नेभिगेशन
अर्थतन्त्र

वाग्मतीका मुख्यमन्त्रीको घर र कार्यालयमा छापा

छापा मारेको आपत्ति जनाएका बानियाँले भने, ‘अनुसन्धानमा सघाउँछु’

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा मारेको छ । विभागले सोमबार उनको घर र निजी कम्पनीको कार्यालयमा एकसाथ छापा मारेको हो ।
काठमाडौंस्थित नक्सालमा रहेको उनको निजी कम्पनीको कार्यालय, सुन्धारास्थित कार्यालय, हेटौंडास्थित घर र कार्यालयमा छापा मारेको हो । निर्माण व्यवसायीसमेत रहेका बानियाँ कांग्रेसका वाग्मती प्रदेश सभापति पनि हुन् । विभागले उनको हेटौंडा र काठमाडौंस्थित घर र कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।
मुख्यमन्त्री बानियाँले आफ्नो निवास तथा कार्यालयमा विभागले छापा मार्दा आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको भन्दै आपत्ति जनाएका छन् । विज्ञप्ति जारी गर्दै उनले यो घटनाले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँदछु,’ विज्ञप्तिमा भनिएको छ ।
बानियाँले आफू सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्दै प्रदेश सरकारको खर्च कटौती तथा आर्थिक मितव्ययिताका लागि निरन्तर प्रयासरत रहेको बताएका छन् । योजना तथा कार्यक्रमहरू आवश्यकता र औचित्यका आधारमा पारदर्शी ढंगले अगाडि बढाइएको पनि उनले दाबी गरेका छन् । राजनीतिक तथा व्यावसायिक जीवनबारे हुने छानबिनलाई सकारात्मक रूपमा लिएको जनाउँदै बानियाँले राज्यका कुनै पनि निकायले अनुरोध गर्दा उपस्थित हुन तयार रहेको पनि बताएका छन् । 
मुख्यमन्त्री बानियाँले संवैधानिक तथा कानूनी दायराभित्र रहेर हुने अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै उक्त घटनाबाट प्रदेशवासी र आफ्ना शुभेच्छुकहरू भ्रमित नहुन आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्