नेभिगेशन
खेलकुद

विश्वकप प्रदर्शन अधिकार भारत र चीनमा अनिश्चित

विश्वका दुई सबैभन्दा धेरै जनसंख्या भएका देश भारत र चीनका करोडौं फुटबल समर्थकले अर्को महिना सुरु हुने फिफा विश्वकप २०२६ हेर्न नपाउने जोखिम देखिएको छ । कारण, भारतमा प्रसारण अधिकारमा सहमति नहुनु र चीनमा आधिकारिक निर्णय नआउनु ।
भारतमा रिलायन्स इन्डस्ट्रिज–वाल्ट डिज्नीको संयुक्त लगानी रहेको जियो टेलिकमले २०२६ को विश्वकप प्रसारण अधिकारका लागि २ करोड डलर प्रस्ताव गरेको छ । यो रकम फिफाले मागेको भन्दा निकै कम भएकाले स्वीकार्य नभएको स्रोतहरूले जनाएका छन् । उता सोनी टेलिभिजनले पनि फिफा विश्वकप प्रशारण अधिकारका लागि छलफल गरे पनि अन्ततः उसले नपाउने देखिएको छ ।
उता चीनमा पनि हालसम्म कुनै सम्झौता घोषणा भएको छैन । सन् २०२२ को विश्वकपमा डिजिटल र सामाजिक सञ्जालमा कुल दर्शक समयको झण्डै ४९.८% हिस्सा चीनकै थियो । अघिल्ला विश्वकपहरू (२०१८ र २०२२) मा चाइना सेन्ट्रल टेलिभिजन (सीसीटिभी)ले समयमै अधिकार लिएर प्रचारसमेत सुरु गरिसकेको हुन्थ्यो ।
सन् २०२२ को विश्वकपमा टेलिभिजन पहुँचमा चीनको हिस्सा १७.७% र भारतको २.९% थियो भने डिजिटल स्ट्रिमिङमा दुवै मिलेर २२.६% पुगेका थिए ।
यसपटकको विश्वकप जुन ११ देखि सुरु हुँदैछ । तर अहिलेसम्म फिफाको प्रसारण अधिकार कसले पाउने भन्ने सम्झौता नहुँदा प्रसारण तयारी र विज्ञापन व्यवस्थापनका लागि सीमित समय मात्र रहेको देखिएको छ ।
स्रोतका अनुसार, फिफाले सुरुमा २०२६ र २०३० विश्वकपका लागि भारतबाट करिब १० करोड डलर मागेको थियो । तर रिलायन्स–डिज्नी समूह त्यो रकम दिन तयार भएन । 
भारतमा सन् २०२२ विश्वकपका लागि रिलायन्सले करिब ६ करोड डलरमा अधिकार लिएको थियो । त्यो बेला उसले ११ करोडभन्दा बढी डिजिटल दर्शक आकर्षित गर्न सफल भएको थियो । तर यसपटक प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोमा हुने भएकाले अधिकांश खेल भारतमा मध्यरातपछि प्रसारण हुनेछन् । यस कारण दर्शक संख्या ह्वात्तै घट्न सक्ने आकलन गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्