोभियत संघविरुद्ध युरोपको सुरक्षा सुदृढ गर्नु थियो । तर यी आधारहरू केवल युरोपका लागि होइनन्, अमेरिकाले मध्यपूर्वजस्ता क्षेत्रमा युद्ध सञ्चालन गर्न पनि यी आधारहरू प्रयोग गर्छ ।
यी आधारहरू महŒवपूर्ण रसद केन्द्र हुन् । जर्मनीमा रहेको लान्डस्टुल क्षेत्रीय चिकित्सालय अमेरिका बाहिरको सबैभन्दा ठूलो सैन्य अस्पताल हो, जहाँ युरोप, मध्यपूर्व र अफ्रिकाबाट घाइते सैनिक ल्याइन्छन् ।
ट्रम्पले सेना घटाउने धम्की दिएका भए पनि वास्तविकता भने जटिल छ । कानूनी अवरोध, रणनीतिक आवश्यकता र सहयोगी राष्ट्रहरूसँगको सम्बन्धका कारण यस्तो निर्णय कार्यान्वयन गर्न त्यति सजिलो छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्