नेभिगेशन
अर्थतन्त्र

बालेन तर्साउने, रवि सम्झाउने

‘सरकारले व्यवसायीलाई दुःख दिँदैन’

काठमाडौं । पहिले सुन्ने, अनि मात्रै थुन्ने नीति लिने भन्दाभन्दै बालेन सरकारले उद्योगीव्यवसायीमाथि धरपकड बढाएर तर्साएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटेर सहानुभूति प्रकट गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले बाहिरै नआइ आदेशका भरमा लोकलाई त्रस्त बनाइरहँदा उनले भने उद्योगी–व्यवसायीलाई सरकारसँग नडराउन र नआत्तिन आग्रह गरेका छन् । 
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग आइतबार छलफल गर्दै उनले रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गरे । ‘निजीक्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै मैले तपाईंहरूसँग छलफल गर्न चाहेको हुँ,’ लामिछानेले भने, ‘तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौं ।’ केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको उनले बताए । 
विवादास्पद व्यवसायी दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणमा पक्राउ गरेको सरकारले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, उनका छोराहरु सुलभ र साहिललाई पनि नियन्त्रणमा लिएको थियो । छोराहरुलाई पक्राउ गर्ने निश्चित भएपछि शंकरलाललाई छाडे पनि हिमालय रिइन्स्यारेन्ससँग मुछिएको मुद्दामा उक्त कम्पनीका पूर्वअध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई पक्राउ गरेको थियो । गोल्छा पक्राउसँगै उद्योगी व्यवसायी सरकारप्रति सशंकित छन् । भट्ट र अग्रवालसँगै कम्पनीमा संस्थापक लगानी गरेको खुलेपछि विवादमा परेका रास्वपा सांसद सुधन गुरुङले गृहमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।   
त्यसमाथि शनिबारमात्रै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रविरुद्ध धम्कीकै भाषा बालेका थिए । अर्थतन्त्रमा जरा गाडेर बसेका ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्न सरकार निर्मम नै हुने उनले बताएका थिए । ‘सुशासन कायम गर्नु सरकारको मुख्य लक्ष्य रहेको भन्दै उनले गलत गर्नेलाई नछाड्ने’ भनाइ राखेका थिए । सुशासनलाई ‘म्याक्रो’ र ‘माइक्रो’ तहमा बाँडेर सेवा प्रवाहमा सुधार र संस्थागत भ्रष्टाचार निवारण गर्ने योजना सुनाउँदै मन्त्री वाग्लेले ‘अपराध गर्नेहरूलाई पक्राउ गर्दा निजी क्षेत्रको मनोबल खस्कियो भन्नु गलत हुने’ बताएका थिए । ‘कुनै पनि उद्यमीको आवरणमा अपराध गर्नेले उन्मुक्ति नपाउने’ उनको भनाइ थियो । 
यता सभापति लामिछानेले भने वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको ‘रोडम्याप’ रास्वपाले बनाइसकेको भन्दै निजी क्षेत्रलाई विश्वासमा लिने प्रयास गरे । उनले समस्या सम्बोधनका लागि उद्योगी–व्यवसायीहरूले आफ्नो घर र पार्टी कार्यालय धाउनै नपर्ने पनि स्पष्ट पारे ।  ‘तपाईंले मलाई र पार्टी कार्यालयलाई देख्नु पर्दैन, टेक्नु पर्दैन । हामी तपाईंहरूको समस्या सहजै सम्बोधन गर्न चाहन्छौं,’ उनले भने, ‘पहिला तपाईंहरूले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला, तर हामी फरक ढंगबाट देखिने गरी परिवर्तन महसुस गराउन चाहन्छौं ।’ 
छलफलमा महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएकाले सहज रूपमा काम गर्न दिन आग्रह गरे । । ‘हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ । हामी हरेक आन्दोलनको मुख्य निसानामा परिरहेका छौं । यसो हुनु हुँदैन भन्ने हाम्रो माग हो,’ उनले भने । 
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको उल्लेख गरे । चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको रास्वपा सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताए । 
‘सरकारले घरबारविहीन बनाउँदैन’
सरकारले सुकुम्वासी वस्तीमा डोजर लगाइरहेको प्रसंगमा सभापति लामिछानेले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पारे । आधा दर्जनभन्दा बढी बस्ती भत्काएर तहसनहस पारिसकेपछि उनले सरकारले आवश्यक भएर यस्तो गरेको उल्लेख गरे । ‘देशका नागरिक कसैलाई पनि घरबारविहीन बनाउँदैनौँ । आज केही समस्या भएको छ, तर यसले सधैंका लागि समस्या समाधान गर्छ,’ उाले भने, ‘हामीले खोलाको किनारामा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्