भारतको दक्षिणी राज्य तमिलनाडुमा एउटा लामो र अनौठो राजनीतिक परम्परा छ, यहाँ सिनेमाले मनोरञ्जन मात्र दिँदैन, शासन पनि गर्छ ।
जनप्रिय अभिनेता एमजी रामचन्द्रन (एमजीआर) र जयललिताको अत्यन्त सफल राजनीतिक पारीदेखि रजनीकान्त, कमल हसन, खुश्बु र विजयकान्तका मिश्रित प्रयोगहरूसम्म आइपुग्दा यस राज्यले पटक–पटक सिनेमाका दिग्गजहरू पूर्णकालीन राजनीतिज्ञ बनेको देखेको छ । एमजीआर र जयललिता त मुख्यमन्त्री नै बने ।
अहिले यही सूचीमा नयाँ नाम थपिएको छ, तमिल फिल्म उद्योगका सुपरस्टार सी. जोसेफ विजय । उनी ‘थलपति’ (सेनापति) विजयका रूपमा चर्चित छन् ।
उनले सन् २०२४ मा आफ्नो राजनीतिक दल ‘तमिलगा वेत्री कलगम’ (टीभीके) स्थापना गरे र लगत्तै पूर्णकालीन राजनीतिको लागि अभिनय यात्रा त्याग्ने घोषणा गरे । सबैभन्दा कान्छो राजनीतिक पार्टीका रुपमा चुनावमा उत्रिएका थलपति विजयको पार्टी टीभीकेले यो समाचार तयार पारुञ्जेलसम्म ९६ वटा सिटमा जित दर्ज गरिसकेको छ भने थप ११ वटा सिटमा अग्रता कायम गरेको छ । यस हिसाबले उनको पार्टी तमिलनाडु राज्यकै सबैभन्दा ठूलो दल बन्न सफल हुने भएको छ ।
एमजीआर र जयललिताले सत्तामा पकड जमाउनुअघि आफ्नो सक्रिय अभिनय जीवनबाट विश्राम लिएका थिए । तर सिनेमा र राजनीति दुवैलाई सँगै लैजाने कमल हसनको शैलीले चुनावी राजनीतिमा खासै ठूलो सफलता पाउन सकेन । विजयकान्तको पार्टी सुरुमा तीव्र गतिमा उदाए पनि सङ्गठनात्मक रूपमा टिक्न सकेन । तमिल राजनीतिले अधूरो प्रयासलाई विरलै स्वीकार गर्छ ।
चेन्नईका चलचित्र समीक्षक आदित्य श्रीकृष्ण भन्छन्, ‘विजयको लोकप्रियता अभिनय क्षमतामा मात्र टिकेको छैन । फिल्मोग्राफीको हिसाबले उनी कमल हसन वा रजनीकान्त जस्ता होइनन् । तर उनको बक्स अफिस कलेक्सन र फ्यान फलोइङ निकै ठूलो र प्रभावशाली छ । नृत्य, हास्य र जनमुखी सिनेमाको गहिरो बुझाइ नै उनको शक्ति हो ।’
चलचित्र प्राज्ञ तथा समीक्षक प्रितम के. चक्रवर्तीका अनुसार विजयको यो उचाइ संयोग मात्र होइन । ‘यसको बीउ उनका बुबाले रोपेका थिए, जो कम्युनिष्ट विचारधारा राख्थे र राजनीतिमा लाग्न इच्छुक थिए ।’
सन् १९८० को दशकमा बाल कलाकारको रूपमा यात्रा सुरु गरेका विजयले सन् १९९२ मा उनका बुबा फिल्मकर्मी एस.ए. चन्द्रशेखर र आमा शोभा चन्द्रशेखरले ‘नालैया थीर्पु’ फिल्ममार्फत उनलाई मुख्य अभिनेताको रूपमा भिœयाएका थिए । त्यो फिल्म फ्लप भयो, तर उनको करियर रोकिएन ।
पछिल्ला तीन दशकमा करिब ७० वटा चलचित्रमा अभिनय गर्दै उनले आफ्नो छवि निकै सन्तुलित रूपमा अघि बढाए । सन् १९९० को दशकको अन्त्यतिर प्रेमी नायक, सन् २००० को दशकमा विद्रोही युवा र २०१२ पछि रक्षक एवं न्यायकर्ताको रूपमा उनी पर्दामा देखा परिरहे र दर्शक बटुलिरहे ।
सुरुका दिनमा विजयका भूमिकाहरूमा पुरुषवादी अहंकार झल्किने गरे पनि श्रीकृष्णका अनुसार पछि उनले सचेत रूपमा आफ्नो छवि सुधार गरे । उनले आफ्ना फिल्महरूमा सामाजिक न्यायसँग जोडिएको ‘मुक्तिदाता’को भूमिका निर्वाह गर्न थाले । ‘कत्थी’मा किसानका समस्या, ‘मार्सल’मा स्वास्थ्य क्षेत्रको भ्रष्टाचार, ‘बिगिल’मा महिला खेलकुदको समर्थन र ‘सरकार’मा चुनावी धाँधलीका विषय उठाए ।
‘अहिलेका विजय फरक छन् । पर्दामा देखिने उनको भ्रष्टाचार विरोधी, संयमित र नैतिक छविले द्रविड राजनीतिको नैतिक कल्पनालाई प्रतिविम्बित गर्छ, जसलाई तमिल दर्शकहरूले सहजै चिन्छन्,’ चक्रवर्ती भन्छन् ।
विजयले पार्टी खोल्नुभन्दा धेरैअघि नै उनका फिल्महरूले वैचारिक आधार तयार पारिसकेका थिए । उनका फिल्मका ‘अडियो लन्च’ कार्यक्रमहरू राजनीतिक सम्बोधन जस्तै हुन्थे र फ्यान क्लबहरू विस्तारै भुइँतहका सञ्जालमा परिणत भए ।
उनका फ्यानहरूको क्रेज छुट्टै खालको हुन्छ— प्रदर्शनको पहिलो दिन उत्सव मनाउने, मध्यरात र बिहान ४ बजेका शोहरू चल्ने, अग्ला कट–आउटहरूमा दूध चढाउने, माला लगाइदिने र बाजागाजासहित सिट्टी बजाउने गरिन्छ ।
श्रीकृष्ण भन्छन्, ‘विजय अझै पनि फिल्म रिलिजलाई नागरिक उत्सवमा परिणत गर्ने क्षमता राख्छन् । यति ठूलो प्रभाव भएका मेगास्टारहरूमध्ये सायद उनी नै अन्तिम हुन् ।’
उनको पछिल्लो ‘जन नायकन’ पूर्ण रूपमा त्यही मिथकमा आधारित छ । ‘म राजनीतिमा लुट्न होइन, सेवा गर्न आएको हुँ’ जस्ता संवादले फिल्म र उनको वास्तविक उद्देश्यबीचको रेखालाई मेटाउने प्रयास गरेको छ । यसले विजयको राजनीतिक ¥यालीका भाषणहरूलाई पनि सम्झाउँछ, जहाँ उनले सत्तारुढ डीएमकेलाई प्रहार गर्दै मुख्यमन्त्री एम.के. स्टालिनलाई ‘अंकल’ भनेर जिस्क्याउने गरेका छन् । साथै, उनले आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) को विपक्षमा उभ्याएका छन् ।
चक्रवर्तीका अनुसार ५० वर्षभन्दा लामो समयदेखि राज्यमा शासन गरिरहेका द्रविड पार्टीहरूबाट थाकेका धेरै युवाहरूले विजयलाई एउटा विकल्पको रूपमा हेरेका थिए ।
राजनीतिक विश्लेषक सुमन सी. रमण भन्छन् कि क्षेत्रीय पहिचान र सामाजिक न्यायको राजनीति गर्ने पुराना पार्टीहरूसँग असन्तुष्ट युवा पुस्तामा विजयको राम्रो प्रभाव छ । ¥यालीमा ठूलो भीड जम्मा हुन्थ्यो, धेरैलाई सिनेमाको चमक चुनावी भोटमा परिणत हुन्छ कि हुँदैन भन्ने चासो थियो ।
सेप्टेम्बर २०२५ मा करुरमा भएको टिभीकेको ¥यालीमा भागदौड मच्चिँदा ४० जनाको मृत्यु भएको थियो, जसले गर्दा उनको पार्टीको सांगठनिक तयारी र विजयको नेतृत्व क्षमतामाथि प्रश्न उठ्ने गरेको थियो ।
उक्त घटनाले उनलाई भाषण रोक्न बाध्य बनायो र पीडितहरूलाई तत्काल भेट्न नगएकोमा उनको आलोचना पनि भयो । पछि उनले यसलाई ‘मर्माहत’ बनाउने घटना भन्दै आर्थिक सहयोगको घोषणा गरे ।
अहिलेसम्म विजयको एजेन्डा भ्रष्टाचार विरोध, सामाजिक न्याय, तामिल गौरव र केन्द्र सरकारको कथित तानाशाहीविरुद्धको प्रतिरोध जस्ता व्यापक विषयहरूमा केन्द्रित छ ।
पर्दामा होस् वा राजनीतिमा, विजयले आफूलाई ‘नैतिक सुधारक’ को रूपमा प्रस्तुत गरिरहेका थिए । उनले बहसभन्दा बढी भावनात्मक र भक्तिपूर्ण निष्ठा पाइरहेका थिए । त्यही निष्ठा भोटमा परिणत भएको छ ।
अब पर्दाको नायकजस्तो उनले सर्वसाधारणको असन्तुष्टि तुष्टि गर्न उनी सफल हुने हुन् कि होइनन्, सर्वत्र चासोको विषय बन्न पुगेको छ ।