नेभिगेशन
विश्व

आर्मेनिया युरोपतर्फ नजिकिँदै, रुससँग दूरी बढ्दै

येरेवान, (एपी) । दक्षिण काकेशस क्षेत्रको रणनीतिक रूपमा महŒवपूर्ण राष्ट्र आर्मेनियाले आफ्नो विदेश नीतिमा ऐतिहासिक मोड लिँदै युरोपेली संघ (ईयू) सँग सम्बन्ध गहिरो बनाइरहेको छ । 
यसै सन्दर्भमा आर्मेनियाले मंगलबार ईयूसँग पहिलो द्विपक्षीय शिखर सम्मेलन आयोजना गर्दै लामो समयदेखिको सहयोगी रुसबाट दूरी बढाउने स्पष्ट संकेत दिएको छ । राजधानी येरेवानमा सम्पन्न उक्त शिखर सम्मेलन युरोपेली राजनीतिक समुदायको आठौं भेलापछि युरोपका दर्जनौं नेताहरूलाई एउटै मञ्चमा ल्याउँदै सम्पन्न भएको हो । सोमबार भएको छलफलमा युरोपेली सुरक्षा अवस्था र इरानमा अमेरिका–इजरायल युद्धसम्बन्धी विषयमा पनि चर्चा भएको थियो । यी घटनाक्रमहरूले आर्मेनियाले पश्चिमतर्फ उन्मुख हुने आफ्नो रणनीति तीव्र बनाएको देखाउँछन् । 
सन् २०२३ मा अजरबैजानले काराबाख क्षेत्र पुनः नियन्त्रणमा लिएपछि दशकौं पुरानो पृथकतावादी शासन अन्त्य गर्दै आर्मेनिया र रुसबीचको सम्बन्ध चिसिएको थियो । आर्मेनियाली पक्षले अजरबैजानको आक्रमण रोक्न नसकेको भन्दै त्यहाँ तैनाथ रुसी शान्ति सैनिकहरूको आलोचना गरेको थियो । तर युक्रेन युद्धमा व्यस्त रहेको मस्कोले हस्तक्षेप गर्ने जनादेश नभएको दाबी गर्दै आरोप अस्वीकार गरेको थियो । 
येरेवानस्थित क्षेत्रीय अध्ययन केन्द्रका निर्देशक रिचार्ड गिरागोसियनले उक्त युद्धलाई ‘रुस अविश्वसनीय साझेदार भएको स्पष्ट प्रमाण’ भन्दै टिप्पणी गरे । त्यसयता प्रधानमन्त्री निकोल पाशिन्यानको नेतृत्वमा आर्मेनियाले पश्चिमसँग सम्बन्ध विस्तारलाई प्राथमिकता दिएको छ, जसलाई ईयूले स्वागत गरेको छ । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले पाशिन्यानलाई युरोप नजिक ल्याउने साहसी राजनीतिक निर्णयका लागि धन्यवाद दिएका छन् । उनले आर्मेनियाली लोकतन्त्र सुदृढीकरण र बाह्य हस्तक्षेप तथा गलत सूचनाविरुद्धको प्रयास महŒवपूर्ण रहेको बताए । 
त्यसैगरी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले आर्मेनियाले दक्षिण काकेशस र मध्य एसियाबीचको सम्पर्क सञ्जालमा महŒवपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे । आर्मेनियाले सन् २०२३ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा सदस्यता लिएको थियो, जसलाई मस्कोले ‘प्रतिकूल कदम’ भनेको थियो । 
उक्त अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युक्रेनबाट बालबालिका अपहरणको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । त्यसपछि सन् २०२४ मा आर्मेनियाले मस्को नेतृत्वको सामूहिक सुरक्षा सन्धि संगठनमा आफ्नो सहभागिता रोकेको थियो । अर्को वर्ष, आर्मेनियाली संसद्ले ईयूमा सदस्यता लिने औपचारिक इच्छा व्यक्त गर्ने कानून पारित गरेको थियो । विश्लेषक गिरागोसियनका अनुसार रुसले छोडेको प्रभाव क्षेत्र अहिले ईयूले भर्दै गएको छ । यसमा संयुक्त राज्य अमेरिकाको तुलनामा युरोपेली सहभागिता बढी व्यावहारिक देखिन्छ । उनका अनुसार यो प्रक्रिया दीर्घकालीन रूपमा कम तनावपूर्ण हुन सक्छ । तर आर्मेनिया अझै पनि रुस नेतृत्वको युरेशियन आर्थिक संकेतको सदस्य छ, जसले वस्तु, पुँजी र श्रमको स्वतन्त्र आवागमन सुनिश्चित गर्छ । यस संगठनमा बेलारुस, काजाकिस्तान र किर्गिस्तान पनि सहभागी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालैको भेटमा आर्मेनिया एकैसाथ ईयू र उक्त आर्थिक संकेतमा रहन नसक्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री पाशिन्यानले असंगतता स्वीकार गर्दै हाललाई दुवै दिशामा सन्तुलन कायम राख्ने नीति अपनाइने बताएका थिए । गिरागोसियनले मंगलबारको शिखर सम्मेलनलाई नयाँ सदस्यताभन्दा पनि पहिले नै रहेको सम्बन्धलाई थप गहिरो बनाउने प्रयासका रूपमा व्याख्या गरे । उनका अनुसार यसले रुसलाई स्पष्ट राजनीतिक सन्देश दिएको छ । शिखर सम्मेलन अजरबैजानसँग बढ्दो तनावबीच भएको हो । अजरबैजानले युरोपेली संसद्को प्रस्तावप्रति आपत्ति जनाउँदै ईयूका प्रतिनिधिलाई बोलाएको थियो । त्यसपछि अजरबैजानी सांसदहरूले युरोपेली संसद्सँगको सहकार्य निलम्बन गर्ने निर्णय गरेका छन् । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले युरोपेली संस्थाहरूलाई दोहोरो मापदण्ड अपनाएको आरोप लगाए । शिखर सम्मेलन स्थल बाहिर पनि प्रदर्शन भएको थियो, जहाँ प्रदर्शनकारीहरूले अजरबैजानमा रहेका आर्मेनियाली बन्दीहरूको फोटो प्रदर्शन गरेका थिए । आन्तरिक राजनीतिमा पनि यस घटनाले प्रभाव पारेको छ । आगामी निर्वाचनको तयारीमा रहेका प्रधानमन्त्री पाशिन्यानलाई अन्तर्राष्ट्रिय मञ्चमा देखिएको सक्रियताले राजनीतिक लाभ पुग्न सक्ने अनुमान गरिएको छ । तर विपक्षी नेता अराम सार्गस्यानले युरोपेली समर्थनलाई चुनावकेन्द्रित भन्दै आलोचना गरेका छन् र अजरबैजानमा रहेका आर्मेनियाली बन्दीहरूको मुद्दा बेवास्ता गरिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्