नेभिगेशन
अर्थतन्त्र

अकबरे प्रवर्द्धन गर्दै पैयूँ

पर्वत । दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उत्कृष्ट मानिने अकबरेबाट आम्दानी बढाउन पालिकाले किसानलाई अनुदान दिएर खेतीतर्फ आकर्षित गरेको हो ।
स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित अकबरे खुर्सानी उत्पादन तथा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको पैंयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले बताए । चालु आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाको कृषि शाखामार्फत कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक अनुदान दिएर अकबरे खुर्सानीखेती विस्तार गर्न थालिएको छ । 
गाउँपालिकाले सूचना प्रकाशनपछि इच्छुक किसानलाई प्राविधिक मूल्यांकनपछि चारवटा कृषि फार्म छनोट गरी कार्यक्रम अगाडि बढाएको छ । छनोटमा परेका फार्मलाई आवश्यक प्राविधिक सहयोग, तालिम, बीउबिजन, मलखाद तथा अनुदान प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए । उनका अनुसार पहिलोपटक वडा नं ६ को हाडिकखर्क, वडा ३ को बेउलवास, कानुङ र वडा ४ को बेंसीथोक कृषि तथा पशुपन्छी फार्मलाई अनुदान दिएर ठूलो क्षेत्रफलमा अकबरे विस्तार गरिने भएको छ ।  
हरेक फार्मले कम्तीमा दुई रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार गर्नुपर्ने प्रावधान राखिएको छ । अकबरे खुर्सानी पहाडी जिल्लामा खेती हुने महŒवपूर्ण नगदे बालीमा पर्छ । यसको तिखोपन, सुगन्ध र स्वादका कारण यो देशभित्रमात्र नभई बाह्य बजारमा पनि उच्च माग छ । 
गाउँपालिकाभित्र र बाहिर पनि अकबरे खुर्सानीको माग अत्यधिक आउने र मूल्यसमेत पर्याप्त पर्ने भएकाले किसानको जीवनस्तर सुधार्न सहयोग मिल्ने देखेर किसानलाई आकर्षित गर्न खोजिएको पैंयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए । अन्य सामान्य खुर्सानीको तुलनामा यसको मूल्य धेरै हुने भएकाले किसानका लागि यो आकर्षक आम्दानीको स्रोत बन्ने उनको भनाइ छ । 
सानो क्षेत्रफलमा समेत राम्रो आम्दानी दिन सक्ने भएकाले साना किसानलाई पनि व्यावसायिक खेतीतर्फ लाग्न पालिकाले आग्रह गरेको छ । पछिल्लो समय बजारमा अकबरे खुर्सानीको मूल्य स्थिर र उच्च रहने गरेको देखिएकाले यसको उत्पादन विस्तारलाई दिगो आयआर्जनको आधारका रूपमा हेरिएको अध्यक्ष ठकुरीले बताए । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्