नेभिगेशन
विश्व

इरान युद्ध लम्बिँदा महँगीले ट्रम्पलाई राजनीतिक दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक समय अमेरिका–इजरायलको इरानसँगको युद्ध छ हप्ताभन्दा लामो नहुने भविष्यवाणी गरेका थिए । तर युद्ध अहिले तेस्रो महिनामा प्रवेश गरिसकेको छ ।
यस द्वन्द्वले सन् १९७० को दशकका तेल संकटजस्तै विश्वव्यापी ऊर्जा झट्का दिएको छ । यसका कारण इन्धनदेखि खाद्य सामग्रीसम्मको मूल्य बढेको छ । यद्यपि अमेरिकामा पहिले नै महँगीको दबाब झेलिरहेका नागरिकमाथि थप बोझ परे पनि सन् २०२६ को पहिलो त्रैमासिकमा अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको देखिएको छ ।
अमेरिकाको पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर सार्वजनिक हुँदा केही राहत देखिए पनि नोभेम्बरमा हुने मध्यावधि चुनाव नजिकिँदै गर्दा र युद्ध अन्त्य हुने कुनै संकेत नदेखिँदा आर्थिक सूचकहरू राष्ट्रपति ट्रम्पका लागि महŒवपूर्ण बनेका छन् ।
आर्थिक वृद्धितर्फ हेर्दा, सन् २०२६ को पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्र वार्षिक आधारमा २ प्रतिशतले बढेको छ, जुन सन् २०२५ को अन्त्यतिरको सुस्ततापछि उल्लेखनीय सुधार हो । अमेरिकी शुल्क (ट्यारिफ) र इरान युद्धबाट उत्पन्न ऊर्जा संकटका कारण उपभोक्तामाथि दबाब परे पनि खपत वार्षिक रूपमा १.६ प्रतिशतले बढेको अर्थशास्त्रीहरू बताउँछन् । साथै, कृत्रिम बुद्धिमत्ता विस्तारमा टेक कम्पनीहरूले गरेको ठूलो लगानीले आर्थिक वृद्धिलाई बल दिएको उल्लेख गरिएको छ ।
तर चुनावको सन्दर्भमा नागरिकका लागि मुख्य चासो भने महँगी नै बनेको छ । इरानमाथि अमेरिकी आक्रमण र हर्मुज जलडमरूमध्य बन्द भएपछि तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १२६ डलरसम्म पुगेको थियो, जुन चार वर्षकै उच्च स्तर हो । युद्ध सुरु हुनुअघि भने यसको मूल्य करिब ७३ डलर थियो ।
यसको असर प्रत्यक्ष रूपमा उपभोक्तामा परेको छ । अप्रिल अन्त्यसम्म अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४.३० डलर पुगेको छ, जुन फेब्रुअरीमा ३ डलरभन्दा कम थियो । यसले मुद्रास्फीति बढाउँदै मार्चमा वार्षिक मूल्यवृद्धि दर ३.३ प्रतिशत पुगेको छ, जुन झण्डै दुई वर्षयताकै उच्च हो ।
महँगी बढेसँगै फेडरल रिजर्भले ब्याजदर घटाउने अपेक्षा पनि टुटेको छ । केन्द्रीय बैंकले आधार दर ३.५ देखि ३.७५ प्रतिशतमै स्थिर राखेको छ । युद्धअघि भने अर्थशास्त्रीहरूले ब्याजदर घट्ने अपेक्षा गरेका थिए ।
यसबीच ३० वर्षे गृह ऋणको ब्याजदर पनि बढेको छ, जुन ५.९८ प्रतिशतबाट ६.३ प्रतिशत पुगेको छ । विश्लेषकहरूका अनुसार तेलको मूल्य उच्च रहिरहे र इरानमाथिको नाकाबन्दी दीर्घकालीन भयो भने ब्याजदर कटौती सन् २०२७ सम्म ढिला हुन सक्छ ।
यता शेयर बजारमा लगानी गर्ने अमेरिकीहरूका लागि भने अवस्था सकारात्मक देखिएको छ । एसएन्डपी ५००, डअ जोन्स इन्डस्ट्रियल एभरेज र नास्डाक कम्पोजिटले युद्धको सुरुवाती गिरावट पूर्ति गर्दै पुनः उकालो समातेका छन् । नास्डाक सूचक करिब १० प्रतिशतले बढेको छ भने एस एन्ड पी ५ प्रतिशत र डाउ जोन्स १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
यस्ता सूचकहरूले लगानीकर्तालाई राहत दिए पनि आम मतदाताका लागि महँगी नै मुख्य मुद्दा बनेको छ । रिपब्लिकन पार्टी प्रतिनिधिसभा गुमाउने र सिनेटमा पनि जोखिममा रहेको अवस्थामा नोभेम्बरको चुनावको नतिजा धेरै हदसम्म अर्थतन्त्रकै अवस्थाले निर्धारण गर्ने देखिन्छ ।
समग्रमा, आर्थिक वृद्धिदर र शेयर बजारले केही सकारात्मक संकेत दिए पनि महँगीको चर्को दबाबले ट्रम्प प्रशासनलाई राजनीतिक रूपमा चुनौतीपूर्ण अवस्थामा राखेको छ । आगामी दिनमा इरान युद्धको दिशा, होर्मुज जलडमरु पुनः खुल्ने वा नखुल्ने र त्यसको प्रभाव इन्धन तथा खाद्य मूल्यमा कस्तो पर्छ भन्ने कुरा नै अमेरिकी मतदाताको निर्णयमा निर्णायक बन्ने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्