नेभिगेशन
अर्थतन्त्र

‘किसानले उत्पादन गर्दा घाटामा नजाने सुनिश्चितता हुनुपर्छ’ : वसन्तचन्द्र मरहठ्ठा,  अध्यक्ष, नेपाल बिउ व्यवसायी संघ

कृषि क्षेत्रका विगतदेखि नै रहेका प्रमुख समस्याहरूमध्ये मुख्य समस्या उत्पादन लागत कसरी घटाउने भन्ने हो । साथै, वैदेशिक रोजगारीमा गएका धेरै दाजुभाइ तथा युवाहरूलाई स्वदेशमै कृषि पेसातर्फ आकर्षित गरी फर्काउने विषय पनि ठूलो चुनौतीका रूपमा रहेको छ । हाल किसानहरूले दुई रोपनीदेखि दुई बिघासम्मको क्षेत्रमा तरकारी खेती गरिरहेका छन् । तर, उत्पादन लागत उच्च भएकाले बजारमा बिक्री गर्दा पनि लागत उठ्छ कि उठ्दैन भन्ने चिन्ता रहिरहन्छ । यही कारणले किसानहरू दीर्घकालीन रूपमा निराश हुने अवस्था देखिन्छ । त्यसैले, राज्यले पहिलो प्राथमिकतामा उत्पादनको आधारमा अनुदान दिने प्रणाली लागू गर्न आवश्यक छ । साथै, किसानले उत्पादन गर्दा घाटामा नजाने सुनिश्चितता हुने गरी न्यूनतम समर्थन मूल्य तय गर्ने र आवश्यक परे बाईब्याक ग्यारेन्टीको व्यवस्था गर्ने नीति ल्याउन सकियो भने मात्र कृषि क्षेत्र आत्मनिर्भरतातर्फ अघि बढ्न सक्छ । कृषि क्षेत्रमा लगानी आकर्षित गर्न पनि दीर्घकालीन र व्यवसायमैत्री नीतिको आवश्यकता छ । जबसम्म स्थिर र पूर्वानुमानयोग्य कानुनी संरचना बन्न सक्दैन, तबसम्म निजी लगानी बढ्ने सम्भावना कमजोर हुन्छ । कृषि व्यवसाय अन्य क्षेत्रजस्तो तत्काल प्रतिफल दिने क्षेत्र होइन, यहाँ लगानी गरेपछि परिणाम देखिन २ देखि ३ वर्षसम्म लाग्न सक्छ । त्यसैले, कम्तीमा १० देखि १५ वर्षसम्म स्थिर रहने किसिमका नीति, नियम आवश्यक छन्, जसले बारम्बार नीति परिवर्तनको जोखिम घटाओस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्