सामान्य भाषामा कहिल्यै सुख्खा नहुने र जमिन नदेखिने पानीयुक्त क्षेत्रलाई सिमसार भनिन्छ । तर वैज्ञानिक दृष्टिकोणले हेर्दा सिमसार भनेको त्यस्तो पारिस्थितिक प्रणाली हो जहाँ पानीले जीवहरूको जीवनचक्र निर्धारण गर्छ । रामसार महासन्धि (सन् १९७१) ले दलदल, नदी, ताल, पोखरीदेखि लिएर कम गहिराइका समुद्री क्षेत्रसम्मलाई सिमसारका रूपमा परिभाषित गरेको छ । यस महासन्धिले सिमसारलाई ४२ प्रकारमा वर्गीकरण गरेको छ भने नेपालमा सिम, ताल, नदी, धानखेत, पोखरी र जलाशय गरी ६ प्रकारका सिमसार पाइन्छन् ।
विश्वको करिब ६ प्रतिशत भूभाग सिमसारले ढाकेको अनुमान गरिएको छ भने नेपालमा करिब ५.५९ प्रतिशत क्षेत्रफल सिमसारले ओगटेको छ । यति सानो प्रतिशत भए पनि यसको महŒव अत्यन्त ठूलो छ । सिमसारले मानव जीवनलाई आवश्यक पर्ने पानी, खाना, ऊर्जा र कच्चा पदार्थ उपलब्ध गराउँछ । विश्वका करिब दुई तिहाइ माछा उत्पादन सिमसारबाट हुने तथ्यले यसको आर्थिक महŒव स्पष्ट पार्छ ।
सिमसारले जलवायु सन्तुलन कायम राख्न, बाढी नियन्त्रण गर्न, पानी शुद्धीकरण गर्न र रोग–कीरा नियन्त्रणमा सहयोग गर्छ । यसले खाद्यचक्र, जलचक्र र अक्सिजन चक्रलाई सन्तुलित राख्ने महŒवपूर्ण भूमिका पनि खेल्छ । यसबाहेक सिमसार धार्मिक, सांस्कृतिक र पर्यटनका दृष्टिले पनि महŒवपूर्ण छन् । धेरै सभ्यता नदी र सिमसारको वरिपरि विकसित भएका छन् ।
पछिल्ला वर्षहरूमा सिमसार क्षेत्र तीव्र रूपमा नष्ट हुँदै गएका छन् । बढ्दो जनसंख्या, सहरीकरण, औद्योगिकीकरण र जलवायु परिवर्तनका कारण सिमसारको अस्तित्व संकटमा परेको छ । विगत एक शताब्दीमा पानीको उपयोग छ गुणाले बढेको छ भने विश्वका एक तिहाइ मानिस पानीको अभावको जोखिममा छन् । भविष्यमा यो समस्या अझ गम्भीर हुने अनुमान गरिएको छ ।
नेपालमा पनि सिमसार विनाशका प्रमुख कारणहरूमा अतिक्रमण, प्रदूषण, मिचाहा प्रजातिको प्रवेश र नदीबाट आउने माटो (सिल्टेसन) पर्छन् । बस्ती विस्तार, सडक निर्माण, कृषि विस्तार र पूर्वाधार विकासका नाममा धेरै सिमसार मासिएका छन् । यसले जैविक विविधता मात्र नभई स्थानीय जीवनशैलीमा पनि नकारात्मक प्रभाव पारेको छ ।
यद्यपि, सकारात्मक पक्ष के छ भने नेपालका विभिन्न ठाउँमा समुदायको सक्रियतामा सिमसार संरक्षणका उदाहरणहरू देखिन्छन् । मोरङको बेतना सिमसार, झापाको जामुनखाडी सिमसार, जलथल सिमसार, केचनकवल सिमसार, निचाझोडा सिमसार र सालबारी सिमसारजस्ता क्षेत्रहरू समुदायको पहलमा संरक्षण भइरहेका छन् । यी स्थानमा जैविक विविधता संरक्षणसँगै पर्यापर्यटन विकास गरी आर्थिक लाभ पनि लिन थालिएको छ ।
विशेषगरी जलथल सिमसार जैविक विविधताको दृष्टिले अत्यन्त धनी क्षेत्र हो, जहाँ सयौं प्रजातिका वनस्पति, चराचुरुंगी र जनावर पाइन्छन् । यस्ता उदाहरणहरूले देखाउँछन् कि समुदायको सहभागिता भएमा संरक्षण सम्भव मात्र नभई सफल पनि हुन्छ ।
अब प्रश्न उठ्छ— सिमसार जोगाउन के गर्नुपर्छ ? पहिले त सिमसार क्षेत्रको अतिक्रमण रोक्न कडा कानूनी व्यवस्था आवश्यक छ । सरकारी निकायहरूले स्पष्ट सीमांकन गरी अवैध गतिविधि नियन्त्रण गर्नुपर्छ । साथै, प्रदूषण नियन्त्रणमा ध्यान दिनुपर्छ । उद्योग, कृषि र घरेलु फोहोरलाई सिधै सिमसारमा फाल्ने प्रचलन बन्द गर्नुपर्छ । यसबाहेक समुदायलाई संरक्षणमा सक्रिय बनाउनु अत्यन्त महŒवपूर्ण छ । स्थानीय बासिन्दालाई सिमसारको महŒवबारे सचेत गराउँदै उनीहरूलाई संरक्षणको जिम्मेवारी दिनुपर्छ ।
पर्यापर्यटनको विकास गरेर सिमसारलाई आर्थिक रूपमा पनि उपयोगी बनाउनु आवश्यक छ, जसले संरक्षणमा प्रोत्साहन दिन्छ भने जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न दीर्घकालीन योजना आवश्यक छ । पानीको दिगो व्यवस्थापन, वन संरक्षण र जैविक विविधता जोगाउने कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । साथै, विद्यालय र विश्वविद्यालय स्तरमै सिमसार संरक्षणबारे शिक्षा समावेश गर्नु पनि दीर्घकालीन समाधान हो ।
सिमसार केवल पानीको क्षेत्र मात्र नभई जीवनको आधार हो । यसको संरक्षण नगर्ने हो भने भविष्यमा पानी, खाना र वातावरणीय सन्तुलन सबै संकटमा पर्नेछ । त्यसैले सिमसार संरक्षण सरकार, समुदाय र प्रत्येक नागरिकको साझा जिम्मेवारी हो ।
(लेखक संरक्षण अनुसन्धानमा संलग्न छन् ।)