नेभिगेशन
अर्थतन्त्र

‘पर्याप्त बहस र अल्पमतको आवाजलाई समेट्ने हुनुपर्छ’ : नानीराज घिमिरे,  पूर्व अध्यक्ष, नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन

यो पटक हाम्रो नियमित अधिवेशनसँगै निर्वाचन पनि हुन गइरहेको छ । म शिवप्रसाद घिमिरे नेतृत्वको टिमबाट साना तथा मझौला उद्योगी–व्यवसायीहरूको प्रतिनिधित्व गर्दै उम्मेदवारी प्रस्तुत गरेको छु । म करिब १२ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघसँग कुनै न कुनै रूपमा आबद्ध छु । विभिन्न समिति र उपसमितिहरू हुँदै पछिल्ला ३ वर्ष कार्यसमिति सदस्यको रूपमा पनि काम गर्ने अवसर पाएँ । यस अवधिमा बाहिरबाट सुनेको महासंघ र भित्र रहेर अनुभव गरेको महासंघबीच केही भिन्नता महसुस भएको छ । विशेषगरी, वस्तुगत संघहरूको साझा समस्या महासंघजस्तो छाता संगठनमार्फत प्रभावकारी रूपमा उठ्नुपर्ने भए पनि व्यवहारमा धेरैजसो विषय व्यक्तिगत तहमा मात्र सम्बोधन हुने गरेको देखियो । पदाधिकारी वा नेतृत्वहरूले आफ्ना व्यक्तिगत समस्यालाई प्राथमिकतामा राखेर समाधान गराउने तर समग्र उद्योगी–व्यवसायीका साझा समस्याहरू अपेक्षित रूपमा उठान नहुने अवस्था रह्यो । पछिल्लो तीन वर्षको अनुभवले पनि यही कुरालाई पुष्टि गरेको छ । महासंघको निर्णय प्रक्रिया प्रायः अध्यक्षात्मक प्रणालीमा आधारित देखिन्छ, जहाँ अध्यक्ष र पदाधिकारीहरूले छलफल गरेर निर्णय गर्छन् र त्यो निर्णय कार्यसमितिमा प्रस्तुत भएपछि औपचारिक रूपमा स्वीकार गरिन्छ । तर, त्यसमा पर्याप्त बहस, फरक मत वा अल्पमतको आवाजलाई समेट्ने अभ्यास कमजोर देखिन्छ ।
हामीले अहिले समर्थन गरिरहेको टिम, चाहे अञ्जन श्रेष्ठज्यूको नेतृत्व होस् वा शिवप्रसाद घिमिरे, सबै तहका प्रतिनिधिहरूबीच साझा प्रतिबद्धता आवश्यक छ। जिल्ला नगर, एसोसिएट, द्विराष्ट्रिय तथा वस्तुगत सबै समूहलाई समेटेर अघि बढ्ने स्पष्ट दृष्टिकोण हुनु आवश्यक छ । हाम्रो मुख्य सरोकार के हो भने, हिजोको जस्तै निर्णय प्रक्रिया दोहोरिन्छ वा वास्तविक रूपमा संरचनागत सुधार हुन्छ ? यदि पुरानै कार्यशैली जारी रहन्छ भने त्यसमा हामीको समर्थन रहने छैन । तर, यदि महासंघको सचिवालयदेखि निर्णय प्रणालीसम्म पारदर्शिता, सहभागिता र सुधार सुनिश्चित गरिन्छ भने हामी पूर्ण रूपमा सहकार्य गर्न तयार छौँ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्