नेभिगेशन
दृष्टिकोण

एकीकृत बस्तीको असफलता

नेपाल भौगोलिकरूपमा विविध र जटिल संरचना भएको देश हो, जहाँ हिमाल, पहाड र तराईको मिश्रित बनोटले जीवनशैली मात्र होइन, बस्ती व्यवस्थापनलाई पनि प्रभावित गरेको छ । यसका साथै, नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा पर्ने देशहरूमध्ये एक हो । भूकम्प, पहिरो, बाढीजस्ता विपत्तिहरूले बारम्बार मानव बस्तीलाई क्षति पु¥याउँदै आएका छन् । विशेषगरी २०७२ सालको विनाशकारी भूकम्पले नेपालमा बस्ती व्यवस्थापनको पुरानो ढाँचालाई पुनर्विचार गर्न बाध्य बनायो । यही सन्दर्भमा एकीकृत बस्ती विकासको अवधारणाले महŒव पायो ।
नेपालमा एकीकृत बस्ती विकासको अवधारणा २०७२ सालको भूकम्पपछि व्यवस्थितरूपमा अघि बढाइएको हो । उक्त भूकम्पले हजारौं मानिसको ज्यान लियो र लाखौं घरहरू ध्वस्त पा¥यो । यसले जोखिमयुक्त भूभागमा बसोबास गर्ने परम्परागत बस्तीहरूको कमजोरी उजागर ग¥यो । त्यसपछि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरी सुरक्षित स्थानमा योजनाबद्धरूपमा बस्ती बसाल्ने नीति अघि बढायो । यस अवधारणाअन्तर्गत जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित भूभागमा सारेर पूर्वाधारसहितको व्यवस्थित बस्ती निर्माण गर्ने लक्ष्य राखियो । गैरआवासीय नेपाली संघ, एनआरएनएलगायत विभिन्न संस्थाहरूको सहयोगमा देशका विभिन्न भागमा यस्ता बस्तीहरू निर्माण गरिए । यद्यपि, यी बस्तीहरूको प्रभावकारिता सबै ठाउँमा समान देखिएन । केही स्थानहरूमा एकीकृत बस्तीले सकारात्मक परिणाम दिए तर धेरै ठाउँमा दिएनन् । जहाँ बस्ती निर्माण गर्दा स्थानीय आवश्यकता, भौगोलिक अवस्था र जीविकोपार्जनको स्रोतलाई ध्यानमा राखियो त्यहाँ मानिसहरूले नयाँ बस्तीलाई स्वीकार गरे । पुरानो बस्तीनजिकै नयाँ बस्ती बनाइनु, खेतीपातीका लागि जमिनको उपलब्धता, आधारभूत सेवासुविधाको पहुँच र स्थानीय सहभागिताले यस्ता बस्तीलाई सफल बनाउन सहयोग गरेको पाइयो । यसले के स्पष्ट पार्छ भने बस्ती केवल घरहरूको समूह मात्र होइन, समग्र जीवन प्रणाली हो ।
भूकम्पपछि बनाइएका अधिकांश एकीकृत बस्तीहरू अपेक्षाअनुसार सफल हुन सकेनन् । गोरखा, चितवन, धादिङ, सिन्धुपाल्चोक र दाङजस्ता जिल्लाका उदाहरणहरूले यसको कमजोरी स्पष्ट पार्छ । यी स्थानहरूमा निर्माण गरिएका धेरै बस्तीहरू अहिले पनि खाली छन् वा आंशिकरूपमा मात्र प्रयोगमा आएका छन् । यसको प्रमुख कारण भौगोलिक असन्तुलन हो । कतिपय बस्तीहरू अत्यधिक चिसो, दुर्गम वा अनुपयुक्त स्थानमा निर्माण गरिए जसले गर्दा दैनिक जीवन कठिन बन्न पुग्न देखियो । त्यसैगरी, जीविकोपार्जनसँग असम्बन्धित बस्ती निर्माण अर्को गम्भीर समस्या बन्यो । नेपालका अधिकांश ग्रामीण समुदाय कृषि र पशुपालनमा निर्भर रहेको सन्दर्भमा बनाइएका नयाँ बस्तीहरूमा खेती गर्ने जमिन, गोठ वा करेसाबारीको अभाव हुँदा त्यसले समुदायलाई आकर्षण गर्न सकेन । जसले मानिसहरूलाई आफ्नो पुरानै बस्तीमा फर्कन बाध्य बनायो, जहाँ मानिसहरू जोखिम मोलेर पनि बस्नुपर्ने बाध्यतामा परे ।
सामाजिक र सांस्कृतिक पक्षको उपेक्षा पनि एकीकृत बस्तीको असफलताको मुख्य कारण हो । नेपाली समाजमा घर केवल बस्ने ठाउँ मात्र होइन, परम्परा, संस्कार र सामाजिक सम्बन्धको केन्द्र पनि हो । संयुक्त परिवारको परम्परा, पूजा कोठा, आँगन, पिँढीजस्ता संरचनाहरू नयाँ बस्तीमा नसमेटिँदा यसले मानिसहरूलाई नयाँ बस्तीमा भावनात्मक रूपमा असहज बनाएको छ । अर्कातर्फ, धेरै बस्तीहरूमा आधारभूत पूर्वाधारसमेत पूर्णरूपमा उपलब्ध छैन । खानेपानीको अभाव, विद्यालय र स्वास्थ्य सेवाको दूरी, यातायातको असुविधाजस्ता समस्याले बसोबासलाई असहज बनाएको छ ।
इतिहास केलाउँदा दक्षिण एसियामा एकीकृत बस्ती विकासको अवधारणा विभिन्न समय र स्थानमा फरक–फरक ढंगले विकसित भएको पाइन्छ । यसको सुरुवात प्राचीन सहरी योजनाबाटै देखिन्छ, विशेषगरी सिन्धुघाटी सभ्यता जुन करिब २५०० ईसापूर्वका विकास गरिएको थियो, त्यहाँ योजनाबद्ध सहरहरू जस्तै मोहेन्जोदाडो र हडप्पा निर्माण भएका कुरा इतिहासमा हामीले पढ्दै आएका छौं । ती संरचना अहिले पनि प्रगतिशील देखिन्छन् र कतिपय आविष्कार वैज्ञानिक दृष्टिले पनि विस्मयकारी देखिन्छन् । आधुनिक अर्थमा एकीकृत बस्ती विकास भने २०औं शताब्दीपछि तीव्र भएको हो । सन् १९४७ पछि भारतमा पुनर्वास र योजनाबद्ध शहर विकास चण्डीगढमार्फत यसको अभ्यास भएको हो । बंगलादेशमा बाढी प्रभावित क्षेत्रहरूमा समूह बस्ती विकास गरियो । नेपालमा भने सन् २०१५ को गोरखा भूकम्पपछि सुरक्षित, योजनाबद्ध र पूर्वाधारयुक्त एकीकृत बस्ती निर्माणलाई प्राथमिकता दिइयो । यसरी, प्राकृतिक विपद्, जनसंख्या दबाब र विकास आवश्यकताले दक्षिण एसियामा एकीकृत बस्ती विकासलाई अघि बढाएको हो ।
बंगलादेशमा बाढी प्रभावित क्षेत्रहरूमा एकीकृत बस्ती विकास मुख्यतः उचाइ भएका सुरक्षित स्थानमा समुदायलाई सारेर गरिएको थियो । त्यहाँ क्लस्टर भिलेज बनाइए, जहाँ घरहरू पानी आउने सहतभन्दा माथिको उचाइमा निर्माण गरियो, सामूहिक शौचालय, खानेपानी, विद्यालय र स्वास्थ्य सेवाहरू एउटै स्थानमा उपलब्ध गराइयो । साथै जीविकोपार्जनका लागि साना ऋण, तालिम र सामुदायिक सहकार्यलाई जोड दिइयो । यसको राम्रो पक्ष भनेको विपद् प्रतिरोधी संरचना, स्रोतहरूको साझा उपयोग र समुदायमा आपसी सहयोग बढ्नु हो । सेवाहरू केन्द्रित हुँदा खर्च कम भयो र पहुँच सजिलो बन्यो । यस्ता बस्तीहरूले दिगो विकास, सामाजिक एकता र विपद् व्यवस्थापनमा प्रभावकारी नमूना प्रस्तुत गरेका छन्, जुन दक्षिण एसियाका अन्य देशहरूका लागि पनि उदाहरणीय बन्न सक्छन् ।
तर हाम्रो सन्दर्भमा एकीकृत बस्तीमा योजनागत कमजोरी देखिए । धेरै बस्तीहरू स्थानीयसँग पर्याप्त परामर्श नगरी बनाइए । एउटै डिजाइन सबै ठाउँमा लागू गर्ने प्रवृत्तिले स्थानीय विविधतालाई बेवास्ता गरियो ।  निर्माणमा ढिलाइ हुँदा मानिसहरू अस्थायी बसोबास छोडेर पुरानै बस्तीमा फर्किएका छन् र पछि नयाँ घर बने पनि उनीहरू फर्कन इच्छुक भएनन् । नेपाल भूकम्पीय दृष्टिले अत्यन्त संवेदनशील देश हो । हिमालय क्षेत्र टेक्टोनिक प्लेटहरूको सक्रिय क्षेत्रमा पर्ने भएकाले यहाँ ठूलो भूकम्प आउने सम्भावना सधैं रहन्छ । कमजोर निर्माण प्रविधि, ढल्केको भूभाग र अनियन्त्रित बस्ती विस्तारले जोखिम अझ बढाएको छ । एकीकृत बस्तीको उद्देश्य यही जोखिम न्यूनीकरण गर्नु हो । तर, यदि नयाँ बस्तीले जीवनयापनलाई सहज बनाउँदैन भने मानिसहरू जोखिम मोलेर पनि पुरानै स्थानमा बस्न रुचाउँछन् । यसले के देखाउँछ भने सुरक्षा मात्र पर्याप्त छैन, जीवनको सहजता पनि उत्तिकै आवश्यक छ ।
एकीकृत बस्तीलाई प्रभावकारी बनाउन समग्र विकास दृष्टिकोणलाई समावेश गर्नुपर्ने आवश्यकता छ । बस्ती निर्माणअघि भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षहरूको गहिरो अध्ययन गर्नुपर्छ । स्थानीय बासिन्दाको सहभागिता सुनिश्चित गर्नुपर्छ, जसले योजनाप्रति स्वामित्वको भावना विकास गर्छ । जीविकोपार्जनका स्रोतहरू बस्ती निकटमै उपलब्ध गराउनु पनि अर्को अनिवार्य शर्त देखिन आएको छ । साथै, खानेपानी, सडक, विद्यालय, स्वास्थ्य सेवाजस्ता आधारभूत पूर्वाधारहरू विश्वसनीय र निर्बाधरूपमा सञ्चालनमा हुनुपर्छ । घरको डिजाइन स्थानीय परम्परा र जीवनशैलीअनुसार बनाउनुपर्छ । संयुक्त परिवार, धार्मिक अभ्यास र सामाजिक सम्बन्धलाई ध्यानमा राखेर संरचना निर्माण गर्न सकेमा बस्तीप्रति अपनत्व बढ्ने देखिने रहेछ भन्ने विगतका अभ्यासले पुष्टि गरेका छन् । साथै, बस्ती विकासलाई दीर्घकालीन रूपमा सोच्नुपर्छ किनभने बस्ती केवल अहिलेका लागि मात्र नभएर भविष्यका पुस्ताहरूका लागि पनि हो । 
हाम्रो सन्दर्भमा केही उदाहरणले अबका दिनमा कसरी अघि बढ्नुपर्ला भनेर मार्गप्रशस्त गरेको छ । दिक्तेल रूपाकोट मझुवागढी–१५ विजयखर्कस्थित ‘रामनाथ एकीकृत बस्ती’मा भूकम्पपीडितका लागि बनाइएका घरहरू अपूरा र प्रयोगविहीन भए । झ्याल–ढोका, खानेपानी, बिजुली, शौचालयजस्ता आधारभूत पूर्वाधार नभएकाले बस्न नसकिएको पीडितहरूले गुनासो गरे । निर्माण गुणस्तर कमजोर भएको र मापदण्डअनुसार काम नभएको आरोपसम्म लाग्यो । अर्कातिर मदाने गाउँपालिका–३ सिर्सेनीमा भूकम्प र सडक निर्माणबाट विस्थापित परिवारका लागि बनाइएका ४८ घरमध्ये केवल १३ घरमा मात्रै बसोबास भएको छ भने बाँकी घरहरू खाली हुँदा झाडीले ढाकिएर जीर्ण बन्दै गएका छन् । स्थानीयहरू खेतबारी टाढा हुनु, करेसाबारी र पशुपालनको सुविधा नहुनु तथा घर साँघुरा हुनुजस्ता कारणले नयाँ बस्तीमा बस्न मानेका छैनन् । सामाजिक असहजता र रोजगारीको अभाव पनि प्रमुख समस्या बनेका छन् । सुविधा भए पनि जीविकोपार्जन असहज हुँदा अधिकांश परिवार जोखिमयुक्त पुरानै घरमा बसिरहेका छन्, जसले एकीकृत बस्ती योजना प्रभावहीन बनेको देखिन्छ ।
२०७२ सालको गोरखा भूकम्पले नेपाललाई विपद् जोखिमबारे केही पाठ सिकाएको छ । मुख्यतः सुरक्षित संरचना निर्माण, पूर्वतयारी र आपत् व्यवस्थापनमा साझा राष्ट्रिय दृष्टिकोण बनेको थियो । भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरी समन्वित रूपमा पुनर्निर्माण, स्रोत परिचालन, प्रविधि हस्तान्तरण र पारदर्शी नगद वितरण पनि भएकै हो । यसले विशेष संरचनाबाट काम गर्दा प्रभावकारी परिणाम आउने देखायो । तर ती सिकाइ कार्यान्वयनमा निरन्तरता नपाउँदा समस्या देखिएको छ । विपद् न्यूनीकरण, रेट्रोफिटिङ, सुरक्षित आवास र दीर्घकालीन योजना लागू हुन सकेनन् । परिणामस्वरूप साना भूकम्पले पनि ठूलो क्षति पु¥याइरहेका छन् । पूर्वतयारीमा लगानी गरे कम खर्चमै ठूलो क्षति रोक्न सकिने थियो । विपद् व्यवस्थापनका लागि कानूनी, प्राविधिक, वित्तीय र संस्थागत ढाँचा बलियो बनाउँदै शिक्षा, भूउपयोग योजना र सुरक्षित निर्माणलाई प्राथमिकता दिनुपर्छ । विगतका अनुभव कार्यान्वयन गर्न सके मात्र नेपाललाई दिगो रूपमा विपद्सँग जुध्न सक्षम हुन सक्ने देखिन्छ ।
नेपालमा एकीकृत बस्ती विकासको अवधारणा आवश्यक भए पनि यसको कार्यान्वयनमा सुधार आवश्यक देखिन्छ । भूकम्पपछि हतारमा बनाइएका धेरै बस्तीहरू स्थानीय आवश्यकता र सन्दर्भसँग मेल नखाँदा उपयोगविहीन बनेका छन् । यसले राज्यको ठूलो लगानी खेर गएको मात्र होइन, प्रभावित समुदायलाई दिगो समाधान पनि दिन सकेको छैन । यसैले, भविष्यमा एकीकृत बस्ती विकास गर्दा घर बनाउने सोचभन्दा माथि उठेर जीवन बसाल्ने दृष्टिकोण अपनाउनु अपरिहार्य छ । जबसम्म बस्तीले मानिसको आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकतालाई समेट्दैन, तबसम्म त्यस्ता योजना सफल हुन सक्दैनन् । समग्र, सहभागितामूलक र सन्दर्भअनुकूल योजना निर्माणमार्फत मात्र नेपालमा सुरक्षित र दिगो बस्ती विकास सम्भव हुनेछ ।
(लेखक सामाजिक अनुसन्धानकर्मी हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
भगवानको लीला अपरम्पार

भगवानको लीला अपरम्पार

अमरताको खोजी

अमरताको खोजी

जनताको आशाको बजेट

जनताको आशाको बजेट