नेभिगेशन
विश्व

पत्रु खान्कीका विज्ञापनमा नेदरल्याण्ड बन्यो अनुदार

नेदरल्याण्डले राजधानी एम्स्टर्डममा पत्रु खान्की र खासगरी मासुजन्य खान्की तथा जीवाश्म इन्धन (डिजल–पेट्रोल)का सार्वजनिक विज्ञापनमा प्रतिबन्ध लगाएको छ । ठूला ठूला बोर्डहरू बनाएर शरीरलाई कालान्तरमा हानि पु¥याउने पत्रु खान्की र जीवाश्म इन्धन उत्पादनका विज्ञापन सार्वजनिक स्थलमा राख्न प्रतिबन्ध लगाएको हो । यही मे १ देखि बर्गर, पेट्रोल कार र एयरलाइन्सका विज्ञापनहरू बिलबोर्ड, ट्राम स्टप र मेट्रो स्टेशनबाट हटाइएका छन् ।
सहरका सबैभन्दा व्यस्त ट्राम स्टपहरूमध्ये एकमा विज्ञापनको दृश्य नै बदलिएको छ । पहिले विज्ञापनहरू देखिने ठाउँमा अहिले हरियो घाँसे घेराभित्र पहेँला ड्याफोडिल र सुन्तले ट्युलिपहरू फुलेको देखिन थालेको छ ।
अहिले त्यहाँ नेदरल्यान्ड्सको राष्ट्रिय संग्रहालय रिक्सम्युजियमको प्रचार र एउटा पियानो कन्सर्टको विज्ञापन देखिन्छ । केही दिनअघिसम्म त्यही ठाउँमा चिकेन नगेट्स, एसयूभी र सस्तो छुट्टी प्याकेजका विज्ञापन देखिन्थे । यो निर्णय एम्स्टर्डमका सडक दृश्यलाई स्थानीय सरकारको वातावरणीय लक्ष्यसँग सामञ्जस्य मिलाउने प्रयास हो ।
यी लक्ष्यअनुसार २०५० सम्म नेदरल्यान्ड्सको राजधानीलाई कार्बन–न्युट्रल बनाउने र त्यही अवधिमा स्थानीय बासिन्दाहरूको मासु उपभोग आधा घटाउने उद्देश्य राखिएको छ । ग्रीनलेफ्ट पार्टीकी एनेके फिनहफ भन्छिन्, ‘जलवायु संकट अत्यन्तै गम्भीर छ । यदि तपाईं जलवायु नीतिमा अग्रणी बन्न चाहनुहुन्छ तर आफ्ना भित्ताहरू त्यसको ठीक विपरीत कुराका लागि भाडामा दिनुहुन्छ भने, तपाईंले जनस्वास्थ्यमा खेलवाड गर्दै हुनुहुन्छ ।’
यो धारणा जनावर अधिकारमा केन्द्रित डच राजनीतिक दल ‘पार्टी फर द एनिमल्स’की एम्स्टर्डम समूह नेतृ आन्के बाकर पनि दोहो¥याउँछिन् । उनले नै यो नयाँ प्रतिबन्ध ल्याउने पहलकर्ता हुन् । यो पहल गर्दा कतिपयले ‘न्यान्नी स्टेट’ बनाउन खोजेको आरोप लगाए पनि उनी अस्वीकार गर्छिन् ।
‘हरेक व्यक्तिले आफ्नै निर्णय लिन सक्छ, तर हामी ठूला कम्पनीहरूले हामीलाई के खानु र के किन्नु भनेर लगातार बताइरहने कुरामा भने चित्त बुझ्दैन,’ बाकर भन्छिन्, ‘एक हिसाबले हामी मानिसहरूलाई अझ स्वतन्त्रता दिइरहेका छौँ, किनकि उनीहरूले आफ्नै छनोट गर्न सक्छन्, होइन र ?’
उनका अनुसार यस्तो निरन्तर दृश्यात्मक प्रभाव हटाउँदा आकस्मिक खरिद घट्छ र सस्तो मासु तथा उच्च प्रदूषणयुक्त यात्रा अब आकर्षक जीवनशैलीको प्रतीक होइन भन्ने सन्देश पनि दिन्छ ।
एम्स्टर्डमको बाह्य विज्ञापन बजारमा मासुको हिस्सा निकै सानो थियो, जम्मा करिब ०.१ प्रतिशत मात्र । जबकि जीवाश्म इन्धनसम्बन्धी उत्पादनहरूको हिस्सा करिब ४ प्रतिशत थियो ।
वास्तवमा, विज्ञापनहरू प्रायः कपडा ब्रान्ड, चलचित्र पोस्टर र मोबाइल फोनले ओगटेका थिए तर राजनीतिक रूपमा यो प्रतिबन्धले एउटा सन्देश दिन्छ । मासुलाई उडान, क्रुज र पेट्रोल–डिजेल कारसँगै राख्दा यसलाई व्यक्तिगत खानपानको विकल्पभन्दा जलवायु मुद्दाका रूपमा पुनःपरिभाषित गरिएको छ ।
स्वाभाविक रूपमा, उद्योगको प्रतिनिधित्व गर्ने डच मासु संघ यस निर्णयबाट असन्तुष्ट छ । उसले यसलाई ‘उपभोक्ता व्यवहार प्रभावित गर्ने अवाञ्छनीय तरिका’ भनेको छ । साथै मासुले ‘आवश्यक पोषक तŒव दिने मात्र नभई यो उपभोक्तामाझ सजिलै उपलब्ध रहनुपर्छ’ भन्ने दाबी गरेको छ ।
यसैबीच, डच ट्राभल एजेन्ट तथा टुर अपरेटर संघले हवाई यात्रा समावेश भएका छुट्टीका विज्ञापनमा प्रतिबन्ध लगाउनु कम्पनीहरूको व्यापारिक स्वतन्त्रतामाथि असमान हस्तक्षेप भएको बताएको छ । ‘फोसिल–फ्री एड्भर्टाइजिङ’ समूहसँग मिलेर काम गरेका वकिल हान्ना प्रिन्स र उनको वातावरणीय संस्था ‘एड्भोकेट्स फर द फ्युचर’ जस्ता अभियन्ताहरूका लागि मासु विज्ञापन प्रतिबन्ध उच्च कार्बनयुक्त खानाका लागि ‘तम्बाकू क्षण’ सिर्जना गर्ने प्रयास हो ।
‘पुराना तस्वीरहरू हेर्दा तपाईं प्रसिद्ध डच फुटबलर जोहान क्रुइफलाई देख्नुहुन्छ,’ प्रिन्स भन्छिन्, ‘उनी तम्बाकूको विज्ञापनमा देखिन्थे । त्यो बेला त्यसलाई सामान्य मानिन्थ्यो तर उनको मृत्यु फोक्सोको क्यान्सरले भयो । पहिले ट्रेन र रेस्टुरेन्टमा धूम्रपान गर्न पाइन्थ्यो । अहिले भने त्यसो गर्नु अपराधको स्तरमा पुगिसकेको छ ।’
डच राजधानीले यो अभियान शून्यबाट सुरु गरेको भने होइन । राजधानी पश्चिममा १८ किलोमिटर टाढा रहेको हार्लेम शहरले २०२२ मै सार्वजनिक स्थानमा अधिकांश मासु विज्ञापनमा प्रतिबन्ध घोषणा गरेको थियो । यो जुन २०२४ मा लागू भयो भने पछि जीवाश्म इन्धन विज्ञापनमा पनि प्रतिबन्ध लगाउन सफल भयो ।
त्यसपछि अन्य दुई शहर उट्रेक्ट र निज्मेगेनले पनि यस्तै उपाय अपनाए । त्यहाँका  नगरपालिकाका बिलबोर्डमा मासु (र निज्मेगेनमा दुग्ध उत्पादन पनि) विज्ञापन गर्न  सीमितता दिइएको छ । त्यहाँ यसअघि नै जीवाश्म इन्धन, पेट्रोल कार र उडानका विज्ञापनमा प्रतिबन्ध लागू भइसकेको छ ।
विश्वभर एडिनबरा, शेफिल्ड, स्टकहोम र फ्लोरेन्सजस्ता दर्जनौँ शहरहरूले जीवाश्म इन्धन विज्ञापनमा प्रतिबन्ध लगाइसकेका छन् वा लगाउने तयारीमा छन् । फ्रान्समा त देशव्यापी प्रतिबन्ध नै छ ।
अभियन्ताहरूले मासु र जीवाश्म इन्धनलाई जोड्ने डच मोडेल अरूले पनि अनुकरण गर्ने कानूनी र राजनीतिक नमूना बन्ला भन्ने आशा गरेका छन् । एम्स्टर्डमको कुनै ट्राम स्टपमा उभिँदा अब तपाईंले रसिला बर्गर वा १९ युरोमा बर्लिन उडानको विज्ञापन देख्न पाउनु हुने छैन । तर त्यही आकर्षक प्रस्तावहरू तपाईंको सामाजिक सञ्जालको एल्गोरिदममा अझै देखिन सक्छन् र सत्य कुरा के हो भने, धेरैजसो मानिस ट्राम आउँदासम्म आफ्नो मोबाइलमै नजर गाडिरहेका हुन्छन् ।
यदि नगरपालिकाका प्रतिबन्धले डिजिटल प्लेटफर्मलाई नछुने हो भने, यसले वास्तविक जीवनमा हाम्रो व्यवहारमा कति प्रभाव पार्छ ? कि यो प्रतीकात्मक नैतिक प्रदर्शन मात्र हुने हो भन्ने प्रश्न केहीले गर्न थालिसकेका छन् ।
अहिलेसम्म सार्वजनिक स्थानबाट मासु विज्ञापन हटाउँदा मानिसहरू बढी वनस्पति–आधारित खानातर्फ लाग्छन् भन्ने प्रत्यक्ष प्रमाण छैन । तर केही अनुसन्धानकर्ताहरू सावधानीपूर्वक आशावादी छन्, खासगरी जनस्वास्थ्य ढाँचाहरू अध्ययन गर्ने महामारीशास्त्री प्रोफेसर जोरिन्टजे म्याकेनबाख । उनी एम्स्टर्डमको यो कदमलाई ‘अध्ययन गर्न लायक उत्कृष्ट प्राकृतिक प्रयोग’ भन्छिन्।
‘हामी जताततै फास्ट फूडका विज्ञापन देख्छौँ भने, त्यसले त्यस्तो खाने बानीलाई सामान्य बनाउँछ,’ उनी भन्छिन्, ‘भोक नलागे पनि खाउँखाउँ बनाउँछ । त्यसैले यदि हामी सार्वजनिक वातावरणबाट यस्ता संकेतहरू हटाउँछौँ भने यसले सामाजिक मान्यतामा पनि प्रभाव पार्छ ।’
उनी लन्डन अन्डरग्राउन्डले २०१९ मा जंक फुड (पत्रु खान्की) विज्ञापनमा लगाएको प्रतिबन्धले त्यस्ता उत्पादनको खरिद घटाएको दाबी गर्ने अध्ययनलाई उदाहरणका रूपमा प्रस्तुत गर्छिन् । एम्स्टर्डमको एक नहर किनारमा उभिएर मुस्कुराउँदै प्रिन्स भन्छिन्, ‘साना स्थानीय व्यवसायहरूलाई यो निर्णयले फाइदा पु¥याउनेछ ।’
‘मेला, राम्रो चीज, छेउकै फूल पसलजस्ता हामीलाई मन पर्ने धेरै कुरा छन् । ती सबै कुरा विज्ञापनबाट होइन, हामीले चिनेका मानिसहरू वा बाटो हिँड्दा देखेर थाहा पाउँछौं,’ उनी भन्छिन्, ‘त्यसैले मलाई लाग्छ स्थानीय व्यवसायहरू फस्टाउनेछन् । ठूला प्रदूषण गर्ने कम्पनीहरू अब डराउनेछन् र आफूले बेचिरहेका उत्पादनबारे पुनर्विचार गर्नेछन् । परिवर्तन सम्भव छ भन्ने कुरा यसले देखाउँछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्