नेभिगेशन
विश्व

कडा दबाबका बीच इरानको ‘छाया तेल व्यापार’ फस्टाउँदै

अमेरिकाको कडा प्रतिबन्धका बीच पनि इरानले आफ्नो तेल चीनलाई बेचिरहेकै छ । इरानले युद्धका लागि आवश्यक रकम चीनमार्फत जुटाइरहेको भन्दै इरानले चीनसँग गरिरहेको गोप्य तेल व्यापार कटौती गर्न अमेरिकाले तीव्र प्रयास गरिरहेको छ । 
इरान र चीनबीच सानो स्तरबाट सुरु भएको यो व्यापार अहिले हरेक वर्ष तेहरानतर्फ अर्बौँ डलर पठाउने विशाल नेटवर्कमा रूपान्तरण भइसकेको दाबी द वाल स्ट्रिट जर्नल अखबारले गरेको छ ।
इरानमाथि दबाब बढाउन अमेरिकाले बन्दरगाह नाकाबन्दी गर्ने र तेल बोकेका ट्यांकरहरू रोक्ने रणनीति अपनाइरहेको छ । यससँगै वासिङ्टनले पछिल्लो समय चीनका निजी रूपमा सञ्चालन हुने ‘टिपट’ भनिने साना रिफाइनरीहरूलाई लक्षित गर्न थालेको छ । यी रिफाइनरीहरूले इरानबाट निर्यात हुने प्रायः सबै तेल खपत गर्छन् ।
अमेरिकी अर्थ मन्त्रालयले हालै हेंगली पेट्रोकेमिकलको एक इकाइमाथि प्रतिबन्ध लगाएको छ । उक्त कम्पनीले इरानी पेट्रोलियम खरिदमार्फत अर्बौँ डलरको कारोबार गरेको आरोप लगाइएको छ । साथै, यो व्यापारमा संलग्न भएको आरोपमा ४० वटा ढुवानी कम्पनी र जहाजहरूलाई पनि प्रतिबन्धको सूचीमा राखिएको छ ।
त्यसपछि मंगलबार अमेरिकी निकायले वित्तीय संस्थाहरूलाई चेतावनी दिँदै इरानी तेल प्रयोग गर्ने चिनियाँ रिफाइनरीसँग सम्बन्धित कारोबार सहज बनाएमा उनीहरू पनि कारबाहीको दायरामा पर्न सक्ने संकेत दिएको छ ।
चीनका लागि यी १०० भन्दा बढी ‘टिपट’ रिफाइनरी अमेरिकी प्रतिबन्ध छल्ने महŒवपूर्ण माध्यम बनेका छन् । चीनको परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले एकपक्षीय अमेरिकी प्रतिबन्ध अन्तर्राष्ट्रिय कानूनअनुसार वैध नभएको बताउँदै आफ्ना कम्पनीहरूको अधिकार र हितको रक्षा गरिने बताएका छन् ।
ऊर्जा विश्लेषकहरूका अनुसार चीनले इरानसँगको तेल व्यापार मुख्यतः निजी कम्पनीहरूलाई जिम्मा दिएर एकातिर तेहरानलाई सहयोग गरिरहेको छ भने अर्कोतर्फ अमेरिका र मध्यपूर्वका शक्तिहरूसँगको सम्बन्ध सन्तुलनमा राख्न खोजिरहेको छ ।
अमेरिकी प्रतिबन्ध सूचीमा जहाज, बन्दरगाह र रिफाइनरीहरू पहिले नै परेकाले इरानी तेल व्यापारका लागि छुट्टै समानान्तर प्रणाली विकास भएको छ । यो प्रणालीका कारण चीनको औपचारिक तेल बजारसँग सरकारको सम्बन्ध न्यून छ ।
जहाजहरूको ट्रान्सपोंडर बन्द गर्ने, समुद्रमा जहाजबीच तेल साटासाट गर्ने जस्ता जोखिमपूर्ण तरिकाबाट इरानी तेलको स्रोत लुकाइने गरिएको छ । साथै, भुक्तानी प्रक्रिया मिलाउन इरानसँग सम्बन्धित ‘फ्रन्ट कम्पनी’ प्रयोग गरिन्छ ।
शिप–ट्र्याकिङ कम्पनी भोर्टेक्साकी विश्लेषक एम्मा लीका अनुसार प्रतिबन्धको डर केही हदसम्म घट्दै गएको छ । ‘प्रतिबन्धित बजार यति ठूलो भइसकेको छ कि धेरैले अब प्रतिबन्धलाई खासै जोखिम मान्न छाडेका छन्,’ विश्लेषक ली बताउँछिन् ।
हाल चीनका ‘टिपट’ रिफाइनरीहरूले इरानी तेलको आपूर्ति पाइरहेका छन् । विशेषगरी अमेरिकी नाकाबन्दीअघि पठाइएका ढुवानी उनीहरूले उपयोग गयिररहेका छन् तर दीर्घकालीन नाकाबन्दी जारी रहेमा उनीहरू अन्य देशतर्फ मोडिन बाध्य हुन सक्छन् ।
औपचारिक रूपमा चीनले इरानबाट तेल आयात नगरेको दाबी गर्छ । सन् २०२३ यता चिनियाँ भन्सार अभिलेखमा इरानबाट कच्चा तेल आयात भएको देखिएको छैन तर व्यवहारमा भने गोप्य सञ्जालमार्फत कारोबार जारी छ ।
डलरको सट्टा चिनियाँ युआनमा भुक्तानी गरिने भएकाले यी रिफाइनरीहरू अमेरिकी बैंकिङ प्रणालीबाट अलग रहँदै प्रतिबन्धको असरबाट जोगिएका छन् ।
सन् २०२५ मा चीनको कुल तेल आयातमध्ये करिब १२ प्रतिशत हिस्सा इरानबाट आएको अनुमान गरिएको छ । ‘युनाइटेड अगेन्स्ट न्यूक्लियर इरान’ नामक संस्थाका अनुसार यस वर्षको सुरुसम्म करिब ६०० जहाज यस्तो गोप्य ढुवानीमा संलग्न रहेको शंका गरिएको छ, जुन सन् २०२० को अन्त्यतिरको ७० जहाजभन्दा निकै बढी हो ।
विश्लेषक ड्यानियल रोथ भन्छन्, ‘यी ‘टिपट’ रिफाइनरीहरूले नै तेहरानको शासनलाई आर्थिक रूपमा टिकाइरहेका छन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्