नेभिगेशन
मनोरञ्जन

शाकिराको कन्सर्टमा २० लाख दर्शक

ब्राजिलको रियो दि जेनेरियोस्थित कोपाकाबाना समुद्रकिनारमा शनिबार आयोजित कोलम्बियाली पप गायिका शाकिराको निःशुल्क कन्सर्टमा करिब २० लाख संगीतप्रेमी सहभागी भएको सहरका अधिकारीहरूले आइतबार जनाएका छन् । यो उनको करिअरकै सबैभन्दा ठूलो कार्यक्रम मानिएको छ ।
रियोको चर्चित समुद्रकिनारमा हुने यस्ता भव्य कार्यक्रमहरू सहरका लागि ठूलो आकर्षण बन्दै गएका छन् । पछिल्ला वर्षहरूमा म्याडोना र लेडी गागाले पनि त्यहीँ विशाल प्रस्तुति दिएका थिए ।
यस्ता कार्यक्रमहरू ‘टोडो मुन्डो नो रियो’ उत्सवमार्फत पर्यटन प्रवर्धन र अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्न प्रयोग भइरहेका छन् । खासगरी मे महिनामा यहाँ निकै कम पर्यटक आउने भएकाले पर्यटकहरूको आकर्षणका लागि सहरले यस्तो सांगीतिक पर्वको आयोजना गर्न थालेको हो ।
कार्यक्रमको सुरुवात ड्रोन प्रदर्शनबाट भएको थियो । जसले समुद्र–किनारमाथि शाकिरासँग सम्बन्धित ‘ब्वाँसो’को आकृति देखाएको थियो । त्यसपछि उनले पोर्चुगिज भाषामा दर्शकलाई सम्बोधन गरिन् ।
४९ वर्षीया उनले ‘हिप्स डोन्ट लाइ’, ‘एन्थोलोजिया’ र २०१० को विश्वकपको चर्चित गीत ‘वाका वाका’जस्ता लोकप्रिय गीत प्रस्तुत गरेकी थिइन् । साथै ब्राजिलका कलाकार अनिट्टा, काएतानो भेलोसो, मारिया बेथानिया र इभेटे सांगालोसँग संयुक्त प्रस्तुति दिइन् ।
यस कन्सर्टले करिब १६ करोड डलर बराबरको आर्थिक गतिविधि सिर्जना गरेको छ । यो कार्यक्रमले होटल, रेस्टुरेन्ट, यातायात र खुद्रा व्यापार क्षेत्र लाभान्वित बनाएको थियो ।
अधिकारीहरूले ‘टोडो मुन्डो नो रियो’ उत्सवलाई कम्तीमा सन् २०२८ सम्म सहरको आधिकारिक कार्यक्रम तालिकामा राखिने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन