नेभिगेशन
प्रदेश

माथिल्लो मोदी ‘ए’ मा स्थानीय अवरोध

काम रोक्न निर्माण कम्पनीलाई दबाब

काठमाडौं । स्थानीयबासीले विभिन्न माग राख्दै कास्कीमा निर्माणाधीन ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनाको निर्माण रोक्न दबाब दिएका छन् । तोरणबहादुर क्षेत्री अध्यक्ष रहेको संघर्ष समितिले शनिबार सिभिलतर्फको काम गरिरहेको हाइ हिमलयन हाइड्रो कन्स्कट्रक्सन कम्पनीलाई पत्र लेखी आयोजनाको बाँध, सुरुङ र विद्युतगृहको निर्माण रोक्न दबाब दिएको हो । 
यो आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक मोदी जलविद्युत कम्पनीमार्फत निर्माण भइरहेको भए पनि स्थानीय संघर्ष समितिले सिभिलतर्फको काम गरिरहेको निर्माण कम्पनीलाई पत्र पठाएर काम रोक्न भनेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय क्षेत्रको विकासमा काम गर्न ३१ बुँदे माग राखेपनि सम्बोधन नभएको भन्दै निर्माण नै ठप्प पाने चेतावनी दिएको हो । 
संघर्ष समितिले ३१ बुँदे मागपत्र पेस गर्दा आयोजनाकातर्फबाट चरणबद्ध रूपमा कार्यान्वयन गर्ने सहमति गरिएको  भएपनि हालसम्म कुनै काम सुरु नभएको आरोप लगाएको छ । आयोजनाबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकास, रोजगारी र अन्य सुविधाको सुनिश्चितता हुनुपर्ने स्थानीयको माग छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गतका काम गर्ने दायित्व प्रवद्र्धक कम्पनीको भएको भए पनि निर्माण कम्पनीलाई पत्र लेखेर त्रास फैलाउने काम भएको हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीका अध्यक्ष किरण मल्लले बताए । ‘स्थानीयको माग पूरा गर्ने हामी आधिकारिक होइनौं,’ उनले भने, ‘एकै पटक गुन्डागर्दी शैलीमा निर्माण रोक्नु भनेर पत्र पठाउँदा आयोजना स्थलमा हाम्रा लागि त्रासको वातावरण बनेको छ ।’
उनले एउटा गतिमा भइरहेको आयोजना रोकिँदा निर्माण कम्पनीलाई ठूलो आर्थिक नोक्सानीका साथै  निर्माण उपकरण र जनशक्ति व्यवस्थापन तथा लगानीमा गम्भीर असर पर्ने बताए । स्थानीयले प्रवद्र्धक कम्पनीसँग छलफल गरेर सहमतिमा पुग्नुको सट्टा निर्माण कम्पनीलाई काम रोक्न दवाव दिनु उपयुक्त नहुने पनि मल्लले बताए । 
स्थानीय र आयोजना पक्षबीच समन्वय अभावका कारण माथिल्लो मोदी ‘ए’ मा विवाद चुलिँदै गएको देखिएको छ । यो आयोजना विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको छ । आयोजना निर्माण सम्पन्न गर्न १० अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्