नेभिगेशन
अर्थतन्त्र

स्टार्टअप कर्जाका लागि १३०१ योजना सर्टलिस्ट

काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिएकामध्ये १ हजार ३ सय १ योजना प्रारम्भिक सूचीमा छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आवेदन परेका १० हजार २ सय ४४ बाट प्रारम्भिक छनोट गरेको हो । 
यी आयोजनालाई स्टार्टअप कर्जाको प्रारम्भिक सूचीमा छनोट नामावली सार्वजनिक गरिएको छ । उद्यमीहरूले ८ हजार २ सय ३ अनलाइन र २ हजार ४१ भौतिक रूपमा दर्ता गराएका थिए । 
प्रतिष्ठानको प्रारम्भिक सूचीमा नाम परेका उद्यमीले आफूलाई प्रतिष्ठानबाट प्राप्त म्यासेजमा रहेको लिंक वा वेबसाइटमार्फत थप मूल्यांकनका लागि आवश्यक फाराम भर्नुपर्नेछ । प्रतिष्ठानले आगामी बुधबार (वैशाख २३ गते) भित्र थप प्रक्रियाका लागि फाराम भरेर पठाउन आग्रह गरेको छ । अन्तिम छनोट प्रक्रियामा पर्ने स्टार्टअप योजनाले नै उद्यम कर्जा पाउने प्रतिष्ठानले जनाएको छ । 
विगतका वर्षहरूमा स्टार्टअप कर्जाका लागि आवेदन दिएकाहरूले नक्कली विवरण पेस गरेको पाइएपछि प्रतिष्ठानले यसपटक भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्बन्धित स्थानीय तहमा पत्राचार गरी स्टार्टअप कर्जाका लागि आवेदन परेका योजना वास्तविक हुन् कि होइनन् भन्ने जाँच गर्न गराएको थियो । 
स्टार्टअप कर्जाका लागि यो वर्ष ८६ करोड रुपैयाँ बजेट रहेको प्रतिष्ठानका सूचना अधिकारी मनिराम गौतमले जानकारी दिए । सुरुमा स्टार्टअप कर्जाका लागि ७३ करोड रुपैयाँ बजेट छुट्याएको भए पनि पनि अन्य शीर्षकबाट रकमान्तर गरेर यो बजेटलाई कुल ८६ करोड रुपैयाँ पु¥याइएको हो । 
अन्तिम प्रक्रियामा छनोटमा पर्ने स्टार्टअप उद्यमीले ५ लाख रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्म कर्जा पाउने प्रतिष्ठानले जनाएको छ ।  यो वर्ष कृषि, पर्यटन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, अटोमोबाइल र खनिज अनुसन्धान लगायत क्षेत्रका स्टार्टअप उद्यमीहरूले कर्जा पाउने भएका छन् ।
यही कार्यक्रमका लागि गत वर्ष १ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा ८८ करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्