नेभिगेशन
अर्थतन्त्र

सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं । सरकारले जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो ।
समितिका अनुसार समस्याग्रस्त सहकारीका करिव ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्नेछ । तीमध्ये अधिकांश साना बचतकर्ता छन् । उनीहरूको रकम फिर्ता गर्न ५ लाख रुपैयाँभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र ५ लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कुल ७६ हजारमध्ये ५ लाख रुपैयाँभन्दा बढी बचत गर्ने बचतकर्ता १८ हजार रहेको समितिले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिइन् । ‘यसमा धेरै काम गरिसकेका छौं । साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौँ,’ उनले भनिन्, ‘समितिले कार्यविधि तय गर्दै बचतकर्ताको बचत रकम फिर्ता गर्ने कार्य आरम्भ गर्ने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अबलम्बन गरी काम गर्नेछ ।’ 
समितिले मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने र मागदाबी छुट भएका बचतकर्ताको पुनः मागदाबी गर्ने समय आगामी साउनको पहिलो हप्तामा खुला गरिने पनि जनाएको छ । समितिका अनुसार नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रुपमा मात्र खर्च गरिने पनि स्पष्ट पारेको छ । समितिका सदस्य सचिव रविन ढकालले कर्जा असुलीका लागि समितिले कानुन बमोजिम कठोर नीति अबलम्बन गर्ने जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्