नेपाल कृषिप्रधान देश भए पनि यहाँको कृषि प्रणाली पछिल्लो समय गम्भीर संक्रमणको अवस्थामा पुगेको देखिन्छ । एकातिर परम्परागत रैथाने बालीहरू लोप हुँदै गइरहेका छन् भने अर्कोतिर प्रशोधित तथा पत्रु खानाको संस्कृतिले तीव्र रूपमा स्थान ओगट्दै गएको छ । यस्तो अवस्थामा रैथाने बालीको संरक्षण, प्रवद्र्धन र उपयोग आजको प्रमुख आवश्यकता बनेको छ । रैथाने बाली भन्नाले स्थानीय भूगोल, हावापानी र सामाजिक परिवेशसँग अनुकूलित भएर परम्परागत रूपमा उत्पादन हुँदै आएका बालीहरूलाई जनाउँछ । कोदो, फापर, जौ, चिनो, कागुनो, सिमी, गहत, भट्ट जस्ता बालीहरू नेपालका विभिन्न क्षेत्रमा उत्पादन हुने महत्वपूर्ण रैथाने बाली हुन्। यी बालीहरू केवल खाद्यान्न मात्र होइनन्, यी हाम्रो सांस्कृतिक पहिचान, परम्परा र जीवनशैलीसँग गाँसिएका अमूल्य सम्पदा हुन्।
विशेषगरी कर्णाली प्रदेशजस्ता दुर्गम तथा भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा रैथाने बालीहरूको महत्व अझ बढी देखिन्छ । त्यहाँको कठोर हावापानी, सीमित सिंचाइ सुविधा र कमजोर पूर्वाधारका बाबजुद पनि यी बालीहरूले राम्रो उत्पादन दिन सक्ने क्षमता राख्छन् । यही कारणले रैथाने बालीहरू जलवायु अनुकूलनका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छन् । जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा आएको अनिश्चितता, तापक्रम वृद्धि तथा प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला रैथाने बालीहरूले दिगो कृषि प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
पोषणको हिसाबले पनि रैथाने बालीहरू अत्यन्त समृद्ध छन् । कोदो र फापर जस्ता बालीहरूमा उच्च मात्रामा फाइबर, प्रोटिन, भिटामिन तथा खनिज पदार्थ पाइन्छन्, जसले कुपोषण न्यूनीकरणमा सहयोग पु¥याउँछ । आजको पुस्तामा देखिँदै आएको मधुमेह, उच्च रक्तचाप जस्ता जीवनशैलीजन्य रोगहरू नियन्त्रण गर्न पनि यस्ता बाली उपयोगी मानिन्छन् । त्यसैले रैथाने खानाको प्रवद्र्धन स्वास्थ्यका दृष्टिले पनि अपरिहार्य छ। तर विडम्बना के छ भने, बजारमा सजिलै पाइने प्रशोधित तथा जंक फुडको आकर्षणले परम्परागत खानपानलाई विस्थापित गर्दै लगेको छ । विशेषगरी युवा पुस्ता फास्ट फुडतर्फ आकर्षित हुँदा रैथाने खानाको प्रयोग घट्दो क्रममा छ । यसले दीर्घकालीन रूपमा स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै स्थानीय कृषि प्रणालीलाई पनि कमजोर बनाइरहेको छ । यस्तो अवस्थामा रैथाने बालीको संरक्षण मात्र पर्याप्त हुँदैन, यसको व्यावसायीकरण र मूल्य अभिवृद्धि पनि उत्तिकै आवश्यक छ । कर्णाली प्रदेशमा प्रस्ताव गरिएको रैथाने बाली प्रशोधन मिल स्थापना गर्ने योजना यही सन्दर्भमा महत्वपूर्ण मानिन्छ । यदि यस्ता मिलहरू समयमै स्थापना भई सञ्चालनमा आए भने कृषकहरूले उत्पादन गरेको बालीको उचित मूल्य पाउनेछन् । साथै, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङमार्फत यी बालीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिन्छ ।
रैथाने बालीको प्रवद्र्धनका लागि सरकार, निजी क्षेत्र र समुदायबीच समन्वय आवश्यक छ । सरकारले नीतिगत रूपमा प्रोत्साहन दिने, उत्पादनका लागि अनुदान उपलब्ध गराउने, बजार सुनिश्चित गर्ने र प्रविधि विस्तार गर्ने काम गर्नुपर्छ । त्यस्तै, निजी क्षेत्रले प्रशोधन र बजार विस्तारमा लगानी गर्नुपर्छ भने समुदायले आफ्ना परम्परागत ज्ञान र अभ्यासलाई संरक्षण गर्दै उत्पादनमा निरन्तरता दिनुपर्छ। शिक्षा र जनचेतना पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । विद्यालयदेखि नै रैथाने खानाको महत्वबारे जानकारी गराउने, स्थानीय उत्पादनको उपयोग बढाउने र स्वस्थ खानपानको संस्कृतिलाई प्रवद्र्धन गर्ने अभियान सञ्चालन गर्न आवश्यक छ । सञ्चार माध्यमहरूले पनि यस विषयलाई प्राथमिकताका साथ उठाउँदै जनचेतना अभिवृद्धि गर्न सक्छन्। रैथाने बाली केवल खाद्य सुरक्षा वा आर्थिक आम्दानीको माध्यम मात्र होइन, यो हाम्रो पहिचान, संस्कृति र दिगो भविष्यसँग जोडिएको विषय हो। जलवायु परिवर्तनको चुनौती, बढ्दो कुपोषण र अस्वस्थ खानपानको प्रवृत्तिका बीच रैथाने बालीले समाधानको मार्ग देखाउन सक्छ । त्यसैले यस्ता बालीहरूको संरक्षण, प्रवद्र्धन र व्यावसायीकरणमा सबै पक्ष गम्भीर हुन आवश्यक छ। यही मार्गले मात्र दिगो कृषि, स्वस्थ समाज र समृद्ध नेपालको आधार निर्माण गर्न सक्छ ।