नेभिगेशन
अर्थतन्त्र

‘पहिला थुन्ने, पछि सुन्ने’ अभ्यासले अनावश्यक त्रास : धनप्रसाद लामिछाने,  अध्यक्ष, नेपाल पश्मिना उद्योग संघ

पश्मिना क्षेत्रका सम्पूर्ण समस्या, अवसर र सम्भावनाहरूलाई ठूलो छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता देख्छु । यस क्षेत्रमा रहेका ऐन–नियम तथा नीतिगत जटिलताहरूले उद्योगको विकासमा बाधा पु¥याइरहेका छन्, ती समस्याहरू औँल्याउँदै समाधानका लागि पहल गर्नु हाम्रो उद्देश्य हो । नेपाल पश्मिना उद्योगको कुरा गर्दा, यो क्षेत्र कच्चा पदार्थमा पूर्ण रूपमा आत्मनिर्भर छैन, हामी ठूलो मात्रामा आयातमा निर्भर छौँ । तर, दुःखको कुरा के छ भने, नेपालको वन तथा चरन नीतिअनुसार करिब ३३ लाख हेक्टर हिमाली चरन क्षेत्र भए पनि त्यसको उचित उपयोग हुन सकेको छैन । भेडा, च्याङ्ग्रा पालन पनि अझै निर्वाहमुखी कृषि प्रणालीमै सीमित छ, जसले आवश्यक कच्चा पदार्थको आपूर्तिमा दीर्घकालीन समस्या सिर्जना गरिरहेको छ । अहिलेको समग्र वातावरणमा उद्योगी, व्यवसायी र लगानीकर्ताहरू केही त्रसित भएको अवस्था देखिन्छ । दुई तिहाइको सरकार आएसँगै निजी क्षेत्र उत्साहित हुने अपेक्षा थियो, तर व्यवहारमा ‘पहिला थुन्ने, पछि सुन्ने’ जस्तो अभ्यासले अनावश्यक त्रास सिर्जना गरेको छ । कसैले गल्ती वा अपराध गरेको छ भने कानुनी प्रक्रियाबाट कारबाही हुनु स्वाभाविक हो । तर, प्रमाणित नभएसम्म व्यक्तिलाई आपराधिक रूपमा व्यवहार गर्ने, तत्काल धरपकड गर्ने प्रवृत्तिले मानव अधिकारको दृष्टिले पनि प्रश्न उठाउँछ । निर्दोष व्यक्ति पछि निर्दोष साबित भए पनि समाजले हेर्ने दृष्टिकोणमा पर्ने असर दीर्घकालीन हुन्छ, जसले लगानीको वातावरणलाई कमजोर बनाउँछ । यस्तो अभ्यासले पुँजी पलायनको जोखिम बढाउँछ र लगानीकर्ताले आफूलाई असुरक्षित महसुस गर्ने अवस्था सिर्जना हुन्छ । सरकारले अपेक्षित सुधार र परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरे पनि कार्यान्वयनको शैलीमा सुधार आवश्यक देखिन्छ । हाम्रै पूर्व अध्यक्षमाथि भएको धरपकडको घटनाले एक व्यक्तिलाई मात्र होइन, सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाएको अनुभूति हुन्छ । उहाँहरू दीर्घकालीन रूपमा देशमै लगानी गर्ने उद्यमी हुन्, देश छोडेर भाग्ने मनसाय भएका व्यक्ति होइनन् । यस्ता विषयमा कम्तीमा पनि प्रारम्भिक छलफल र स्पष्टीकरणको अवसर दिनु आवश्यक थियो भन्ने हाम्रो धारणा हो । निर्वाचनको सन्दर्भमा देशभरका व्यवसायी तथा लगानीकर्ताहरूबीच पनि यही विषय मुख्य छलफलको केन्द्र बनेको देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्