इरान युद्धले अमेरिकाका ठूला सुरक्षा चुनौती मानिने चीन, रुस र उत्तर कोरियालाई अमेरिकी सेनाको क्षमता र सीमितताका बारेमा बुझ्ने एउटा दुर्लभ अवसर प्रदान गरेको छ । यी तीन शक्ति राष्ट्रहरूले पहिलो पटक युद्धको मैदानमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहयोगमा गरिने तीव्र गतिको ‘प्रिसिजन’ हवाई हमलाजस्ता नयाँ अमेरिकी हतियारहरूको प्रदर्शन नियाल्ने मौका पाएका छन् । उनीहरूले अमेरिकाले आफ्ना मुख्य गोलाबारुदहरू कति छिटो रित्याउन सक्छ भन्ने कुरा पनि देखेका छन् ।
यसका साथै, इरानका कम लागतका ड्रोनहरूले खाडी क्षेत्रमा अमेरिकाका बलिया सहयोगी राष्ट्रहरूलाई कसरी चुनौती दिएका छन् भन्ने कुरालाई पनि उनीहरूले ध्यानपूर्वक हेरिरहेका छन् । यो चीनका लागि ताइवानको सम्भावित संकटमा एउटा फाइदाजनक रणनीति हुन सक्छ । प्रशान्त क्षेत्रका अमेरिकी सेनाका कमान्डर एडमिरल सामुएल पापापोले कंग्रेसमा बोल्दै बेइजिङले सम्भवतः साना र कम लागतका हतियारहरूको शक्तिलाई नियालिरहेको बताएका छन् ।
सैन्य प्रविधि परीक्षणको प्रयोगशाला
इरानका केही सैन्य उपकरणहरू चिनियाँ प्रविधिमा आधारित छन् वा त्यसमा चिनियाँ पार्टपुर्जाहरू प्रयोग गरिएका छन् । इजिप्टको बेनी सुफ विश्वविद्यालयकी चीन विज्ञ नादिया हेल्मीका अनुसार, इरानले कसरी खाडी क्षेत्रका अमेरिकी सैन्य अखडामा आक्रमण गर्न सफल भयो भन्ने कुरा र त्यसको सञ्चालन तथ्यांक (अपरेशनल डाटा) बुझ्न बेइजिङ उत्सुक हुनेछ । उनले भनिन्, ‘इरानी युद्धभूमि पश्चिमा र अमेरिकी हतियारहरू विरुद्ध चिनियाँ प्रविधिको प्रभावकारिता र दक्षता परीक्षण गर्ने एउटा ‘जीवन्त प्रयोगशाला’ बनेको छ ।
रुसले पनि अमेरिकी हतियारहरूले इरानी ड्रोन प्रविधिविरुद्ध कस्तो प्रदर्शन गरिरहेका छन् भन्ने कुरालाई नजिकबाट नियालिरहेको छ । यस्तो अन्तर्दृष्टि मस्कोका लागि युक्रेन युद्धमा वा भविष्यमा युरोपमा नेटो सहयोगीहरूसँग हुन सक्ने सम्भावित द्वन्द्वमा मूल्यवान् साबित हुनेछ ।
हतियार भण्डारण र उत्पादनको दबाब
यस द्वन्द्वले अमेरिका र इरान दुवैका लागि हतियार उत्पादन बढाउनुपर्ने आवश्यकतालाई प्रस्ट पारेको छ । युरोपका लागि अमेरिकी सेनाका प्रमुख जनरल एलेक्सस ग्रीनकेविचले रुसले मिसाइल र ड्रोनको उच्च उत्पादनस्तर कायम राखेको जानकारी कांग्रेसलाई दिएका छन् ।
गत फेब्रुअरी २८ मा ‘अपरेसन एपिक फ्युरी’ सुरु भएदेखि अमेरिकाले इरानका १३ हजारभन्दा बढी निसानाहरूमा आक्रमण गरिसकेको छ। यस युद्धमा पहिलो पटक अमेरिकाको ‘प्रिसिजन स्ट्राइक मिसाइल’ (पीआरएसएम) प्रयोग गरिएको छ, जसलाई मोबाइल लन्चरबाट प्रहार गरिन्छ। इरानी ड्रोनहरूले ‘प्याट्रियट’ र ‘थाड’जस्ता उच्च स्तरीय अमेरिकी प्रतिरोधात्मक प्रणालीविरुद्ध प्रभावकारी प्रदर्शन गरेका छन्, जसले मस्कोको ध्यान आकर्षण गरेको छ ।
परमाणु हतियार र सुरक्षा रणनीति
इरानको अवस्थाले उत्तर कोरियालाई बाह्य आक्रमण रोक्न परमाणु हतियारको शक्ति कति महŒवपूर्ण हुन्छ भन्ने कुरा महसुस गराएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना परमाणु हतियारहरू नत्याग्ने अडान दोहो¥याउँदै यसले देशलाई सुरक्षित राखेको बताएका छन् । उत्तर कोरियाले हालै मध्यपूर्वमा प्रयोग भइरहेका जस्तै क्लस्टर बम र क्रुज मिसाइलहरूको परीक्षणसमेत गरेको छ ।
कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिसका वरिष्ठ फेलो अंकित पन्डाका अनुसार, अमेरिकाले इरानमा पु¥याएको ठूलो क्षतिलाई हेरेर चीन, रुस र उत्तर कोरियाले युद्धको सुरुवातमा आफ्ना परमाणु शक्ति र कमान्ड संरचनालाई कसरी जोगाउने भन्ने उपायहरू खोज्ने सम्भावना छ । यदि युद्ध पुनः सुरु भएमा तत्काल अमेरिकालाई गोलाबारुदको अभाव नहुने भए तापनि, भविष्यका ठूला युद्धहरूका लागि हजारौं मिसाइलहरू प्रतिस्थापन गर्न लाग्ने समय एउटा जोखिमको विषय बन्न पुगेको सिजपिएसको प्रतिवेदनमा अध्ययनमा बताइएको छ ।
हर्मुजमा इरानको नयाँ नियन्त्रण नीति
विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुजमा इरानले आफ्नो नियन्त्रण थप कडा बनाउँदै जहाजहरूको आवागमनमा नयाँ ‘सार्वभौम’ नियम लागू गरेको छ । अब उक्त जलघाँटी पार गर्नुअघि सबै अन्तर्राष्ट्रिय जहाजहरूले अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने व्यवस्था लागू गरिएको छ ।
इरानको राज्य सञ्चालित प्रेस टिभीका अनुसार नयाँ प्रणालीअन्तर्गत हर्मुज हुँदै यात्रा गर्न चाहने शिपिङ कम्पनीहरूले पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पीजीएसए)सँग सम्बन्धित निकायबाट विद्युतीय निर्देशन प्राप्त गर्नुपर्नेछ । ती निर्देशनहरूमा अद्यावधिक नियमहरू, मार्गसम्बन्धी मापदण्ड र पालना गर्नुपर्ने शर्तहरू समावेश हुनेछन्, जसलाई सबै जहाजहरूले अनिवार्य रूपमा अनुशरण गर्नुपर्नेछ ।
यस नयाँ प्रोटोकलअनुसार जहाजहरूले जलघाँटीमा प्रवेश गर्नुअघि ‘ट्रान्जिट अनुमति’ लिनुपर्ने व्यवस्था गरिएको छ । इरानी राज्य मिडियाले यसलाई आफ्नो अधिकार क्षेत्रभित्र लागू गरिएको ‘सार्वभौम शासन प्रणाली’का रूपमा व्याख्या गरेको छ, जसले रणनीतिक समुद्री मार्गमाथि नियन्त्रण अझ सुदृढ बनाउने लक्ष्य राखेको देखिन्छ ।
यो कदम इरानका संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले हालै जलमार्ग नियन्त्रणसम्बन्धी ‘नयाँ समीकरण’ लागू भइरहेको बताउनुभएको घोषणापछि आएको हो । सामाजिक सञ्जालमार्फत उहाँले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले युद्धविराम उल्लंघन र नाकाबन्दीमार्फत ऊर्जा ढुवानीको सुरक्षामा खतरा सिर्जना गरेको आरोप लगाएका थिए ।
घालीबाफले इरानले हालको अवस्था राम्ररी बुझेको उल्लेख गर्दै अमेरिकाका लागि विद्यमान यथास्थिति असहज रहेको दाबी गरे । उनका अनुसार इरानले अझै पूर्ण रूपमा आफ्नो कदम सुरु नगरेको अवस्थामा पनि वासिङ्टन दबाबमा रहेको संकेत देखिएको छ ।
यसैबीच, इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)को नौसेनाले पनि क्षेत्रीय उपस्थितिलाई कडा बनाउँदै सबै जहाजहरूलाई नयाँ चेतावनी जारी गरेको छ । आईआरजीसीले तोकिएको समुद्री मार्गको कडाइका साथ पालना गर्न निर्देशन दिँदै कुनै पनि विचलन भए सैन्य कारबाही हुन सक्ने चेतावनी दिएको छ ।
राज्य मिडियामार्फत जारी सन्देशमा आईआरजीसीले हर्मुज पार गर्ने जहाजहरूका लागि इरानले निर्दिष्ट गरेको कोरिडोर नै ‘एक मात्र सुरक्षित मार्ग’ भएको जनाएको छ । यस मार्गबाहिर जाने कुनै पनि प्रयास असुरक्षित हुने र त्यसको परिणामस्वरूप निर्णायक हस्तक्षेप गरिने चेतावनीसमेत दिइएको छ ।
यी घटनाक्रम अमेरिकी रक्षामन्त्री पीट हेग्सेथको हालैको टिप्पणीसँगै बढेको क्षेत्रीय तनावको पृष्ठभूमिमा आएका हुन् । उनले व्यावसायिक जहाजहरूको सुरक्षा लागि अमेरिकी प्रयासहरू यस क्षेत्रमा सञ्चालन भइरहेका अन्य सैन्य गतिविधिभन्दा फरक रहेको बताएका थिए ।
गत फेब्रुअरी अन्त्यदेखि नै इरानले समुद्री आवागमन नियन्त्रणलाई क्रमशः कडा बनाउँदै आएको छ । तरलीकृत प्राकृतिक ग्यास र कच्चा तेलको प्रमुख ढुवानी मार्गका रूपमा रहेको हर्मुज जलघाँटीमा कुनै पनि अवरोध उत्पन्न हुँदा विश्वव्यापी व्यापार र ऊर्जा बजारमा ठूलो अनिश्चितता सिर्जना हुने खतरा रहने भएकाले अन्तर्राष्ट्रिय समुदाय यसप्रति संवेदनशील बनेको छ ।
खाडी युद्ध २.० मा चीनको सक्रियता बढ्यो
पश्चिम एसियामा बढ्दो अस्थिरता र विश्व शक्ति सन्तुलनको बदलिँदो समीकरणबीच इरानले आफ्नो कूटनीतिक सक्रियता तीव्र बनाएको छ । यही सन्दर्भमा इरानका विदेशमन्त्री अब्बास अराघचीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग उच्चस्तरीय भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध विस्तारदेखि क्षेत्रीय संकटसम्मका विषयमा गहन छलफल गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बुधबार बेइजिङ पुगेका अराघचीको यो भ्रमणलाई तेहरानको सक्रिय कूटनीतिक पहलका रूपमा हेरिएको छ । इरानको सरकारी प्रसारण संस्था इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार, पश्चिम एसियामा तीव्र बन्दै गएको तनाव र अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राख्दै यो भ्रमण आयोजना गरिएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमार्फत भेटको पुष्टि गर्दै दुवै पक्षले वर्तमान भूराजनीतिक अवस्थाबारे विचार आदानप्रदान गर्ने बताए । अराघचीले पनि आफ्नो भ्रमणलाई ‘विश्वका साझेदारहरूसँग जारी कूटनीतिक परामर्श’को हिस्सा भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्य र क्षेत्रीय स्थिरता दुवैमा केन्द्रित रहने बताए ।
बेइजिङको यो भ्रमण अराघचीको हालै सम्पन्न बहु–देशीय कूटनीतिक यात्राको निरन्तरता हो । उनले यसअघि पाकिस्तान, ओमान र रुसको भ्रमण गरिसकेका थिए । यसलाई पश्चिम एसियाली तनावबीच समर्थन जुटाउने इरानको रणनीतिक प्रयासका रूपमा विश्लेषण गरिएको छ ।
रुसको सेन्ट पिटर्सबर्ग भ्रमणका क्रममा अराघचीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए । रूसी समाचार संस्था तासका अनुसार उक्त भेटमा पुटिनले मध्यपूर्वमा चाँडो शान्ति स्थापनाका लागि रुसले आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उनले इरानी जनताको सार्वभौमसत्ताको पक्षमा ‘साहसिक रूपमा उभिएको’ भन्दै प्रशंसा पनि गरेका थिए ।
ती वार्ताहरूमा अराघचीले विशेषगरी संयुक्त राज्य अमेरिका र इजरायल संलग्न गतिविधिलाई ‘युद्ध र आक्रामकता’ को रूपमा व्याख्या गर्दै त्यसबारे चिन्ता व्यक्त गरेका थिए । पुटिनले रुस इरानको हितको पक्षमा उभिने र क्षेत्रीय शान्ति पुनःस्थापनामा सहयोग गर्ने आश्वासन दिएको बताइएको छ । यसले तेहरान–मस्कोबीचको रणनीतिक निकटतालाई थप स्पष्ट पारेको छ ।
यसअघि पाकिस्तान भ्रमणका क्रममा अराघचीले त्यहाँका अधिकारीहरूसँग पछिल्ला घटनाक्रम र इरान–अमेरिका सम्भावित वार्ताका शर्तहरूबारे छलफल गरेका थिए । उनले इस्लामाबादमा भएका परामर्शहरूलाई ‘धेरै फलदायी’ भएको बताएका थिए ।
त्यसपछि ओमानको राजधानी मस्कटमा भएको भेटवार्तामा समुद्री सुरक्षालाई प्राथमिकता दिइएको थियो । विशेषगरी स्ट्रेट अफ हर्मुजको रणनीतिक महत्त्वबारे छलफल केन्द्रित रहेको थियो । स्ट्रेट अफ हर्मुजलाई विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग मानिन्छ । इरना समाचार एजेन्सीका अनुसार अराघचीले इरान र ओमान दुवै यस जलघाँटीका तटीय राष्ट्र भएकाले पारस्परिक समन्वय अपरिहार्य रहेको बताएका थिए ।
यी सम्पूर्ण कूटनीतिक पहलहरूले महत्त्वपूर्ण समुद्री मार्ग र क्षेत्रीय प्रभावमाथिको नियन्त्रणलाई लिएर संयुक्त राज्य अमेरिकासँग जारी शक्ति प्रतिस्पर्धाको सन्दर्भमा इरानले आफ्ना साझेदारहरूसँग सम्बन्ध सुदृढ पार्ने प्रयास गरिरहेको संकेत गर्छन् ।