नेभिगेशन
अर्थतन्त्र
निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको चेतावनी

‘नीतिगत कब्जा र राजनीतिक साँठगाँठ सह्य हुँदैन’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्र भ्रष्टाचार, नीतिगत कब्जा र राजनीतिक साँठगाँठमा संलग्न हुने प्रवृत्ति अब सह्य नहुने चेतावनी दिएका छन् । काठमाडौंमा शनिबार आयोजित बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियमलाई सम्बोधन गर्दै उनले सरकारले इमानदार उद्योगी, व्यवसायीलाई संरक्षण गर्ने तर, फटाहा र अपारदर्शी गतिविधिमा संलग्नहरूलाई कानुनी कठघरामा उभ्याउने बताए ।
मुलुकको आर्थिक संरचना लामो समयदेखि सीमित समूहको प्रभावमा परेको उल्लेख गर्दै उनले व्यापारिक समुदाय र भ्रष्ट राजनीतिज्ञबीचको अपवित्र सम्बन्ध वर्तमान सरकारले अन्त्य गर्ने पनि स्पष्ट पारे । ‘निजी क्षेत्र उद्यमशीलता इमानदारिताको जगमा उभिनुपर्छ, नीतिगत सेटिङ र संस्थागत क्रोनिजमको अब अन्त्य हुन्छ,’ उनले भने । 
विगतको प्रणालीप्रति तीव्र असन्तुष्टि जनाउँदै अर्थमन्त्री वाग्लेले  इमानदार व्यक्ति पनि कानुनी जटिलतामा फसेर अन्ततः बेइमान बन्न बाध्य हुने अवस्था रहेकाले अब यही विकृत संरचनालाई सफा गर्ने लक्ष्यसहित सरकार अघि बढेको बताए । ‘अहिलेको वर्षलाई खिल निकाल्ने वर्षका रूपमा लिएका छौं,’ उनले भने, ‘यसले पुराना विकृत संरचनाहरू भत्काउनेछ ।’ उनले अहिले राजनितिक रुपान्तरणको चरण भएकाले यसले केही पक्षलाई पीडादायी असर पनि पार्न सक्ने बताए । 
उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि देशमा भएको पदीय दुरुपयोग, लुट र संस्थागत कब्जाका प्रतिवेदनहरू अध्ययन गर्दा आफू नै काँप्ने अवस्थामा पुगेको जिकिर गरे । उनले बिगतमा जे–जे भए पनि अब जनतामाथि भएको त्यो स्तरको आर्थिक अपराध रोक्न आफूले काम गर्ने प्रतिबद्धता उनको थियो । 
सरकारको भूमिका लगानी प्रोत्साहन गर्न लगानीमैत्री वातावरण बनाउने र निजी क्षेत्रले त्यसमा लगानी विस्तार गर्ने भएको उल्लेख गर्दै उनले सार्वजनिक लगानीले निजी लगानीलाई बहुगुणात्मक रूपमा आकर्षित गर्नुपर्नेमा जोड दिए । ‘हामी परिवर्तन थोपर्दैनौं, तर त्यस्तो परिवर्तन सम्भव बनाउने संरचना तयार गर्छौं,’ उनले भने ।
सरकारले विकासमा बाधा पु¥याउने अव्यवहारिक र व्यवसायमैत्री नभएका कानुनहरू हटाउने काम सुरु भइसकेको बताउँदै मन्त्री वाग्लेले आफ्नो कार्यकालको पहिलो दिनमै १५ वटा पुराना कानुन खारेज गरिएको र व्यवसायीलाई दुःख दिने केही सरकारी संरचनाहरू हटाइएको बताए ।
उनले नेपालले भूपरिवेष्ठित अवस्थाको सीमिततालाई ‘डिजिटल अर्थतन्त्र’ मार्फत पार गर्नुपर्ने र डिजिटल प्रविधिको प्रयोगबाट ‘तौल र दूरीरहित’ आर्थिक गतिविधि विस्तार गर्दै विश्व बजारसँग प्रत्यक्ष जोडिन सकिने बताए । 
उनले सामाजिक न्यायलाई आर्थिक वृद्धिसँगै अघि बढाउनुपर्नेमा पनि जोड दिए । ‘हामी धनी भएपछि मात्र गरिबमा लगानी गर्ने होइनौं, अहिलेको स्रोतले नै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा लगानी बढाउनुपर्छ,’ उनले भने । यसले मध्यम वर्गलाई सुदृढ बनाउने र विकासको प्रतिफल समाजका सबै तहसम्म पु¥याउने विश्वास उनले व्यक्त गरे ।
कनेक्टिभिटी, ऊर्जा, सडक, डिजिटल पूर्वाधार र उड्डयन क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा उल्लेख गर्दै उनले विगतमा यी क्षेत्रहरूमा भएको भ्रष्टाचार र राजनीतिक हस्तक्षेपले देशलाई पछाडि पारेको बताए । अब ती क्षेत्रहरूलाई पारदर्शी र प्रतिस्पर्धी बनाइने उनले स्पष्ट पारे ।
अर्थमन्त्री वाग्लेले नेपालका प्राकृतिक स्रोत, पर्यटन, संस्कृति र मानव संसाधनलाई देशको ‘सफ्ट पावर’ का रूपमा व्याख्या गर्दै उच्च मूल्यको पर्यटन, वैदेशिक लगानी र निर्यात प्रवद्र्धनमार्फत आर्थिक उन्नति सम्भव रहेको बताए । भारत र चीनबीचको अवस्थिति पनि अवसरका रूपमा उपयोग गर्नुपर्ने उनले जोड दिए । भारतको डिजिटल विकास अनुभवलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालले पनि सानो आकारको फाइदा उठाएर छिटो र प्रभावकारी सुधार लागू गर्न सक्ने बताए ठूलो जनसंख्या भएको देशले डिजिटल रूपान्तरण गर्न सक्छ भने नेपालले पनि सक्ने उनको भनाई छ । 
उनले आगामी पाँचदेखि सात वर्षभित्र नेपालको प्रतिव्यक्ति आय दोब्बर बनाउने लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज र प्रवासी नेपाली सबैको सहकार्य आवश्यक रहेको बताए । अर्थमन्त्री वाग्लेले इमानदारलाई प्रोत्साहन र भ्रष्टलाई दण्डका आधारमा नयाँ आर्थिक युग सुरु हुने दाबी समेत गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्