नेभिगेशन
प्रदेश

अन्तु पोखरी: चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम । पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैंसी चरन क्षेत्र थियो । २०४० सम्म यहाँ चार गाउँका बासिन्दाले भैंसी चराउँथे । एकापट्टि पानीको आल थियो । अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्थेन । वरिपरि घर थिएन । जंगल पनि थिएन । तर, दिउँसै रात परेजस्तो सुनसान हुन्थ्यो । त्यो बेला दिउँसै रात पर्ने अन्तु पोखरी आसपासमा अहिले मध्यरातसम्म उज्यालै हुन्छ ।
‘हामी केटाकेटी हुँदा २०–२२ भैंसी चराएको । अन्तु डाँडा, बुधेडाँडा, उनीउटार, तकपत, छिरुवातिरका भैंसी चराउन र पानी खुवाउन यहाँ ल्याइन्थ्यो,’ स्थानीय खगराज घिमिरेले भने, ‘दुई बजेपछि अन्धकार हुने । मान्छे हिँड्नै डराउँथे । भैंसी चराउनेहरू ढाप पोखरी (अन्तु पोखरीको पुरानो नाम)मा पानी खुवाएर बेलैमा भैंसीलाई गोठ फर्काउँथे ।’ 
त्योबेला काशीनाथ घिमिरे (खगराजका बुवा), तारानिधि घिमिरे, तीलविक्रम नेम्वाङलगायतका सीमित घर थिए । त्यो पनि पोखरीभन्दा निकै परपर । सडक संरचना थिएन । गोरेटो बाटो थियो । तर, अहिले त्यही ठाउँ नाम चलेको पर्यटकीय गन्तव्य भएको छ । पर्यटक डुंगा सयर र फिसिङ गर्न दिनहुँ आठ सयदेखि दुई हजारसम्म आउँछन् । साँझदेखि ‘स्पिकर’ बज्छ । मध्यरातसम्म म्युजिकमा झुम्छन् । खानु, पिउनु, नाच–गान गर्नु, ‘क्याम्प फायर’ गर्नु अन्तुको संस्कार भएको छ ।
चरन क्षेत्रबाट पर्यटकीय गन्तव्यसम्मको परिवर्तन  २०४० सालदेखि सुरु हुन्छ । त्यतिबेला कृष्णप्रसाद भट्टराई जिल्ला पञ्चायत सभापति थिए । जिल्ला पञ्चायतले २० हजार रुपैयाँ दिएपछि पोखरी संरक्षण अभियान सुरु भयो । पोखरी संरक्षणमा स्थानीय पनि जुटे । 
‘पोखरीको पूर्व र पश्चिमतर्फ पर्खाल लगाइयो । पानी जमाइयो । सरसफाइ गरियो,’ खगराज स्मरण गर्छन्, ‘२०५९ साल मंसिर २७ गते जिल्ला प्रशासन कार्यालयमा अन्तु पर्यटन विकास केन्द्र संस्था दर्ता भयो । त्यही संस्थाको नेतृत्वमा २०६२÷६३ सालतिर नेपाल सरकारले ५५ हजार र पछि एक लाख ७० हजार रुपैयाँ बजेट दियो । त्यसले पर्खाल लगाउने र पानी जमाउने थप काम भएको थियो ।’
पचासको दशकयता स्थानीय यो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन कस्सिएर लागेका थिए । पोखरी बनेपछि स्थानीय मिलेर सुरुमा भारतको मिरिकबाट भाडामा डुंगा ल्याए । पछि कोलकाता गएर दुई डुंगा किनेर ल्याएपछि सञ्चालन भयो । २०६२÷६३ तिर तत्कालीन सभामुख  सुवासचन्द्र नेम्बाङले परेवा उडाएर पोखरीमा डुंगा सञ्चालन शुभारम्भ गरेका थिए । त्यतिबेला डुंगा समितिले चलाएको थियो । अहिले नगरपालिकाले लगानी बढाएर पालिका मातहत सञ्चालन गर्छ  र राम्रो आम्दानी गरिरहेको छ । 
संघीयतापछि स्थानीय सरकारको नजर अन्तुमा प¥यो । नगरपालिकाले अन्तुपोखरी र अन्तुडाँडाको पूर्वाधार विकास, संरक्षण र सौन्दर्यीकरणमा करिब पाँच करोड खर्च गरिसकेको पूर्वप्रमुख रणबहादुर राईले बताए । 
‘पोखरी वरिपरि हिँड्न नसकिने अवस्था थियो । हिलैहिलो । यहाँ आउने पर्यटक हिलोको पीरले पोखरी पस्न मन गर्दैनथे । खासै चहलपहल थिएन,’ पूर्व प्रमुख राईले भने, ‘वरिपरि ट्रयाक बनाइयो । बत्ती लगाउने काम भयो । अहिले एकीकृत बस्तीको रुपमा काम अघि बढेको छ । २०७४ सालमा हामी जनप्रतिनिधि भएर आउँदा खरले छाएका कटेज, होमस्टे अलि–अलि थिए । अहिले ठूलठूला होटल बनेका छन् । अन्तुमा हामीले करिब पाँच करोड खर्चेर पर्यटकीय ‘हब’ बनाएका हौं ।’ 
पोखरीभन्दा माथि अन्तुडाँडा छ । जहाँबाट झुल्केघाम हेरिन्छ । अन्तुपोखरी र अन्तुडाँडा पर्यटकका लागि पर्याय हुन् । २०७४ सालमा अन्तुडाँडासम्म पुग्ने बाटो थिएन । ‘छिपिटारदेखि अन्तु भन्ने थियो । तर, सडक डिभिजन कार्यालयले भञ्ज्याङ(पोखरीभन्दा तलको ठाउँ)सम्म सडक लगेपछि छोडेर पैसा फिर्ता गर्न लागेको थियो । स्थानीय सरकारमा हामी गएपछि सडक नभई भ्यू टावर पुग्न सकिँदैन भनेर बाटो माथि पु¥याउने काम ग¥यौं,’ उनले भने, ‘अन्तु डाँडाको टावर अव्यवस्थित थियो । संघीय र स्थानीय सरकारको समन्वयमा व्यवस्थित बनाइयो । खेल मैदानबाट डाँडा पुग्ने बाटो हिलाम्मे थियो । सोलिङ÷ग्राभेल गरियो । अहिले पर्यटक सजिलै माथि पुग्छन् ।’ 
अन्तुका अधिकांश क्षेत्रमा बत्तीको व्यवस्था गरिएको छ । त्यो बेला पर्यटकले टिकट काटेको आम्दानी एक वर्षमा एक लाख रुपैयाँ मात्र हुन्थ्यो । तर फोहरमैला धेरै । ‘आन्तरिक राजस्व बढाउन नगरपालिकाले आफ्नै कर्मचारी राखेर वार्षिक ५६ लाख रुपैयाँसम्म राजस्व उठाउने काम ग¥यो । पर्यटनसम्बन्धी मेला लगाइयो । प्रचारप्रसारको काम व्यापक भयो,’ प्रमुख राईले भने ।
हाल संघीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले ‘ब्युटिफिकेसन’को काम गरिरहेको छ । अहिलेको काम दुई नम्बर गेटबाट आउने बाटो ढलाइ, फुट ट्रायल बनाउने काम, घेराबारा बनाउने काम र रोड विस्तारको काम गरिरहेको आयोजनाका सब–इन्जिनियर प्रकाश चापागाईंले बताए । 
अन्तु घुम्न आउने पर्यटक अहिले अन्तुपोखरीको सेरोफेरोमा घण्टौं बिताउन थालेको व्यवसायी बताउँछन् । अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे अहिले पर्यटक आउने ‘फ्लो’ बढेको बताउँछन् । ‘दिनमा ८०० देखि दुई हजारसम्म पर्यटक आउँछन्,’ उनले भने । अन्तु पर्यटन व्यवसायी संघमा होटल कटेज र होमस्टे गरेर ११० वटा छन् । सामुदायिक होमस्टे ५० वटा छन् । नियमित सेवा दिने ३५ वटा छन् । पर्यटन व्यवसायी संघ अन्तर्गतका होटलमा ३१० जना प्रत्यक्ष रोजगार पाएको अवस्थामा छन् । 
चियाबारीका थुम्काभित्रका सुन्दर कटेज, होमस्टे, बोटिङ, सिजनेवल फिसिङ, घोडचढी, यहाँका प्रमुख आकर्षण हुन् । हाल अन्तु पोखरीमा चार वटा डुंगा सञ्चालन हुन्छ । दिनभर डुंगा खाली बस्न पाउँदैनन् । सूर्याेदय–सूर्यास्त दृश्यावलोकनका लागि अन्तुडाँडा चर्चित छ । अघिल्लो दिन आएर अन्तुपोखरी डुलघुम गर्ने, रातिसम्म नाचगान गर्ने र भोलिपल्ट बिहानै उठेर अन्तु डाँडामा झुल्केघाम हेर्ने पर्यटकको समय कार्यतालिका हुन्छ । 
मेची राजमार्गको कन्यामस्थित छिपिटारबाट अन्तुको बाटो छुट्टिन्छ । त्यहाँबाट करिब ११ किलोमिटरमा रहेको अन्तुपोखरीमा अवलोकन गर्न लायक वस्तु धेरै छन् । सडक कालोपत्रे भएको छ । जिप, कार, भ्यान र मोटरसाइकलमा कन्यामबाट अन्तु जान सकिन्छ । अन्तुको झुल्केघामको याम भदौ अन्तिममा सुरु हुन्छ । मौसम खुले पुस–माघ र वैशाखसम्म यो सिजन रहन्छ । अन्तुबाट देखिने सूर्याेदय चित्ताकर्षक मानिन्छ । यहाँबाट सूर्याेदय हेर्न बर्सेनि सयौं स्वदेशी र विदेशी आउँछन् । ग्रामीण पर्यटनमा पूर्वको खचाखच रहने पर्यटकीय क्षेत्र भएको छ अन्तु । 
अन्तुबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएको देखिन्छ । यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायत बजार वरिपरि छन् जस्तो लाग्छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी छ । सूर्योदय नगरपालिकाले पर्यटनबाट नै आर्थिक समृद्धि खोजिरहेको कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले बताए । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्