नेभिगेशन
अर्थतन्त्र

बढ्यो बैंक खाताबाटै रकम चोरी

काठमाडौं । अझै भन्नुहुन्छ – ‘नगद बोके हराउने चोरिने डर, बैंक खातामा भए ढुक्क ।’ अब सतर्क हुनुस्, पछिल्लो समय बैंक खाताबाटै पैसा चोरीका घटना बढेका छन् । हात–हातमा स्मार्टफोन छन्, त्यसैमा बैंक खाता र डिजिटल वालेट छन्, जसमा एक ट्यापका भरमा भुक्तानी कारोबार गर्न सकिन्छ । प्रविधिले सहज बनाउँदा चेक काटेर पैसा झिक्नैपर्दैन । मोबाइल एप्स नियन्त्रण गरेर रकम चोरीका घटना बढ्दा प्रहरी सतर्क देखिएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले यसबारे सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने नयाँ तरिका अपनाइरहेको उल्लेख गरेका छन् । ती गिरोहहरूले ‘कनेक्ट आईपीएस’जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सन्देशमा ‘तपाईंको खाता लक गरिएको छ’ भन्दै पुनः पहुँच प्राप्त गर्न ‘एक्सेस रिजन’ गर्न आग्रह गरिन्छ र त्यसका लागि विभिन्न शंकास्पद लिंकहरू पठाइन्छन् । प्रयोगकर्ताले ती लिंकमा क्लिक गरेपछि व्यक्तिगत विवरण संकलन गरी बैंक खातामा अनधिकृत पहुँच पु¥याई ठूलो मात्रामा रकम चोरी गर्ने गरिएको साइबर ब्यूरोले जनाएको छ ।
ब्यूरोले यस्ता साइबर अपराधबाट जोगिनका लागि केही महŒवपूर्ण सुझावहरू पनि दिएको छ । शंकास्पद लिंकहरूमा क्लिक नगर्ने, बैंकिङ कारोबारका लागि सधैं आधिकारिक ‘वेबसाइट’ वा ‘एप’ मात्र प्रयोग गर्ने, आफ्ना बैंकिङ विवरण कसैसँग पनि साझा नगर्ने तथा कुनै पनि संदिग्ध गतिविधि देखिएमा तत्काल प्रहरी, साइबर ब्यूरो वा सम्बन्धित बैंकमा जानकारी गराउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
साइबर अपराधको जोखिम दिन–प्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा सचेतना र सावधानी नै सुरक्षित रहने प्रमुख उपाय भएको ब्यूरोले उल्लेख गरेको छ ।
यसैबीच साइबर ब्यूरो भोटाहिटीको टोलीले साइबर ब्यूरोको नाम लिएर अनलाइन ठगी गर्ने गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी–३ का ३० वर्षीय दीपक लिम्बू, सुनसरीको धरान–९ का २१ वर्षीय सौरव भुजेल, धरान–१३ का २८ वर्षीय सजल राई र इनरुवा–६ का २४ वर्षीय सृजन थापा छन् । ‘साइबर ब्यूरो भोटाहिटीको नाम दुरूपयोग गरी ट्रूकलरमा समेत साइबर ब्यूरो देखिने बनाई पीडितलाई फोन सम्पर्क गरी डर, त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भनी पीडित व्यक्तिहरूको निवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ एसपी गिरीले भने ।
प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उक्त कार्यमा उनीहरू चार जनाको संलग्नता खुल्न आएकाले काठमाडौंबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय, धरानको सहयोगमा पक्राउ गरेको ब्यूरोले जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध विद्युतीय माध्यम सम्बद्ध ठगीअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्