नेभिगेशन
अर्थतन्त्र

‘हामी पर्ख र हेरको अवस्थामा छौं’ : गोविन्दप्रसाद घिमिरे,  अध्यक्ष, निर्यात व्यवसायी महासंघ नेपाल

अहिलेको वर्तमान परिस्थितिमा निजी क्षेत्र केही हदसम्म सशंकित हुने अवस्था देखिएको छ । विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वका कारण हाम्रो निर्यात क्षेत्रमा प्रत्यक्ष असर परेको छ । ढुवानी तथा हवाई भाडा खर्च उल्लेख्य रूपमा बढेकाले विगत एक महिनादेखि लजिस्टिक लागत करिब दोब्बर भएको छ, जसका कारण निर्यात क्रमशः घट्दो अवस्थामा पुगेको छ । भर्खरै गठन भएको सरकार आफ्ना प्रशासनिक तथा संरचनागत कार्यहरूमा केन्द्रित रहँदा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, नियम र कार्यविधिहरूलाई अघि बढाउनुपर्ने जति गति देखिएको छैन भन्ने हाम्रो अनुभूति छ । संसद अधिवेशन नबसिरहेको र अध्यादेशमार्फत केही संरचनागत परिवर्तनहरू भइरहेका कारण सरकार कुन दिशामा अघि बढ्छ र निजी क्षेत्रले त्यसअनुसार कसरी आफूलाई समायोजन गर्छ भन्ने विषयमा केही अन्योल देखिएको छ । त्यसैले अहिले हामी पर्ख र हेर को अवस्थामा छौँ । यद्यपि, बहुमतको सरकार भएकाले केही सकारात्मक अपेक्षा र आशा भने कायम छ । अध्यादेशमार्फत प्रशासनिक संरचनामा केही सुधारका प्रयासहरू देखिएका छन्, जसलाई सकारात्मक रूपमा पनि लिन सकिन्छ । तर, नीति र कार्यविधि बनाउने प्रक्रियामा पर्याप्त अध्ययन र तयारी बिना तीव्र गतिमा अघि बढ्दा भविष्यमा केही चुनौती वा असन्तुलन सिर्जना हुन सक्ने जोखिम पनि देखिन्छ ।
निर्यात क्षेत्रलाई समृद्धिको आधार मान्दै हामी निर्यात व्यवसायी महासंघ निर्यात नै समृद्धिको मार्ग भन्ने नारासहित अघि बढिरहेका छौँ । यस क्रममा सबै सरोकारवाला छाता संगठनहरूसँग हाम्रो निरन्तर सहकार्य रहँदै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई पनि हामीले साझा मुद्दाहरूलाई संस्थागत रूपमा अघि बढाउने अवसरका रूपमा हेरेका छौँ । विशेषगरी निर्यात क्षेत्रलाई प्राथमिकतामा राख्दै विदेशी मुद्रा आर्जनमार्फत मात्र देशको आर्थिक समृद्धि सम्भव हुन्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । आजको आवश्यकता केवल श्रम निर्यात गर्ने होइन, बरु विदेशमा रहेका नेपालीलाई स्वदेशमै फर्काएर स्वरोजगार सिर्जना गर्ने वातावरण निर्माण गर्नु हो । साथै, यहाँका उद्योगधन्दा, विशेषगरी रुग्ण उद्योगहरूको पुनःसञ्चालन गर्दै उत्पादनशीलता र रोजगारी विस्तार गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । यसका लागि उद्योग संरक्षण र निर्यात प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने स्पष्ट नीतिगत व्यवस्था आवश्यक छ । हाम्रो दृष्टिकोणमा अर्थतन्त्रको मेरुदण्ड उद्योग क्षेत्र हो, जसलाई मजबुत बनाइएन भने समग्र आर्थिक संरचना दिगो हुन सक्दैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्