नेभिगेशन
प्रदेश

माटोको स्तर असन्तुलनको असर फलफूलमा

मुगु । छायानाथ रारा नगरपालिकाका विभिन्न क्षेत्रमा फलफूल तथा अन्नबाली अपेक्षित रूपमा उत्पादन नहुनुको मुख्य कारण माटोको अम्लीयपन रहेको पाइएको छ । हालै गरिएको माटो परीक्षणबाट यस्तो नतिजा देखिएको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुगुको आयोजना तथा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत एकीकृत कृषि प्रयोगशाला, वीरेन्द्रनगरको प्राविधिक सहयोगमा गमगढीमा केही दिनअघि माटो परीक्षण शिविर गरिएको थियो । त्यसमा १०६ स्थानबाट माटोका नमूना संकलन गरी परीक्षण गरिएको थियो ।
परीक्षणमा माटोको पीएच मानतर्फ १० स्थानमा अत्यधिक अम्लीय, ४५ स्थानमा तटस्थ र ४२ स्थानमा क्षारीय अवस्था भेटिएको छ । त्यसैगरी, नाइट्रोजनतर्फ १०२ स्थानमा मध्यम र ४ स्थानमा उच्च, फस्फोरसतर्फ ३ स्थानमा मध्यम र १०३ स्थानमा उच्च तथा पोटासतर्फ २ स्थानमा न्यून, ६७ स्थानमा मध्यम र ३६ स्थानमा उच्च स्तर रहेको देखिएको छ ।
माटो परीक्षणले हिमाली क्षेत्रका खेतीयोग्य जमिनमा अम्लीय तथा क्षारीयपन दुवैको प्रभाव देखाएको छ । एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख परेकराज शाहीका अनुसार मुगु जिल्लाको माटोको समग्र अवस्था अन्य जिल्लाको तुलनामा राम्रो भए पनि मल व्यवस्थापनमा सुधार आवश्यक छ । विशेषगरी, गोठेमलको सही व्यवस्थापन तथा कोसेबाली भिœयाउँदा जरासहित उखेल्नुभन्दा माटोमाथिबाट काट्ने विधि अपनाउन सुझाइएको छ ।

कार्यालयका अनुसार मुगुमा माटो परीक्षण शिविर सञ्चालन गरिएको यो तेस्रो वर्ष हो । गत वर्ष जिल्लाका चार स्थानीय तहबाट संकलित १४३ नमुनामध्ये ५९ स्थानमा क्षारीय र २८ स्थानमा अम्लीय माटो पाइएको  तथ्यांक छ ।
यस वर्ष छायानाथ रारा नगरपालिकाभित्रका स्याउ, आरु, ओखर, नास्पाती उत्पादन हुने क्षेत्रका माटो जाँच गर्दा १० स्थानमा उच्च अम्लीयपन भेटिएको छ भने अन्य स्थानको अवस्था सामान्य रहेको जनाइएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई मुगुका प्रमुख तेजविक्रम मल्लका अनुसार अम्लीयपन घटाउन कृषकलाई तालिम तथा गोष्ठी सञ्चालन गरिनेछ । साथै सल्लाको पिरोलबाट कम्पोस्ट मल बनाउने, जमिनलाई बाँधेर राख्ने तथा भिरालो जमिनमा पानी र हावाबाट हुने भू–क्षय नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
स्थानीय कृषक जनक हमालले आफूहरूले पहिलोपटक माटो परीक्षण गराउँदा मध्यम स्तरको रिपोर्ट आएको बताए । उनका अनुसार समय–समयमा माटो परीक्षण गराई माटोको प्रकृतिअनुसार बाली छनोट गर्न सके उत्पादन वृद्धि गर्न सहयोग पुग्नेछ ।
माटोको गुणस्तर बिग्रनुका प्रमुख कारणमा गोबर तथा कम्पोस्ट मलको न्यून प्रयोग, रासायनिक मलको असन्तुलित प्रयोग, विषादीको बढ्दो प्रयोग, बालीचक्रको अभाव, कोसेबालीको घट्दो प्रयोग, अवैज्ञानिक सघन खेती, निरन्तर भू–क्षय तथा औद्योगिक प्रदूषण छन् । साथै कृषि औजारको अत्यधिक प्रयोगले माटो कडा बन्दै जानु पनि अर्को समस्या हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्